मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अभिराम शर्माहरु छुट्दा रेशम चौधरी किन नछुट्ने ?

बिहीबार, ०७ भदौ २०७५, १२ : २१
बिहीबार, ०७ भदौ २०७५

–    मन्जु थापा 

केही वर्षदेखि नेपाली राजनीतिक वृत्तमा चर्चामा रहेका पात्र हुन्– रेशम चौधरी । 

टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिविम्बलाई मिडियाहरूले निकै उछाले । पुरानो नेपाल कहिने अर्थात् राजधानी काठमाडौँमा कहिले काहीँ कसैले नदेखेको तर चर्चित कुथुंकि बुख्याँचाको खुबै लोक चर्चा हुने गर्दछ । 

त्यसैगरी रेशम चौधरी नामका पात्र पनि विगत तीन वर्षदेखि उसैगरी चर्चित छन् । उनी कसैका लागि देवतुल्य छन् त कसैका लागि राक्षसी आवरणले लाखे । कतिले उनलाई चिनेका छन् त कतिले उनको सायासमेत नदेखि उछितो काढ्ने पङ्क्तिको दौडमा सामेल छन् । छाप्ने पत्रपत्रिका, अनलाइन मिडिया, टेलिभिजन लगायत स्वार्थले लिप्सिएका राजनेताहरू उनकाविरुद्धमा छन् भने धरातलीय टीकापुरको सिङ्गो जनता उनको पक्षमा छन् । लोकतन्त्रले जनमतको वकालत गर्छ तर उनलाई त्यही टीकापुरका जनताले दिएको ३४,३४१ को विशाल मतलाई यहीँका लोकतान्त्रिक श्रीपेंचधारी राजनेताहरूले उपेक्षा गरिरहेका छन् । संविधान कानुन निर्माणको आधार जनमतलाई मान्ने नेपाली राजनीतिक वृत्तले जनमतबाटै सांसदको उपहार पाएको रेशम चौधरीलाई डिल्लीबजार सदरखोरमा लगेर थुनिदिएको छ ।

उनलाई सात जना सुरक्षाकर्मी र एक बालकको हत्याको आरोपसिहत डाका, चोरी मुद्दा लगाइएको छ । नेपाल टेलिकमको प्रमाणित कल डिटेलले भन्छ –घटना भइरहँदा उनी बर्दिया जिल्लामा थिए तर पनि उनलाई घटनामा प्रत्यक्ष संलग्न भएको भन्दै झुठो आरोप लगाइन्छ । रेशमको घर जल्छ, व्यवसायका एफएम, होटल, सवारी साधनमा दनदन्ती आगो लगाइन्छ । देशका तिनै निकायका सुरक्षाकर्मी सेना, सशस्त्र र जनपद मुकदर्शकझैँ बन्छन् । रेशम चौधरीको घर आगोको लप्काले ह्वारह्वार्ती बलिरहेको भिडियो, तस्बिर मिडियामा आए । “टीकापुरमा थारूहरूले आगो लगाए”, भन्दै अतिरन्जित तरिकाले छापिन्छ, प्रसारण हुन्छ । थारुहरू जिउ जोगाउन खेत खेतमा लुक्छन्, भारत निर्वासित हुन्छन् । कति अनाहकमा पिटाई खान्छन् । तर पनि मुलुकका जिम्मेवार राजनीतिक दल, नेताहरू अवोध बालक अभिमन्युलाइ घेरेर मारेझैँ टीकापुरको थारुहरूको हविगतमा थप्पडी बजाइरहन्छन् । उनी खस्केको भत्केको हेर्न चाहने स्थानीय स्वार्थीको झुण्डले चैतको पतिङ्गरझैँ भेट्टाउँछन् र आगो सल्काउँछन् । त्यही आगोको लप्कामा टीकापुर जल्छ र खरानी हुन्छ ।

तर पनि परदेशको माटोमा टेकेर भएर पनि रेशम चौधरीले जनमतीय विजयको टीका लगाई छोडे । प्रवासमा बसेर आफ्ना सबै विपक्षीको मत जोड्दासमेत रेशम चौधरीको मतको आधा समेत हुन सकेन । “आफूले जिते जनमत र अरूले जिते झेली” भयो भने । टीकापुरमा काँग्रेस, नेकपाका सांसदहरूले जितेको भए वाहवाही हुन्थ्यो तर रेशम चौधरीको जितमा प्रमाणपत्रसमेत दिन नसक्ने सरकार कसरी निष्पक्ष र जनपक्षीय हुनसक्छ ? टीकापुरका जनता भन्छन्– रेशम निर्दोष छन् । देशका बुद्धिजीवीले आँकलन गर्छन्– रेशम निर्दोष थिए र त यत्रो जनमत पाए । 

को हुन् रेशम चौधरी ?
रेशम चौधरीको हिजो आफ्नै परिचय थियो । रेडियो र टेलिभिजनका लागि कुशल प्रस्तोता र खेलाडी पनि हुन् । कवि, साहित्यकार, फिल्म, निर्देशक मात्रैले पनि उनको परिचय पुग्दैन । उनी पछिल्लो समयका उदाउँदो पर्यटन व्यावसायी पनि थिए । देशमा लोकतन्त्रले जरा मजबुत बनाउने क्रममा पहिचानको आन्दोलनले उग्ररूप लियो । तर के रेशम चौधरी मात्रै पहिचानको अभियन्ता हुन् ? जनयुद्धमा सत्र हजार शाहदातको टीका लगाउने माओवादीले पहिचानको पुल टेकेर आजको अवस्थासम्म आइपुग्यो । त्यसभन्दा अगाडि काँगे्रस एमालेका पनि आआफ्नै जाति र सङ्गठनहरू थिए । मधेस एक प्रदेशको नारा त सर्वविदितै छ । सबैभन्दा दुःख लाग्दो क्षण त तब भयो जब पत्रकारितामै करिब दुई दशक बिताएका रेशम आफै पत्रकारहरूको भुङ्ग्रोमा जलेर गम्भीर घाइते भए । उनलाई यही अवस्थामा जेलमा लगेर थुनियो ।

रेशम चौधरीले दुई दशक पत्रकारिता गरे । देशभक्ति र पहिचानको आन्दोलनमै खर्चिए । उनले कमैया, कमलरी आन्दोलनमा प्रत्यक्ष सशक्त भूमिका मात्रै निर्वाह गरेनन् कि स्वयम् कमैया नामको फिल्मसमेत बनाए । उनको पछिल्लो अवस्था थारु ग्रन्थको शोधमा बितिरहेको थियो । उनी नेपाली सांस्कृतिक, प्राज्ञिक, धार्मिक, राजनीतिक बहावमा आफ्नो मौलिक पहिचानसमेत समावेश होस् भन्ने चाहन्थे । नेपाल राज्यको हरेक निकायमा नेपालीलाई नै समावेश गराउनुपर्छ भन्नु के उनको अपराध हो ? “भौगोलिक, सांस्कृतिक पहिचानसहितको सङ्घीयता”को बहस चलाउनेलाई जातीय आन्दोलनको नायक भन्न मिल्छ ? थारुको लिपि पनि पाठ्यक्रममा समावेश होस, थारुहरू राज्यको न्यायिक, प्रशासनिक सेवामा समावेश हुन पाउन भन्नु के गम्भीर अपराध हो ? अपराधीहरू त तिनै हुन जसले धमिलो खोलामा माछा मार्ने चेष्टा गर्दैछन् । लोकतन्त्रको महिमा नबुझेर जातीय आन्दोलनको उपमा दिँदैछन् । ३४,३४१ जनता भेडा होइनन्, जसले रेशम चौधरीलाई मत दिए । यो टीकापुरका जनताको जनमतको कदर गर सरकार । लोकतन्त्रमा जनमतको कदर हुनै पर्छ । 
 

कहाँ गए मधेसी नेता ?
रेशमले राजपा नेपालको तर्फबाट कैलाली क्षेत्र नं. १ टीकापुरबाट चुनाव लडे । कैलालीबाट राजपाले सङ्घीय सभा र प्रदेश सभा गरी २ सिटमा चुनाव जित्यो । रेशमकै कारण भारी मत प्राप्त राजपा राष्ट्रिय पार्टी समेत बन्यो । अहिले पनि रेशमको पक्षमा राजपाका नेताहरू लागेको जस्तो त देखिन्छन् तर मधेस आन्दोलनको अभियोगी राज्यमन्त्री अभिराम शर्माहरू छुटी सक्दासमेत रेशम जेलमा छन् । यसले  सशङ्कित तुल्याएको छ ।

सोही अभियोगका अभियोगी मधेसी नेताहरू छुट्नु तर थारु आन्दोलनका अभियन्ता रेशम चौधरी नछुट्नु, यसले शङ्काको वृत्त त लिने नै भयो । अहिले बुझ्दै जाँदा हामी जस्ता हजारौँ युवा रेशम चौधरी निर्दोष छन् तर घानमा पारिएका छन् भनेर ठम्याउन  कठिन भएन । हुन त राजपाका नेताहरूको कानमा कसैले फुस्फुस्याइ दिएको होला– रेशमलाई थुनेर राखे राजपा बलियो हुन्छ । तर कहिलेकाहीँ सानो घाउले क्यान्सरको रूप लिन्छ भन्ने पनि थाहा पाउनुपर्छ । अहिले राजपा मधेसीको मात्रै दल रहेछ, थारू त सतरञ्जका प्यादा मात्रै हुन् कि भन्ने विश्लेषण पनि गर्न थालिएको छ । रेशम जेलमा छन् तर सबै पहिचानवादीको मनमनमा छन् । राजपाले रेशमलाई न्याय दिलाउन नसके पतन निश्चित छ । कसैले भन्नै पर्दैन, तथ्य र कारणको संयोजन नै प्रमाणित हो । रेशम देशकै प्रतिभाका खानी हुन्, अकवरी सुनलाई कसी लगाई राख्नु पर्दैन । 

रेशम चौधरी पहिचान खोज्नेका लागि आशाका दियो हुन् । उनलाई भौतिक रूपमा थुनेर, थुन्न लगाएर केही हुनेवाला छैन । झुठो त बुद्धलाई पनि बनाए, जिजसलाई क्रसमा टाँगियो, राम वनबास गए तर ती सब अजर छन्, अमर छन् । रेशम जहाँ छन् हाम्रा मनमनमा छन् । 
(यो लेखकको निजी विचार हो ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप