आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के हो रेबिज, यस्तो छ उपचार विधि

मङ्गलबार, २२ साउन २०७५, १३ : ४७
मङ्गलबार, २२ साउन २०७५

नेपालमा हरेक वर्ष रेबिजका कारण करिब ९ सय जनाको मृत्यु हुने गरेको छ । यसरी मर्नेहरू अधिकांश बालबालिका छन् । पशु स्वास्थ्य निर्देशनालयका अनुसार रेबिजको भाइरस अघिकांश कुकुरको टोकाइबाट सर्ने गर्छ । 
शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै दैनिक १ सय ५० जना कुकुरको टोकाइबाट बिरामी भएका व्यक्ति उपचारमा आउँछन् । अस्पताल नआउनेको सङ्ख्या दोब्बर रहेको छ ।

विशेषज्ञहरूका अनुसार रेबिज भाइरसको सङ्क्रमण भएपछि पनि समयमा उपचार गरे केही समयसम्म ज्यान जोगाउन सकिन्छ । त्यसैले समयमै उपचार गर्नुपर्र्ने उनीहरूको सुझाव छ ।  

‘नेपालको कुरा गर्ने हो भने रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने धेरै व्यक्तिलाई जानकारी नै छैन । त्यसैले जो कसैले रेबिज विरुद्धको भ्याक्सिन अनिवार्य लगाए राम्रो हुन्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन बताउँछन् । त्यसो त रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आइरहेको छ । टोकेको १० दिनमा कुकुर मर्छ, त्यो समयसम्म अनिवार्य ३ वटा भ्याक्सिन लगाए निको हुन्छ ।


स्तनधारी जनावारको टोकाइलाई बेवास्ता नगर्नु
डा. पुनका अनुसार भुस्याहा कुकुरभन्दा घरपालुवा कुकुरको टोकाइबाट अस्पताल आउनेहरूको सङ्ख्या धेरै छ । कुकुर पाल्ने मात्रै होइन, कुकुरलाई लगाउने भ्याक्सिनदेखि सबै कुराको बारेमा ध्यान दिन जरुरी भएको उनको सुझाव छ । अन्तिम वर्षमा मात्रै रेबिजका कारण १६ जनाको मृत्यु भएको छ । 
२०७५ सालको वैशाखदेखि असारसम्म ६ जनाको मृत्यु भइसकेको छ । रेकर्ड नहुने सङ्ख्याको कुरा गर्ने हो भने झनै डरलाग्दो छ । कतिपयलाई भ्याक्सिन लगाउनुपर्छ भन्ने थाहा हुँदाहँुदै पनि बेवास्ता गर्ने गरेको पाइन्छ ।
 

के हो रेबिज, कसरी सर्छ ?
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हँुदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण  भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
 

लक्षण
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।
 

उपचार विधि
रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ ।  कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप