हास्यकलाकार मनोज गजुरेलको जीवन : सातामा एक दिन ‘विद्युतीय व्रत’ !
सपना ठूलै देख्नु भनिन्छ । तर, हास्यकलाकार मनोज गजुरेलले ठूला सपना देखेका छैनन् । सपना सानै भए पनि नेपालीको भलो हुनेखालका छन् । ‘बुझ्दै जाँदा विकास भनेको ठुल्ठूला घर, चौडा सडक, प्रविधिको उन्नतिमात्रै होइन रहेछ,’ हास्यकलाकार गजुरेलको ठम्याइ छ, ‘जहाँ प्रविधि र भौतिकताको समृद्धि छ, त्यहाँ सबैभन्दा कमजोर मानिस छन् । तसर्थ, नेपाललाई सिंगापुर, जापान बनाउने सपना देख्न देखाउन छाड्नुपर्छ ।’
नेपाललाई नेपालजस्तै बनाउनुपर्छ । सामान्य जागिर होस् । बिरामी पर्दा १०–२० हजार माग्न नपरोस् । बाटा मसिना भए पनि नियमित चलून् भन्ने हास्यकलाकार मनोज गजुरेलसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
समयअनुसार खानकुरा मन पर्दोरहेछ । एकताका मासु असाध्यै मन पथ्र्यो । ३५ कटेपछि पोको पारेको मासु अर्थात् मःमः मन पर्न थाल्यो । पाँच–सात वर्षयता फलफूल, गेडागुडी, दूध मन पर्न थालेको छ । त्यसो भन्दैमा अन्य खानेकुरा मन पर्दैन भन्न खोजेको होइन । खानेकुराको मामिलामा म सबैभन्दा सजिलो मानिस हुँ ।
भोज खान जाँदा त्यहाँ राखिएका सबै परिकार खानुपर्छ भन्ने छैन । आफूलाई मन परेकोमात्रै खानुपर्छ । हाम्रो भान्सामा दाल, भात, तरकारी, अचार पाक्छ । चारमध्ये आफूलाई मन परेकोमात्रै खाँदा हुन्छ । सबै खानुपर्छ भन्ने छैन ।
बेलुकाको खाना घरमा कमै खान्छु । रेष्टुरेन्ट पुगिहाल्दा फिङ्गर चिप्स माग्न बिर्सन्न । त्योसँगै भेज सी मःमः माग्छु । रुचि नभए पनि आवश्यकताअनुसार पकाउँछु ।
मेरो पोसाक
लगाउन सजिलो पोसाक रोजाइमा पर्छन् । त्यो भनेको सर्ट–पाइन्ट नै हो । कमिज सुरुवाल लगाउन त्यत्तिकै सजिलो लाग्छ । औपचारिक कार्यक्रममा जाँदा सुट लगाउने गरेको छु । हरियो, नीलो, वैजनी रङका कपडा छान्ने गर्छु । दुई वर्षअघिसम्म मोजादेखि टोपीसम्म उपहार पाउँथें । उपहार आउनेक्रम घटेकाले कहिलेकाहीं किन्छु । पोसाकको ब्रान्डबारे त्यति जानकार छुइनँ ।
मेरो फिटनेस
पाँच वर्षयता नियमित योगा र ध्यान गर्दै आएको छु । मर्निङवाक नगरे पनि त्यसबाट लिने ऊर्जा घरभित्रै दौडेर लिन्छु । पछिल्लो समय डाइटिङमा छु ।
मेरो अध्ययन
हिजोआज ‘एक योगीको आत्मकथा’ पढ्दै छु । मलाई दर्शन, धर्मसंस्कृति, हास्यव्यंग्य र इतिहास पढ्न जाँगर चल्छ । मन पर्ने लेखक धेरै छन् । भारतीयमा हरिशंकर प्रसाईं, खुश्वन्त सिंह र नेपालीमा खगेन्द्र संग्रौला र लक्ष्मण गाम्नाङेलगायतलाई पढ्ने गर्छु । आलेखबाहेक केही लेख्नुपर्छ भन्ने सोचिरहेको छु । १८ वर्षमा १८ पटक डेरा सर्दा संकलन गरेको किताब छोडिँदै गए । घर पुग्ने बेला थोरैमात्र बाँकी रहे । पुस्तकालयको योजना बनाएको छु । मेरो संकलनमा पाँच–सात सयजति किताब होलान् । किताबकै लागि भनेर बजेट नछुट्याए पनि सालिन्दा १० हजारबराबर खर्च गर्छु ।
मेरो घुमफिर
पेसा र आवश्यकताले घुमफिरमा निस्किरहनुपर्छ । कर्णालीबाहेक मुलुकका सबै जिल्ला घुमिसकेको छु । विदेशमा एसिया, युरोप, अमेरिका, अस्ट्रेलिया पनि पुगेको छु । एक–दुईपटक घुम्न जानेलाई खाडी मुलुक पनि मन पर्छ । त्यहीं बस्नचाहिँ गाह्रो हुन्छ ।
जीवनमा एकपटक बर्मा र फिजी जान मन छ । जहाँ डेढ सय वर्षपहिले गोरखाली बसेका छन् ।
मेरो फुर्सद
फुर्सद कसैलाई हुँदैन, निकाल्ने हो । जसले मलाई फुर्सद छैन भन्छ कि त उसले कामलाई प्राथमिकतामा राखेन कि उसको इच्छाशक्ति छैन । संसारमा जो–जो सफल भए, उनीहरूसँग पनि २४ घन्टा नै थियो, हामीसँग पनि त्यति नै समय हो । तर, हामी आफूले आफैंलाई ढाँटिरहेका हुन्छौं ।
बेफुर्सदीले शारीरिक र मानसिक थकान लाग्छ । मैले ‘विद्युतीय व्रत’ सुरु गरिसकेको छु । म सातामा एक दिन ‘विद्युतीय व्रत’ बस्छु । सातामा एक दिन टेलिफोन, मोबाइल, इन्टरनेट र टीभीबाट टाढै बस्छु । हाम्रो मस्तिष्कमा रेडियो तरंगले दुःख दिएको छ । त्यसमाथि चौबीसै घन्टा मोबाइलको अघि पछि हुन्छौं । त्यहाँबाट ‘निगेटिभ इनर्जी’ कति आउला ? त्यसैले विद्युतीय व्रत सुरु गरेको हुँ । सूचनाका भारी तनावका कारण एउटा कारण हो । तसर्थ, आफूलाई चाहिनेजति मात्रै सूचना लिनुपर्छ । आँखालाई स्वस्थ होइन, हृदयलाई शान्त पार्ने सूचना लिनुपर्छ ।
फुर्सद पाइहालेमा ध्यान, योगा, अध्ययन र साथीभाइसँग अन्तरक्रिया गरेर सदुपयोग गर्ने बानी छ ।
मेरो खेलकुद
मलाई फुटबल मन पर्छ । विद्यालय तहसम्म फुटबल खेलें । सालिन्दा दसैं र तिहारमा तास खेल्छु । मलाई कलब्रेक र जुतपट्टि खेल्न आउँछ । मारमुङ्ग्री र धक्का दिने खेलमा दिलचस्पी छैन ।
मेरो मोबाइल
ओप्पोको मोबाइल सेट प्रयोग गरेको छु । यसको १५० डलर परेको थियो । कसैले उपहार दियो भने फेरी–फेरी बोक्छु । आफैंले किन्न परे पुरानोले काम चलाउँछु । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, भाइबर प्रयोग गर्छु ।
मेरो टेलिभिजन
टेलिभिजनमा समाचार प्राथमिकतासाथ हेर्छु । त्यसबाहेक हास्यव्यंग्य हेर्छु । स्ट्यान्ड अप कमेडियन हेर्न बिर्सिन्न । युट्युबमा आउने नयाँ पुस्ताका स्ट्यान्ड अप कमेडी (जुन मूलधारमा आउन सकेको छैन) हेर्न छुटाउँदिनँ ।
बिहान बेलुका भ्याएको बेला टीभी हेर्छु । घरमा एलजीको ५२ इन्चको टीभी छ ।
मेरो चलचित्र
पछिल्लोपटक सञ्जय दत्तको चलचित्र हलसम्मै पुगेर हेरेको थिएँ । हेरेकामध्ये ‘सीता और गीता’ मन पर्यो । जीवनमा पहिलोपटक हेरेकाले त्यो चलचित्र मन परेको हो । चलचित्रको कथासार, कलाकार केही थाहा छैन । ‘बलिदान’ पनि मन पर्छ । बलिदानमा मैले पहिलोपटक आवाज दिन पाएको थिएँ । ‘सयकडा दस’ पनि मन परेको छ । यसमा मैलेसमेत अभिनय गरेको छु । तर, ‘रिलिज’ हुन बाँकी छ ।
मिस्टर विन, आर्नोल्ड स्वेजनेगर, आमिर खान, कपिल शर्मा, राजु सिंह, मह जोडी, दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल, केदार घिमिरेलगायतका अभिनय जीवन्त लाग्छ ।
मेरो स्वास्थ्य
मलाई विश्वास छ, केही नहुन्जेल केही हुँदैन । अहिलेसम्म दीर्घरोगले समातेको छैन । अहिलेसम्म थुप्रैपटक ‘होलबडी चेकअप’ गराएको छु । सालिन्दा दुईपटक ‘होलबडी चेकअप’ गराउँदै आएको छु ।
ध्यान र योगा गर्ने भएकाले स्वस्थ छु । खानपानले समेत स्वस्थ रहन सघाउ पुर्याउँछ ।
मेरो भाषणशैली
कलाकार भएकाले कहिलेकाहीं भाषण गर्नैपर्ने बाध्यता छ । आफ्नो भाषणशैली आफैंले मूल्यांकन गर्दा मैले धेरै सुधार गर्नुपर्छ । मसँग शब्द भण्डार अभाव छ । नयाँ–नयाँ शब्दबारे ‘अपडेट’ हुनुपर्छ । अंग्रेजी भाषा राम्रो हुँदो हो त मैले नेपालको कलाकारिता न्युयोर्कको क्लबहरूमा प्रस्तुत गर्दै हुन्थें ।
भाषण गर्दा कन्नेखालको थेगो थियो । त्यसलाई कम गर्दै लगेको छु । मदन भण्डारी र गगन थापाको जस्तो भाषण हुनुपर्छ । थापाको भाषणको ‘स्पीड’ मन पर्छ । भाषण गर्दा बहुमतलाई न्याय हुनेगरी बोल्छु । भएन धेरैलाई र त्यो पनि भएन भने सत्यचाहिँ बोल्नैपर्छ । भाषण गर्नअघि तयारी नभएकै कारण हामी थुप्रैपटक चिप्लिएका छौं ।
मेरो मापसे
मादक पदार्थ खान छाडेको तीन वर्ष भयो । मेरो बाहुन खुवाइ थियो । भोलि बेलुका पार्टी छ है भनेपछि आधाउधी अहिल्यै मातिहाल्थ्यो । पार्टीमा पुगेर हातमा लिएपछि ६० प्रतिशत लागिहाल्थ्यो । एक सुरुप तानेपछि झ्याप्पै हुन्थ्यो ।
मात्ने तत्व मादक पदार्थमा हुँदैन । मस्तिष्कमा हुन्छ । मादक पदार्थले सक्रिय बनाइदिनेमात्रै हो ।
मेरो संगीत
गीत–संगीतबाट टाढा छैन । विशेषतः लोकगीत सुन्छु । गुनगुनाउँछु पनि । नारायण गोपालका कालजयी गीत मन पर्छ । रामकृष्ण ढकाल, सत्यस्वरूप, राजेशपायल राईका गीत त्यत्तिकै कर्णप्रिय लाग्छन् ।
मेरो भूल
जानअञ्जानमा गल्ती गर्नु मानवीय स्वभाव नै हो । गल्तीबाट सिक्दै अघि बढ्नुपर्छ । गल्ती गरेपछि गीत गाउनुभन्दा मैले गल्ती गरें, सुधार्नुपर्छ भनेर आत्मस्वीकार गरें भने अर्थ राख्छ । गल्ती गरेबापत थुप्रै सजाय पाएको छु । म पनि कमीकमजोरीसहितको मानिस हुँ ।
पूजा सकिएपछि मेरै घर (झापा) को आँगनमा आफन्त सुतिरहेका थिए । गर्मी थियो । आँगनमै कोही कता, को कता सुतेका थिए । सबै सुतिसकेपछि मभित्रको कलाकारिता जाग्यो । आँगनछेउको पिँडालुको बोटमुनि सर्पले भ्यागुता खाएको आवाज निकाल्न थालें । सुतेका मानिस जर्याकजुरुक उठे । कसैले लामो लठ्ठीले पिँडालुको बोटमा हिर्काए । हिर्काउने आमा हुनुहुन्थ्यो । कुटाइ खाने म थिएँ ।
मेरो घर
मैले २०६४–०६५ घर बनाएको हुँ । आफ्नै कमाइले घर ठड्याएको थिएँ । घरको डिजाइन सलाइको बट्टाजस्तै छ । घर बनाउन ६० लाखजति लागेको थियो ।
मेरो राशी
मेरो राशी सिंह हो । ग्रहदशा देखाएर तनाव किन लिनु ? त्यही भएर ग्रहदशा देखाउँदिनँ । ग्रहशान्ति गराउँदिनँ । ग्रह नक्षेत्रको फलप्रति विश्वास लाग्छ । प्रकृतिको नियमअन्तर्गत चल्नुपर्छ । जसरी चन्द्र र सूर्यग्रहण लाग्दा समुद्रमा ज्वारभाटा आउँछ, त्यसरी नै ब्रह्माण्डका कुनै ग्रहमा घट्ने घटनाले हलचल हुन्छ भने हामी मानिस सानो अंश हौं, प्रभाव परिहाल्छ ।
मेरो सौन्दर्य
कपालमा जेल, तेल केही लगाउँदिनँ । फेसियल गर्दिनँ । अनुहारमा क्रिम लगाउने बानी छैन । कहिलेकाहीं ‘पफ्र्युम युज’ गर्छु ।
मेरो सपना
नेताले नेपाललाई स्वीटजरल्यान्ड, सिंगापुर बनाउँछु भन्थे । हामीले पत्यायौं । निर्वाचनमा जिताएर पठायौं । तर बुझ्दै जाँदा विकास भनेको ठुल्ठूला घर, चौडा सडक, प्रविधिको उन्नतिमात्रै होइन रहेछ । जहाँ प्रविधि र भौतिकताको समृद्धि छ, त्यहाँ सबैभन्दा कमजोर मानिस छ । मानसिकता कमजोर छ । तसर्थ, नेपाललाई सिंगापुर, जापान बनाउने सपना देख्न देखाउन छाड्नुपर्छ ।
नेपाललाई नेपालजस्तै बनाउनुपर्छ । सामान्य जागिर होस् । बिहान घरबाट निस्केपछि बेलुका सुरक्षित घर पुग्न सकियोस् । बिरामी पर्दा १०–२० हजार माग्न नपरोस् । बाटा मसिना भए पनि नियमित चलून् ।
म कर्म गर्छु । मलाई समय, समाज, प्रकृति र कर्मले जिम्मेवारी दिएको छ, यी विधालाई व्यवस्थित र संयमित बनाउने प्रयत्न गर्नेछु । म आफ्ना भोगाइबाट खारिएर ‘मोटिभेसनल स्पीकर’ बन्न चाहन्छु ।
मेरो मृत्यु
सतही रूपमा भन्ने हो भने मृत्यु जीवनको अन्त्य हो । यही जीवनलाई मात्रै जीवन मान्ने हो भने दलील हो । जीवन बुझ्ने विभिन्न काइदा छन् । म मरे पनि मेरो चेतना मर्दैन । यो चक्र चलिरहन्छ । मृत्यु अन्त्य होइन, अर्को जीवनको सुरुवात हो ।
अवचेतनमा मृत्युसँग डर लाग्छ । तर, मृत्य स्वीकार नगर्ने हो भने झन् डर लाग्छ । म सत्य स्वीकारको यात्रामा छु । मृत्युसँग नजिक–नजिक पुगेका घटना थुप्रै छन् । संवत् ०५५–५६ तिरको कुरा हो । शिवरात्रीमा साथीहरूसँग पशुपतिनाथ पुगेको थिएँ । म ओशोको सातदिने क्याम्पबाट भर्खरै फर्केको थिएँ । सम्पूर्ण चीज मेरो नियन्त्रण हुन्छ । जाबो गाँजाको धूवाँ त हो नि भनेर दुई सर्को तानेपछि आँखा तिरिमिरी हुँदै–हुँदै–हुँदै मानिस मसिनो–मसिनो–मसिनो देख्न थाले । बागमती ठूलो–ठूलो–ठूलो देख्न थालें । कहिले नखानेको भएकाले गाँजाले मानी हल्लाइदिएपछि मैले स्वयम्सेवकलाई घरको टेलिफोनमा कल गर्न लगाएँ । दाइ लिन आउनुभयो । मैले रुँदैरुँदै भने, ‘दाजु म बाँचेछु भने गाँजाबारे अन्तर्राष्ट्रिय आन्दोलन गर्छु । तर, गर्नचाहिँ केही गरिएन ।’ मृत्यु सहज हुनुपर्छ । मेरो मृत्युपछि मलाई सबैले हाँसीहाँसी बिदा गरून् ।
यो जीवनकथा पनि पढ्नुहोस्
माले महासचिव सीपी मैनालीको जीवन : नेताचाहिँ अगतिला भयौं