सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

होसियार ! आकर्षक कमाई हुने भन्दै दलालले भारत पुर्याएर ठग्लान्

बिहीबार, २४ साउन २०७५, १२ : ००
बिहीबार, २४ साउन २०७५

 गुल्मी–नेपालमै मासिक १६ हजारदेखि २२ हजारसम्म तलब खाने गुल्मीका एक युवालाई  पहिलो महिनामा नै कम्तीमा २५ हजार भारु कमाउन  सकिने प्रलोभन देखाउँदै भारतको एक कम्पनीमा लगियो ।
 

   तर उनी एक हप्तामै रित्तो हात  बुधवार विहान सदरमुकाम तम्घास फर्किएका छन् ।  उनी हुन् मालिका गाउँपालिका वडा नम्वर ५, छापाहिलेका प्रेमबहादुर जिसी ।  त्यही प्रलोभनमा भारत पुगेका उनका छिमेकी तुल्सी गिरी  पनि संगै फर्किएका छन् ।  

भारतको उत्तर प्रदेश अयोध्या फैजावाद पञ्जवती होटल नजिकै रहेको  चागियोफेरा मेगसालेस नामक नेटवर्किङ कम्पनीले  नेपालका युवाहरुलाई रातारात करोडपति बन्ने सपना देखाउँदै लैजाने र  अधिकांशलाई जीवनमा समृद्धि ल्याउने  तालिम  दिने नाममा ठग्ने गरेको पीडितहरुले बताएका छन् । यस्ताखाले पीडितहरु बुटबल र गुल्मी आसपासका क्षेत्रका दर्जनौं रहेको बताइएको छ । यसरी युवाहरुलाई कम्पनीसम्म पुर्याउने कार्यमा नेपाली दलालहरु नै सक्रिय रहेका छन् । 

ठगीको काइदा
पीडितहरुका अनुसार त्यहाँ लगेपछि पहिला एक हप्ताको तालिम गर्नुपर्छ भनिन्छ । जुन तालिम स्थलमा प्रवेशको लागिमात्रै ६ हजार तिर्नुपर्ने व्यवस्था गरिएको छ ।  यस्तो धन्दाका लागि एक जनाले पाँच जना कम्पनीसम्म  पुर्याए कमिसनको पनि व्यवस्था हुन्छ । 
 

 ५ जनालाई एक हप्ते तालिममा लैजाँदा २० प्रतिशत रकम पाउन चाहनेले  सुरुमा ८ हजार भारु तिर्नु पर्ने पर्छ । सो रकम तिरेपछि ६ हजारमा एक जनाको तालिमस्थलमा इन्ट्री गराउँदा दलालले २० प्रतिशत कमिसन पाउछ । यसरी एक पटक रकम तिरेपछि उसले  निरन्तर कमिसन पाइरहन्छ । हुन त दलालले कम्पनीलाई बुझाएको रकमको आधारमा कमिसन रकम पनि फरक फरक हुने गरेको छ ।  २५ प्रतिशत रकम पाउन पहिले नै ३५ हजार दिनु पर्ने, ४१   प्रतिशत पाउन ९५ हजार तिर्नु पर्ने नियम बनाइएको छ ।  त्यही अनुसारको कमिशन डिपोजिटको आधारमा बढ्दै जाने गरेको बताइन्छ । यही सुविधा नयाँ जानेले पनि पाउँछ । अर्थात जति धेरै मान्छे लगियो उति आम्दानी । 

  त्यसो गरे दुई चार वर्ष भित्रैमा आलिशान महलको मालिक र चिल्लो कारमा चढ्ने निश्चित भएको भन्दै दलालहरुले युवालाई प्रभावित पार्ने गरेका छन् ।  लाखौंलाख तिरेर विदेश जानु भन्दा त्यो भन्दा कम पैसामा छिमेकी  देश मै ठिक भन्दै युवाहरु  त्यहाँ  जान आकर्षित हुने गरेका छन् ।  त्यस कम्पनी पिडित जिसी भन्छन्–‘ असार मसान्त सम्म आफ्नै मालिका गाउँपालिकाको भिलेज प्रोफाइल बनाउन मै ब्यस्त थिएँ ।    त्यस अघि एक  ग्र्रैह्रसरकारी संस्थामा १७ हजार तलव खान्थें , त्यस अघि २२ हजार सम्म तलव खान्थे आफ्नै जिल्लामा बसेर । चिनजानका साथीले कमाई हुने बताए पछि त्यस्तो त छाड्न

हुन्न भनेर पछिल्लो १६ हजार तलव खाने जागिर हापेर हिँडे ।’

 त्यहाँ पुगेर वातारवरण बुझ्दै जाँदा धन्दा ठगीको रहेछ भन्ने बुझिएको बताए । 

  उनले भने, ‘जीवनमा आमुल परिवर्तन कसरी ल्याउने ? भन्नेबारे मिठामिठा सपना सहितका प्रवचन दिइदो रहेछ । तोकिएको त्यही प्रतिशत अनुसारका कपडा पनि भने जस्ता दिइदो रहेछ ।  तालिमा प्रवेश शुल्क र खान बस्नका लागि ६ हजार भा.रु तिर्नुपर्दोरहेछ ।  त्यस पछि मात्र आफुले चाहेको प्रतिशतको रकम तिर्नु पर्ने रहेछ । त्यति वेला छैन भने घर फर्केर तिर्न गए पनि हुँदो रहेछ ।’

   ‘काम केहि गर्नै नपर्ने , खाली मान्छेले मान्छेलाई पाँच पाँच जनाका दरले त्यस तालिममा लैजाने, ती ५ जनाले पनि जनही अरु पाँच पाँच जना  लैजाँदै जाने रहेछ । ’ उनले भने । 
   उनले थपे–‘  लाग्यो मान्छेले मान्छे कै व्यापार गर्ने रहेछन् , आफू त  फसियो, फसियो तर म जस्ता अरु नेपालीहरुलाई पनि फसाउनु छैन भनेर हामी फर्केका हौं ।   हाम्रो टोलीमा १० जना पुगेका थियौं । एक

जना पोखराका युवा  तीन दिन मै भागेर आए । हामी पनि त्यसरी आउन खोजेका थियौं । हामीलाई एक जना ठुला मान्छे लाग्नेले फकाए पछि तालिमभर बस्यौं र कान समातेर फर्किएका छौं । ’
 ठगिएका ती युवाद्धयका अनुसार त्यस कम्पनीका डाइरेक्टर राजेन्द्र चौधरी भन्ने ब्यक्ति हुन् । उनले आफूले १२  वर्ष सम्म बुटवलमा पत्रकारिता गरेको र छाडेर यो पेसामा  लागेको भन्दै युवालाई भारतसम्म लग्ने गरेका छन् । 

   तर, उनी बुटवलका पुराना पत्रकार तथा नेपाल पत्रकार महासंघ ५ नम्वर प्रदेशका उपाध्यक्ष भरत केसीले  राजेन्द्र  नाम गरेको पत्रकार बुटवलमा भएको आफूले कहिल्यै  नसुनेको बताए । 

  यसरी प्रलोभन पारेर युवालाई भारतसम्म पुर्याउनेमा  गुल्मी शान्तिपुरका विमल अर्याल, धुर्कोटका राज शर्मा पनि रहेको बताइएको छ  ।  उनकै तहमा आँपचौरका प्रदिप खरेल भन्ने पनि रहेको पीडित युवाहरुले बताएका छन् ।  गुल्मीका यी दुई युवालाई भने नेपालगञ्जका लोकराज सुवेदीले बेलाएर लगेका थिए ।

   गिरी र उनी पाँच बर्षसम्म साउदी अरवमा कार्यरत थिए । उनकै  बिश्वासले भारत पुग्दा ठगिएको उनले बताए ।  यसविषयमा बुझ्न चौधरीलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् । बरु    दलालमध्येका एक भनिएका सुन्दर क्षेत्रीले फोन उठाए । उनले भने, ‘हामीले मानिसको जीवन सुधार्ने हो, इच्छा लाग्ने बस्छन नलाग्ने जान्छन् , मैले भन्ने यति हो बाँकी कुरा चौधरी सर संगै गर्नुस् ।’

ठगीबारे यस संवाददाताको क्षेत्रीसँग सम्पर्क भएपछि प्रकाश शर्मा नामका सम्बद्ध व्यक्तिले सम्पर्क गरेर प्रतिक्रिया दिएका छन् । 
उनले भनेका छन्, ‘यो हाम्रो मल्टी  लेवल विजनेस कम्पनी हो । सात दिनको तालिम दिन्छौं । तालिमका लागि रकम पनि लिन्छौं । २० प्रतिशत  कमिशन पाउनेले ८ हजार तिर्नु पर्छ । २५ प्रतिशतवालाले ३५ हजार र ४१  प्रतिशत वालाले १ लाख तिर्नु पर्छ । सात दिनको तालिम सकेर हामी घर पठाउँछौं । घर गएर निर्णय लिने जिम्मा उनीहरु कै हो । मेरो घर पनि गुल्मी नै हो  । तर मेरो जन्म  पठनपाठन सबै यहि भएको हो । मैले यो विजनेश  पाँच वर्ष देखि  गर्दै आएको छु ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप