सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘धारो उद्घाटन’ भाइरल : यसो भन्छन् उद्घाटन गर्ने सांसद र मेयर

सोमबार, ०४ भदौ २०७५, १४ : ३९
सोमबार, ०४ भदौ २०७५

बाग्लुङ– समाजमा जे भयो त्यो वास्तविकता नलुकाएको एउटा दृश्य देखियो बाग्लुङमा । प्रसङ्ग हो– सामाजिक सञ्जालमा भाइरल बनेको धारो उद्घाटन । दृश्य थियो भदौं २ गते बाग्लुङ नगरपालिका वडा नम्बर ७ स्थित साविकको मूलपानी गाविसमा कैगले ढिकीचौर खानेपानी योजनाको उद्घाटन समारोह ।

दृश्य हेर्दा हाँसो उठ्ने तर गहिरिएर  सोच्दा हाम्रो समाजको वास्तविकतालाई उजागार गर्ने दृश्यले हामी कस्तो मानसिकता र कस्तो विकासको मोडलमा छौँ भन्ने प्रतिविम्बित गर्छ । यो दृश्य विभिन्न अनलाइलनमा भाइरल भएपछि धारो उद्घाटन गर्ने जनप्रतिनिधि र उपभोक्ता समितिका व्यक्तिहरूसँग हामीले भएको चाहिँ के हो भनेर प्रश्न गरेका छौँ :

होमनाथ गौतम, अध्यक्ष उपभोक्ता समिति  

बागलुङ नगरपालिका भित्रको यो गाउँ सबैभन्दा विकट हो । २०४८ सालदेखि लुथ्रन वल्र्ड भने एक विदेशी संस्थाले यहाँको खानेपानी योजना सुरु गरेको हो । तर बीचमा योजना त्यतिकै बिच्किएपछि यहाँका बासिन्दा निरास थिए । यस पटकको निर्वाचनपछि बाग्लुङ नगरपालिकाले हाम्रो खानेपानी समस्यालाई गम्भीर रूपले लियो ।

नगरपालिकाले ५ लाखभन्दा बढी रकम पारिदिएपछि यहाँका प्रत्येक घरधुरीले ५ हजारका दरले उठायौँ । सबै गरेर करिव १३ लाख भयो । १ सय ६ घरधुरीमध्ये बसाइँसराइ गरेर आएकाहरूले अलि बढी तिर्नुपर्यो । लिफ्टसमेत गरेर माथिका १० घरधुरीसम्म पानी पुर्याएका हौँ ।

तर जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइयो, त्यो तस्बिर कार्यक्रम स्थलमा टाँगिएको त्रिपालको बाँसमा तत्काल उद्घाटन प्रयोजनका लागि मात्रै थियो । तस्बिर भाइरल बनाउनुको कारण गजबको लाग्यो । यस वडाका काँग्रेस सभापति शशीधर उपाध्यले माथि (ट्याङ्की) मै उद्घाटन गरौँ भन्नुभएको थियो । हामीले कार्यक्रम स्थलमै गरौँ भनेर झरियो । कार्यक्रममा धेरै तामझाम र समय बढी नलम्ब्याऊँ भन्ने सोचेर हामीले कुनै पनि राजनीतिक दलको तर्फबाट बोल्न नलगाई बरु उपभोक्ताहरूले हालसम्म भोगेको  पीडा बोल्न लगायौँ । उहाँहरूले आँखाबाट आँशु झारेको दृश्यले अतिथिहरू भावुक हुनुभएको थियो ।

आफू बोल्न नपाएको असन्तुष्टि सभापति उपाध्यायले त्यहीँ व्यक्त गरेको सुइँको मैले पाइसकेको थिएँ । उहाँले छोरा देवेन्द्र गौतमलाई लगाएर उक्त तस्बिर भाइरल बनाउनु भएको हो । हामीले त समाजको वास्तविकता जे छ, त्यही पस्किने हो । घर घरमा पाइपमा पानी पुगे पनि धारा बनाउन नसकिएको सत्य हो । हामी देखावटी तामझाम चाहँदैनौँ । चाहेको भए एउटा गतिलो पक्की धारा बनाएर उद्घाटन गराउन सक्ने थियौं ।

जनताको घरघरमा पक्की धारा दिन सकिएको छैन तर काङ्ग्रेस सभापतिले माथि पक्की ट्याङ्कीमा उद्घाटन गराउन भनेको कुरा हामीले न चाहेकै हो, रियालिटी दिन खोजेकै हौँ । हामीले कार्यक्रमको खाजा खर्चसमेत कम गरेका छौं ।

खीर पकाउने भनेर दूध मगाएका थियौँ । त्यो दूध फाटेपछि खीर पकाउन सकेनौँ । पछि मेयर र सांसदलगायतका अतिथिहरूले चिउरा खाएर जानु भएको हो । समाजको यर्थाथ लुकाएर तामझाम गर्ने विषयलाई सारा काँग्रेसजन र हामी सबैले सिक्नुपर्छ ।

यो पनि पढ्नुहोस्

खेलकुद मन्त्रीको भाइरल फोटोको यो हो खास कथा

शशीधर उपाध्याय, काँग्रेस सभापति

यो कुरा लेखिदिनुस् कि यहाँ एमालेहरूले हरेक कुरामा एकलौटी गरेका छन् । कसैका पनि घरमा धारा छैनन् तर उनीहरूले घर घरमा धारा भनेर प्रचार गरेको हामीलाई चित्त बुझेको छैन । हामीले २०४८ सालदेखि लुथ्रन सेवा समाजबाट खानेपानीको काम सुरु गरेका हौँ । साविकको गाविसदेखि रकम छुट्याउँदै आएका हौं ।

 अहिले वडामा नगरपालिकाले ४ लाख ३५ हजार रकम छुट्यायो । त्यसबाट यति काम भएको तर उनीहरूले सम्पन्न नहुँदै सम्पन्न भयो भनेर गलत प्रचार गरे । जनताले पाँच पाँच हजारका दरले रकम हालेका हुन् । रातामाटा कालिमाटी मोटरबाटोमा ७० लाखको टेन्डर गरिएको हो । काम राम्रो भएको छैन । अर्को मोटरबाटोमा ९ लाखको टेन्डर ठेकेदार कुमार खड्कालाई परेको हो । ढुङ्गा ओसारपोसार हुँदै छ । कतै पनि काम राम्रो भएकै छैन । त्यसैले होला मेरा छोराले त्यो फोटो भाइरल बनायो ।

जनकराज पौड्याल, मेयर

तस्बिर भाइरल बनाउने र गलत प्रचार गर्ने काम भयो ।

मलाई यसप्रति अनौठो लागेको छ । त्यहाँका १ सय ६ घरधुरीमा पानी त पुग्यो तर धारा बनाउन त्यो रकमले नपुगेको रियालिटी दिन हामीले खोजेका हौं ।  समाजको वास्तविकता लुकाउने राजनीतिक दलका मान्छे हामी परेनाँै । विकट गाउँ हो त्यो । त्यहाँ पानीको हाहकार र मोटरबाटोको समस्यदेखि हरेक कुरामा हामी चिन्तित छौँ । गत आर्थिक वर्षमा छुट्याइएको रकम र मापदण्ड अनुरूपको काम सम्पन्न भएकै हो ।  जे छ, त्यही उद्घाटन गरिएको हो । आगमी वर्ष त्यहाँ के गर्नुपर्ने हो, सोच्ने कुरा छ,  कोही अत्तालिनु पर्दैन । विकास अब क्रमिक रूपले गरेरै छाड्छौँ ।

इन्द्रलाल सापाकोटा, बागलुङ प्रदेश ४

काँग्रेस सभापतिले माथि पक्की ट्याङ्कीमा उद्घाटन गरौं भन्दै हुनुहुन्थ्यो । आयोजकहरूले रियालिटी दिन खोजेर कार्यक्रम स्थलमा टाँगिएको चारवटा बाँसका खम्बमध्ये एउटामा बिछ्याइएको पाइपमा उद्घाटन प्रयोजनको लागि मात्र धारा फिट गरेर उद्घाटन गरिएको हो । समाजको त्यो रियालिटी हामीलाई पनि ठीक लाग्यो । देशको विकासक्रम नै त्यस्तै छ भने किन लुकाउने ? किन जनतालाई ढाँट्ने ?  त्यस्तो काम त ढँटुवा राजनीतिक दलले मात्र गर्ने गर्छन् । हामी गर्दैनौँ । हेलिकोप्टरमा चढेर उद्घाटन गरे भन्न लाज लाग्दैन ? मयेर सावको गाडीमा हामी कोचाकोच भएर  गएका थियौं । गाडीबाट ओर्लेको देख्नै उनीहरू नै हुन् । 
 तर जे प्रचार गरियो, त्यसबाट के बुझ्न सकिन्छ भने कोही कोही निकै अत्तालिँदै छन् । अत्तालिनु पर्दैन । सबै मिलेर जनताको सेवा गरौँ । आफू सत्तामा छँदा के गरेँ ? भनेर समीक्षा गरियो भने बल्ल सकरात्मक सोचको विकास होला । हामी त्यही अपेक्षा र शुभेच्छा व्यक्त गर्छाैं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप