आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडकमा गिटी–बालुवा थुपारेर राख्ने होसियार : सडकमा चल्न थाल्यो प्रहरीको डोजर (फोटो/भिडियो)

बुधबार, ३१ जेठ २०७४, ११ : ३५
बुधबार, ३१ जेठ २०७४

स्थान : झम्सिखेल, ललितपुर ।
समय : बिहान ९ बजे


सदाझै सर्वसाधारणहरु आ–आफ्नो नियमित काममा व्यस्त थिए । कोही अफिस जान हतारिँदै थिए भने कोही बच्चाहरुलाई स्कूल पुर्याउन हस्याङफस्याङ गर्दै थिए ।


त्यतिनै बेला झम्सिखेल चोकमा बडेमानको डोजर आइपुग्छ । डोजरमा सवार थिए, ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथु ।


चौकै नजिक आएर डोजर टक्क अडिन्छ । त्यतिबेलासम्म त्यहाँ रहेका मानिसहरुलाई किन डोजर आएको पत्तै थिएन । 


उनी ओर्लेर डोजरलाई चोकमा नै रहेको एक निर्माणाधिन घरले फुटफाथ र सडकमा थुपारेर राखेको गिट्टी र बालुवा हटाउन निर्देशन दिन्छन् ।


त्यसपछि डोजरले केही समयको अन्तरालमा नै सडकपेटीमा थुपारेर राखेको गिट्टी बालुवा हटाएर पन्छाइदिन्छ । यति मात्र होइन, निर्माण स्थलमा नअँट्ने सामग्रीलाई ट्रिपरमा उठाएर लगिन्छ ।


करिब २० मिनेटमा अपरेशन समाप्त हुन्छ ।


पैदलयात्रुहरुलाई फुटपाथमा नहिँडे वा सडकमा जथाभावी बाटो काटे कारवाही सुरु गरेको ट्राफिक प्रहरीले गृहमन्त्री जर्नादन शर्माको ‘ग्रिन सिग्नल’ पछि सडक र पेटीमा राखिएको निर्माण सामाग्रीहरु हटाउने अभियान शुरु गरेको हो ।


हिजो मात्र गृहमन्त्री शर्मा र प्रहरी अधिकृतहरुबीच सुरक्षा लगायत विभिन्न विषयहरुमा छलफल भएको थियो ।


‘अहिले गृहमन्त्रीको सीधा निर्देशनपछि प्रहरीलाई कारवाही प्रक्रिया अघि बढाउन सजिलो भएको छ,’ हाछेथुले भने ।


उनले ललितपुर जिल्लाभरि सडकमा राखिएको निर्माण सामाग्री हटाउने प्रतिबद्धता व्यक्त गरे । ‘पैदलयात्रुहरुलाई अप्ठ्यारो पर्ने गरी जिल्लाको कुनै पनि भागको सडकमा निर्माण सामाग्री राखिएको छ भने प्रहरीलाई खबर गर्नुहोला, त्यस्ता सामाग्रीहरुलाई तुरुन्तै हटाइनेछ,’ उनले अपिल पनि गरे ।

हाछेथुका अनुसार निर्माण सामग्री हटाउने र उठाएर लैजाने मात्र नभएर त्यसरी अनाधिकृतरुपमा सडकमा निर्माण सामग्री राख्नेलाई पनि पाँच हजार रुपैयासम्म जरिवाना गरिनेछ ।

झम्सिखेलपछि ललितपुर प्रहरीले भनिमण्डलमा पनि एक घरले सडकमा थुपारेर राखेको निर्माण सामग्री हटाएको छ ।

आज दिनभरीमा मुख्य सडकमा रहेका निर्माण सामग्री हटाउने लक्ष्य राखिएको हाछेथुको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप