सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुःख पायौ बाबुराम बिहे गरेर !

शनिबार, १२ साउन २०७५, ११ : ४३
शनिबार, १२ साउन २०७५

गुल्मी – त्यति बेलासम्म गाउँमा बर्थिङ्ग सेन्टर थिएन । बेलैमा सुरक्षित प्रसूति सेवा उपलब्ध हुन नसक्दा बाबुराम विश्वकर्माको पत्नीको ज्यान गयो । यो १० वर्ष अघिको कुरा थियो ।

बाबुरामको आर्थिक अवस्था कमजोर थियो । जसको आफ्नै घर बास थिएन गाउँलेहरु मिलेर सामान्य घर बनाइदिएका थिए ।

पहिलो पत्नी वितेपछि उनले बाग्लुङ्गको सिसाखानीबाट दोश्रो विवाह गरे ।

दोस्रो पत्नीले ९ वर्ष सम्म बाबुरामको साथ दिइन् । तीन सन्तान जन्माइन् ।

जेठा छोरा आठ वर्षका, छोरी पाँच वर्षकी र कान्छा छोरा डेढ वर्षको पुगेको बेला उनी घरबाट हिँडिन् ।

जतिबेला बाबुरामकी दोस्रो पत्नीले घर छाडिन् । त्यसबेला उनले डेढ वर्षको छोरासँगै लिएर गएकी थिइन् ।

तर, ती आमाले बच्चा जंगलको झाडीमा फालेर हिँडिन् ।

गाँउलले बच्चा रोएको सुने ।

प्रहरीलाई खवर गरे र उद्दार गरे ।

ती बच्चा पाल्न गा्रहो भयो बाबुरामलाई । उनले फेरि विवाह गर्ने निर्णय गरे ।

डेढ वर्ष अघि तम्घासकी एक महिलासँग तेश्रो विवाह गरे ।

३२ बर्षको उमेरमा तीन विवाह ।

उनले पनि एक सन्तानको जन्म दिइन् गत पुष महिनामा ।

तर, तेस्रो विवाह पनि बाबुरामका लागि सुखद रहेन ।

पत्नी ६ महिनाको बच्चा होटलमा छाडेर हिँडिन् ।

छोरी कुरेर बसे बाबुराम । 

घाँस काट्न जान्छु भन्दै हिँडेकी बाबुराम पत्नी घर आइनन् ।

पत्नी घर नआएपछि बाबुरामले ससुराली खवर गरे ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिए ।

तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन ।

फोन जान्छ । तर, उठ्दैन ।

घरयासी कपडामा हिँडेकी उनी अलिपर जंगलमा गएर नयाँ कपडामा ठाँट्टिदै वसमा चढेको र आफुसँगै सदरमुकाम तम्घाससम्म आएको मुसिकोट नगरपालिका कार्य समिति सदस्य सरस्वती घिमिरेले बताइन् । उनले भनिन् ‘तम्घास झरेर मैले घर फर्काउन खोजेकी थिएँ । तर, कता गई, गई ।’

पृथ्वी माध्यामिक विद्यालयका उपप्रधानध्यापक टिकाबहादुर घर्तीले बाबुराम र बच्चाको विचल्ली देखेर करुणा जागेको बताए । 

उनले भने –‘विद्यालय कै नजिक भएर पनि ख्याल गर्न नसकिएको  रहेछ । यस्तो विपदमा एक मानवले अर्को मानवलाई सहयोग गर्नै पर्छ । अब बिद्यालयले सक्दो सहयोग गर्छ र अरुहरुलाई पनि सहयोग गर्न हामी अपिल गर्दछौँ ।’

बाबुरामसँग विहे गर्नुअगाडि ती महिलाले पाल्पा विवाह गरेकी थिइन् ।

त्यहाँ पारिवारिक लफडापछि उनी माइतीघर बसेकी थिइन् ।  

अन्दाजी ५ वर्षका सन्तान लिएर उनले बाबुरामसँग दोश्रो बिवाह गरेकी थिइन् ।

उनका ती ५ वर्षका सन्तानको बाबुको टुङ्गो लागेको छैन ।

उनलाई भने सँगै लिएर गएकी छिन् ।

बाबुरामका चार सन्तान मध्ये ८ वर्षका जेठा छोराले स्कुलको मुख देख्न पाएका छैनन् । कलेटी परेको शरीर, निन्नाउँरो चेहरा ।

चारैजना वालवालिका कुपोषणको शिकार भएको जस्तो देखिन्छन् ।

बाबुराम कामको खोजीमा घर बाहिर निस्कन्छन् ।

बच्चालाई घरमा थुनेर राख्छन् ।   

खेतवारीमा काम गर्न जाँदा एक छेउमा सुताउँछन् । 

आमाले छाडेदेखि ती बच्चाको विजोग छ ।  रातभर रुन्छन् । मन लागेजति खान पनि पाउँदैनन् ।

जव छोरी रुन्छिन् तब बाबुराम गाउँका विभिन्न महिलाकहाँ पुग्छन र स्तनपान गराई दिन आग्रह गर्दछन् ।

छिमेक मै बिवाह भएकी बाबुरामकी दिदी भन्छिन्, ‘म रातमा सुत्न पाएकी छैन । रोएर सताउँछन् । मैले लगेर सुताउँछु । त्यस्ता महिलाले यसरी सन्तान नपाईदिएको भएहुन्थ्यो । कति दयामाया नभएका महिला होलान्, यस्तो हरिवोजग पारेर हिँडे ।’

बाबुराम गाँउका सोझा मान्छेभित्र पर्छन् ।

त्यसैले बेला बेला पत्नीबाट पीडित भएको अहिले बताउँछन् ।

बाबुरामको घरमा केही छैन् । अन्नको गेडा छैन । सुत्ने कपडा समेत पर्याप्त छैन । चिसो भुँईमा सुत्छन् ।  

 पशुपालनको नाममा सानो एउटा अर्कैले पाल्न दिएको बाख्राको पाठी छ । त्यसै झुपडी भित्र चुलो, त्यसैको कोखमा बाख्रा खोर र त्यसैमा पाँच परिवारको विस्तरा । वर्षायाममा चुहेर चिसो भुँई छ । कतै कतै लेउ लागेको छ ।

खुल्ला दिशामुक्त जिल्ला हो गुल्मी । तर बाबुरामकोमा शौचालय नै छैन ।

वडाका वडाध्यक्ष कर्णध्वज जिसीले बाबुरामको विचल्लीमा केही राहत दिने बताए ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप