सांसद डा. मीनेन्द्र रिजालको जीवन : कम्युनिस्ट शासित देश घुम्ने असाध्यै रहर
‘राजनीतिक, आर्थिक र सामाजिक आधार बनेको छ,’ सांसद डा. मीनेन्द्र रिजालको तर्क छ, ‘संविधान राम्रो बनेको छ । संविधानका विवाद मिलाउन दुई–चार धारा संशोधन गर्दा पुग्छ ।’ १० वर्ष सशस्त्र विद्रोह, त्यसपछिको शान्ति प्रक्रिया हुँदै संविधान बनाउँदासम्म नेपालको अर्थतन्त्र तल–माथि परेको छैन । अर्थतन्त्रको मूल चरित्र स्वस्थ छ । हामीसँग राजनीतिक, आर्थिक र सामाजिक पुँजी छ । यस्तो आधार नेपालमा कहिल्यै बनेको थिएन । यसलाई सदुपयोग गर्न सक्नुपर्छ । एकातर्फ प्रधानमन्त्रीले सपना देख्नुपर्छ भन्नुभएको छ, अर्कोतर्फ असाध्यै बलियो आधार बनेको छ भन्ने सांसद डा. मीनेन्द्र रिजालसँग दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
खानाको सोखिन छुइनँ । बिहानको खाजामा आधा गहुँ र आधा अन्य पीठो मिसाएर तयार पारिएको रोटी लिन्छु । कुखुराको मासु र आलु असाध्यै मन पर्छ ।
म सम्पन्न परिवारको कान्छो छोराका रूपमा हुर्कें । त्यतिबेला जुनकुनै तरकारी मन पर्दैन भन्थें । त्यही तरकारी हिजोआज मन पर्न थालेको छ । पहिले दूध, साग, भान्टा मन पर्दैनथ्यो । हिजोआज खान थालेको छु । सामान्यतः कामविशेषले रेष्टुरेन्ट पुगिरहन्छु । खानकै लागि योजनाबद्ध नगए पनि रेष्टुरेन्टबाट घरमै मगाएर खाने गर्छौं ।
विद्यार्थी जीवनमा पकाए पनि हिजोआज भान्छा पसेको छैन । अमेरिकामा रहँदा पनि कहिलेकाहीं पकाएँ । पकाउनुभन्दा भाँडा माझ्न जाँगर चल्छ । रेष्टुरेन्ट पुगिहाल्दा आलु, भटमास माग्न बिर्सन्न ।
मेरो पोसाक
सजिलो लाग्ने सबै थरीका कपडा लगाउँछु । आफ्नो निर्वाचन क्षेत्र जाँदा गर्मीमा कुर्तासुरुवाल लगाउँछु । मन्त्री हुँदामात्रै होइन, संसद् जाँदा सधैं दौरासुरुवालमै हुन्छु । अनौपचारिक कपडा लगाउन त्यत्तिकै सजिलो लाग्छ । नीलो रङका कपडा रोजाइमा पर्छन् ।
प्रायः ‘रेडिमेड’ कपडा लगाउँछु । सुट र दौरासुरुवालचाहिँ सिलाउनैपर्यो । चित्तबुझ्दो टेलरिङ नभएकाले ‘रेडिमेड’ कपडा नै लगाउँदै आएको छु । पश्चिमाखाले कपडा ‘रेडिमेड’ नै हुन्छन् । कुर्तासुरुवालमा कुर्ता ‘रेडिमेड’ र सुरुवालको कपडा किनेर सिलाउने गरेको छु । सिलाउनैपर्दा पुतलीसडकमा रहेको रेमन्ड पुग्छु । पहिले डिल्लीबजारमा सिलाउने दौरासुरुवाल हिजोआज बांगेमुडा सरेको छु । कुर्ताको सुरुवाल सिलाउन इन्द्रचोक जान्छु ।
पश्चिमा मुलुकका मध्यमवर्गले लगाउने कपडा प्रयोग गरेको छु । अनौपचारिक पोसाकमा हुँदा घामबाट बच्न ‘क्याप’ लगाउँछु । औपचारिक कार्यक्रममा जाँदा टोपी लगाउने गरेको छु । ‘ह्याट’ लगाउन अप्ठ्यारो लाग्छ ।
मेरो फिटनेस
शारीरिक अभ्यास नियमित गर्न छुटेको तीन वर्ष भयो । शारीरिक अभ्यास नियमित नहुँदा पाँच किलो तौल बढेको छ । नयाँबानेश्वर बस्दा ‘हेल्थ क्लब’ जान्थें । टेनिस खेल्थें । बालुवाटार सरेपछि होटल र्याडिसन पुग्थें । हिजोआज छुटेको छ । नयाँ ठाउँ खोज्दै छु ।
ट्रेडमिलमा नियमितजसो दौडिइरहेको छु ।
मेरो अध्ययन
पढ्ने सूचीमा ६ किताब छन् । त्यसमध्ये ‘मानव सभ्यता विकासको इतिहास’ पढ्न थालेको छु । गत वर्ष १३ हजारभन्दा बढी पेजको ‘हिस्ट्री अफ सिभिलाइजेसन’ नामक किताब ल्यापटप र मोबाइलमा पढें । आफूलाई कामलाग्दो किताब हो भन्ने लागेपछि मात्रै किताब पढ्ने गर्छु । जे पायो त्यही किताब पढ्ने बानी छैन ।
लक्ष्मीप्रसाद देवकोटा, पारिजात र बीपी कोइरालालाई पढेको छु । बालकृष्ण समलाई पुनः पढ्ने मन छ ।
लेख्ने भने पनि समयाभावले रहर पूरा भएको छैन । वार्तामा आधारित भनेर आलेख प्रकाशित भइरहेका छन् । मेरो संकलनमा किताब धेरै छैन । जे पायो त्यही किताब पढ्ने बानी नभएकाले त्यस्तो भएको होला । अनलाइन अध्ययनमा लागेको छु । तर पनि अरूकोभन्दा ठूलै पुस्तकालय होला । संसद् सुरु हुनुअघि १०–१२ वटा किताब किनेको थिएँ । त्यो पनि हेर्दै छु ।
मेरो घुमफिर
म घुमफिरमा रुचि भएको मानिस होइन । नेपालका ७० जिल्ला पुगेको छु । गएको दसैंमा चारैजना घुम्न पोखरा पुगेका थियौं । २६ देश घुमेको छु । पेरिस, युनाइटेड किङडमको स्कटल्यान्डको एडिनबरा, क्यानडाको भ्यानकुवर, भिक्टोरिया मन पर्यो । कम्युनिस्ट शासित देश घुम्ने मन छ ।
मेरो फुर्सद
राजनीतिक नेता भएकाले फुर्सद त्यति हुँदैन । समय व्यवस्थापन गर्न नजानेर पनि हो कि । तर, पहिलेभन्दा अलि फुर्सद भएजस्तो लाग्छ । अमेरिकाबाट फर्केपछि पार्टी र सरकारका काममा क्रियाशील भएँ ।
व्यस्तताले मानसिक र शारीरिक थकाइ लागे पनि मोबाइल अफ गरेर आराम गरौंजस्तो लाग्दैन । र, गरेको पनि छैन । सञ्चारमन्त्री भएको पाँच–सात महिनादेखि प्रतिनिधिसभा निर्वाचनसम्म मानसिक तनाव थियो । सञ्चारमन्त्री भएको पाँच–सात महिनापछि पार्टीभित्र आन्तरिक विरोध थियो । मन्त्री नहुँदासम्म सबैले असाध्यै माया गर्थे । सञ्चारमन्त्री भएपछि केही साथीलाई हाम्रो भाग खाए भन्ने पर्यो ।
त्यसपछि पार्टीमा परिवर्तन आयो । सुशील कोइराला बित्नुभयो । शेरबहादुर देउवा संसदीय दलको नेता हुनुभयो । प्रधानमन्त्री बन्नुभयो । पार्टीको माहोल परिवर्तन भयो । मैले चाहँदाचाहँदै पनि प्रत्यक्ष निर्वाचनमा भाग लिने अवसर पाएको थिएन । यसपटक पनि पाउने सम्भावना थिएन । सुजाता कोइराला प्रत्यक्ष निर्वाचनमा भाग नलिने भन्नुभएपछि त्यस क्षेत्रमा मैले उम्मेदवारी दिएको हुँ । आठ हजार मतले तल भए पनि निर्वाचनमा भाग लिएँ । निर्वाचनमा टिकट नपाएरभन्दा पराजित भएरै राजनीति टुंग्याउनु उचित लाग्यो । नभन्दै सबैसबैको सहयोगले निर्वाचित भएँ । सञ्चारमन्त्री भएको पाँच–सात महिनादेखि प्रतिनिधिसभा निर्वाचित भएर नफर्केसम्म मानसिक तनाव थियो । अहिलेचाहिँ मुक्त छु ।
फुर्सद पाइहालेमा प्रिमियम च्यानलमा सिनेमा हेर्छु । किताब पढ्छु । परिवारलाई समय दिन त्यति सकेको छैन । दिने प्रयत्न गरेको छु । परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान र हलसम्म पुगेर चलचित्र हेर्ने साइत कमै जुर्छ ।
मेरो खेलकुद
एसएलसी दिनुअघिसम्म फुटबल खेलेको थिएँ । अस्कल क्याम्पसमा पढ्न थालेपछि बास्केटबल र हकी खेलें । अमेरिकामा रहँदा लनटेनिस खेलेको थिएँ । नयाँबानेश्वरमा रहँदासम्म लनटेनिस खेल्थें ।
अमेरिका रहँदा बानी परेकाले अमेरिकन फुटबल हेर्ने असाध्यै मन पर्छ । त्यतिबेला ६ दिनसम्म खेलिने क्रिकेट हिजोआज आधा दिनमा खेल्न सकिने भए पनि क्रिकेटले अभिरुचि जगाउन सकेन ।
मेरो मोबाइल
आइफोन सभेन प्रयोग गरेको छु । आइफोन थ्रीदेखि प्रयोग गर्दै आएको हुँ । मोबाइल फेरी–फेरी प्रयोग गरेको छु । आइफोन टेन लिने इच्छा भए पनि प्राविधिक समस्या देखिएकाले किनेको छैन ।
मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जालदेखि गुगल ड्राइभ, ड्रप बक्स, आइबुक्सलगायत थुप्रै एप्लिकेसन प्रयोग गरेको छु ।
मेरो टेलिभिजन
अमेरिका जानुअघि घरभेटीकहाँ टेलिभिजन हेर्थें । अमेरिकामा रहँदामात्र टीभी राम्रोसँग हेरेको हुँ । अमेरिकामा रहँदा टेलिभिजनमा समाचार, पब्लिक ब्रोडकास्टिङ सर्भिस (आमनागरिकको चन्दाबाट सञ्चालित), टक शो, फुटबल हेर्थें । नेपाल फर्केपछि पछिल्लो समय अनलाइन म्यागेजिनमा समाचार हेर्न थालियो ।
मेरो चलचित्र
हलसम्म पुगेर हेरेको पछिल्लो चलचित्र ‘पञ्चायत’ हो । सञ्चारमन्त्री हुँदा नेपाली चलचित्र हेरेको थिएँ । विमानमा यात्रा गर्दा हिन्दी चलचित्र हेर्ने गर्छु । अंग्रेजी सिनेमा घरमै नियमितजस्तो हेरिरहेको छु ।
मेरो स्वास्थ्य
अहिलेसम्म नियमित औषधि सेवन गर्नुपरेको छैन । उमेरअनुसार आउने समस्या देखिन थालेको छ । १२–१३ वर्षदेखि सालिन्दा ‘होलबडी चेकअप’ गर्दै आएको छु । पहिलेको शारीरिक व्यायामले अहिलेसम्म स्वस्थ छु । शारीरिक व्यायामलाई निरन्तरता दिनु छ ।
मेरो भाषणशैली
‘गरे’ जस्तो लागे पनि आफूले गरेको भाषण हेर्दा, सुन्दा त्यति सन्तोष लाग्दैन । बोल्दा राम्रै बोलेजस्तो लाग्छ । सबैले राम्रै भन्दिन्छन् । भाषण गर्दा थेगो प्रयोग नगरे पनि ‘एउटा कुरा’, ‘यहाँबाट सुरु गरौं’ भन्दोरहेछु ।
पहिले–पहिले सुझबुझसहित प्रशिक्षणजस्तो भाषण गरिन्थ्यो । काँग्रेस प्रतिपक्षमा रहेकाले हिजोआजको भाषण केही आक्रामक हुने गरेको छ । भाषण गरेकै आधारमा विवादमा तानिनु अस्वाभाविक होइन । राजनीतिकवृत्तमा मीनेन्द्र रिजालको एउटा पहिचान बनेको छ । पहिचान बनाउँदा मित्रमात्रै होइन, प्रतिस्पर्धीमा पनि कमाएको हुँला । पार्टीभित्र र बाहिरका प्रतिस्पर्धीले मेरो छवि बिगार्न आधारहीन प्रचार गर्न लागिपरेका छन् ।
भाषण गर्नअघि खासै तयारी नगरे पनि मोटो ‘फ्रेम’ बनाउने गरेको छु ।
मेरो मापसे
म ‘रेड वाइन’ र बियर लिन्छु । खाने मात्रा निश्चित हुँदैन । तर, उमेरअनुसार धेरै खान सकिँदैन । खान हुन्न पनि ।
मेरो संगीत
बिहान भजन, स्तोत्र सुन्छु । बेलुका पुराना हिन्दी गीत तथा गजल सुन्छु । नारायणगोपालको आवाज कर्णप्रिय लाग्छ । भारतीयमा मुकेश, जगजित सिंहमात्रै होइन, बिटल्सलगायत गीत सुन्ने गरेको छु ।
मेरो भूल
जीवनमा पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । सानातिना गल्ती त भएका छन् । केटाकेटीमा आठ–दस रुपैयाँ चोरेकोदेखि, कहिलेकाहीं अञ्जानमा साथीभाइलाई भन्नै नहुने कुरा भनियो होला ।
मेरो घर
संवत् २०६३ मा घडेरी किनेको हुँ । दोस्रो संविधानसभा बैठकको पहिलो बैठक जानुअघि घर प्रवेश गरेको थिएुँ । घर बनाउँदा पुख्र्यौली सम्पत्ति, मेरो र श्रीमतीको कमाइसमेत परेको छ । बाहिर र भित्रबाट हेर्दा घर राम्रै देखिएको छ । त्यहीअनुसार खर्च पनि भयो । घर बनाउनअघि वास्तुशास्त्र हेराइएन ।
मेरो राशी
मेरो राशी सिंह हो । अहिलेसम्म मैले चिना हेराएको छैन । तर, दिदीले देखाइदिनुहुन्छ । साथीभाइले हेरिदिन्छन् । आमा रहँदासम्म चिना नियमित हेराउनुहुन्थ्यो ।
मेरो सौन्दर्य
कपाल नभएकाले जेल, तेल हाल्न पर्दैन । फेसियल गर्ने बानी नभए पनि ‘आफ्टर सेभ’ प्रयोग गर्छु । साउना र स्टीम मन पर्छ । हेल्थ क्लब जाँदा नियमित गर्थें । हिजोआज पनि साउना नियमित बस्छु ।
मेरो प्रेम
हामीले प्रेमविवाह गरेका हौं । हामी दुवैका साथीभाइले प्रेम जताउने वातावरण मिलाइदिए ।
मेरो सपना
हामी आधारहीन सपना देख्ने गर्छौं । आधारविनाको सपना देख्नुको अर्थ छैन । योजनादेखि हाम्रा नेताले बोलेका अधिकांश कुरा आधारहीन छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसै देख्ने सपना र गफ बेच्नुभए पनि ‘गम्भीर भएर देश बनाउन सक्छौं भन्ने कुरामा विश्वास गर्न सक्नुपर्छ । जुन सम्भव छ’ भन्ने सबैको मनमा पारिदिनुभएको छ । यस अर्थमा प्रधानमन्त्री ओलीलाई ‘क्रेडिट’ दिन्छु । तर, उहाँको दिउँसै देख्ने सपनाको आलोचक हुँ ।
नेपालमा राजनीतिक, आर्थिक र सामाजिक आधार बनेको छ । संविधान राम्रो बनेको छ । संविधानका विवाद मिलाउन दुई–चार धारा संशोधन गर्दा पुग्छ । १० वर्ष सशस्त्र विद्रोह, त्यसपछिको शान्ति प्रक्रिया हुँदै संविधान बनाउँदासम्म अर्थतन्त्र तल–माथि परेको छैन । अर्थतन्त्रको मूल चरित्र स्वस्थ छ । हामीसँग राजनीतिक, आर्थिक र सामाजिक पुँजी छ । यस्तो आधार नेपालमा कहिल्यै बनेको थिएन ।
एकातर्फ प्रधानमन्त्रीले सपना देख्नुपर्छ भन्नुभएको छ, अर्कोतर्फ असाध्यै बलियो आधार बनेको छ । तर, प्रधानमन्त्रीले दिउँसै देख्ने सपना पनि हाल्दिनुभएको छ । त्यसले अभूतपूर्व अवसर गुम्ला कि भन्ने डर लागेको छ ।
विद्यार्थी राजनीति गर्दा जहाँ पनि पुग्न सकिन्छ भन्ने लागेको छ, हिजोआज सीमा बुझ्न थालेको छु ।
मेरो मृत्यु
मृत्युबारे सोचेको छैन । आफूले नियन्त्रण गर्न नसकिने विषयमा सोचिरहनुको तुक हुँदैन । मृत्यु स्वीकार्नुको विकल्प छैन । मृत्यु अत्यन्तै शान्त होस् ।
यो जीवनकथा पनि पढ्नुहोस्
हास्यकलाकार मनोज गजुरेलको जीवन : सातामा एक दिन ‘विद्युतीय व्रत’ !
माले महासचिव सीपी मैनालीको जीवन : नेताचाहिँ अगतिला भयौं