प्राज्ञ श्रवण मुकारुङको जीवन : श्रीमतीको काखमै मर्न पाऊँ
‘नेपाल असमानता र विभेद धेरै भएको देश हो,’ प्राज्ञ श्रवण मुकारुङको चाहना छ, ‘त्यो हटोस् । समतामूलक, सामाजिक न्यायमा आधारित, समावेशी सुन्दर र सुसंस्कृत देश बनोस् ।’ पूरा नहुने सपना देख्नुको अर्थ छैन । तर, लोभ गरिन्छ । उनी पनि अछुतो छैनन् । सबैभन्दा राम्रोमध्ये पनि राम्रो कवि हुन पाए हुन्थ्यो भन्ने लोभ गर्ने प्राज्ञ श्रवण मुकारुङसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
बंगुरको मासु र खाना असाध्यै मन पर्छ । विशेषतः भान्छामा सामान्यतः दालभात तरकारी नै पाक्छ । दैनिकजसो खाना र ब्रोइलर कुखुराको मासुचाहिँ खान नपरे हुन्थ्योजस्तो लाग्छ । तर, मेरो तहको जीवनशैलीमा खानेकुरा छानेर खाने सम्भावना हुँदैन । कामविशेषबाहेक खानकै लागि परिवारसहित रेष्टुरेन्ट पुगेको छैन । पाककलाबारे धेर–थोर ज्ञान छ । श्रीमतीजीले पकाएको त्यही खानेकुरा मैले पकाउँदा फरक स्वादको हुन्छ भनेर खानेले प्रतिक्रिया दिने गरेका छन् । म मसला र तेल अत्यन्तै कम प्रयोग गर्छु ।
मेरो पोसाक
कपडा जस्तो भए पनि शरीरमा ‘फिट’ हुनुपर्छ । पाइन्ट सिलाएको मन पर्छ । सर्ट जस्तो भए पनि हुन्छ । कपडामा कमै खर्च हुन्छ । उपहारस्वरूप कपडा आइरहन्छ । कपडा किन्नैपर्दा मैलो नदेखिने रङ रोजाइमा पर्छन् । कपडाको ब्रान्डबारे त्यति जानकार छुइनँ । मजस्तो निम्नमध्यम वर्गको ‘च्वाइस’ हुँदैन । छानेर लगाउँ भन्ने हैसियत हुँदैन ।
मेरो फिटनेस
कहिलेकाहीं ‘मर्निङवाक’ निस्कन्छु । एकताका टेलिभिजनमा हेरेर रामदेवको योगा गर्थें । म बसेको छेउमा डाँडा छ । डाँडा चढ्न सिँढी बनाइएको छ । त्यही सिँढी चढ्ने, ओर्लने गर्छु ।
मेरो अध्ययन
हिजोआज सिनेमाको ‘स्क्रीप्ट’सम्बन्धी किताब पढिरहेको छु । जुनसुकै विषयको भए पनि चर्चामा आएको किताब पढ्न जाँगर चल्छ । खलिल जिब्रान, वर्स वर्थ, टीएस इलियट, एज्रा पाउन्ड, रवीन्द्रनाथ टेगोर, केदारनाथ, बीपी कोइराला, पारिजात, इन्द्रबहादुर राई र वैरागी काइँला मन पर्छन् । आठ सय पेजको ‘मितिनी’ नामक रेडियो नाटक प्रकाशन तयारीमा छ । त्यसबाहेक कविता, गीत लेखिरहेकै छु ।
मेरो संकलनमा रहेकामध्ये एक ट्रक किताब सुनसरीको चतरामा सञ्चालित पुस्तकालयलाई दिएको थिएँ । आधा ट्रकजति सुदूरपश्चिमका कवि मोतीराज बमले पुस्तालयकै लागि लगे । आधा ट्रकजति खाली सिसी र कागजवालालाई बेचिदिएँ । काठमाडौंमा मेरो घर छैन । डेराको बसाइले किताब राख्ने ठाउँ भएन । मसँग अहिले छानिएका तीन सयजति किताब होलान् । असाध्यै थोरै किताब किन्ने लेखकमा पर्छु । प्रायः साथीहरूको किताब मागेर पढ्छु । पुस्तकालयबाट घर लगेर पनि पढ्छु ।
मेरो घुमफिर
रुचि भए पनि घुमफिर गर्न त्यति सजिलो छैन । तर पनि घुम्ने अवसर पाएको छु । काव्ययात्राले घुम्ने अवसर पाएको हुँ । नेपालका ६५ जिल्ला टेकेको छु । सात देश घुमेको छु । घुमेकामध्ये चीनको ग्वाङझाउ प्रोभिन्स असाध्यै मन पर्यो । नेपालमा म्याग्दीको पुनहिल मन पर्यो । जीवनमा एकपटक जापानको दुर्गम गाउँबस्ती घुम्ने रहर छ ।
मेरो फुर्सद
फुर्सद त्यति हुँदैन । मानसिक चिन्तनका हिसाबले, रचनात्मक, सिर्जनशीलताका लागि व्यस्त हुने ठाउँमा छु । धेरै काममा हात हाल्ने बानीले पनि बेफुर्सदिलो भएको हुँ । कविता, गीत, नाटक लेख्ने मैले नै अलि–अलि राजनीति पनि गर्नुपर्नेछ ।
म जुन ठाउँबाट काठमाडौं आएँ, त्यो पुस्ता नचाहेर पनि व्यस्त हुनुपर्ने अवस्थामा देख्छु । मसँग गाउँका मानिसले आस गर्छन् । उनीहरूले जागिर खोज्दे, विदेश पठाइदेऊ, क्याम्पस भर्ना गर्दे, एक–दुई छाक भात खान दे, केही समय आफ्नै कोठामा राख्दे, सामाजिक आन्दोलनमा अनुहार देखासम्मको भूमिका निर्वाह गर्नुपर्छ ।
मजस्तो जीवनशैली बाँच्ने त फुर्सदिला हुन्छन् भन्ने हुँदैहुँदैन । जति नै व्यस्त भए पनि मोबाइल ‘अफ’ गरेर आराम गर्ने बानी छैन । गम्भीर ढंगको रचना गर्नुपर्यो भने एकान्त खोजी गर्नु मानवीय स्वभाव हो । परिवारलाई सबैभन्दा धेरै समय दिने कविमध्ये म पनि पर्छु होला ।
मेरो खेलकुद
टीभीमा बक्सिङ, किक बक्सिङ हेर्छु । रेस्लिङचाहिँ खेल होइन कि जस्तो लाग्छ । सायद नियम नबुझेर पनि हुन सक्छ । माध्यमिक तहसम्म पढ्दा हाइजम्प, लङजम्प राम्रै खेल्थें ।
मेरो मोबाइल
सामसुङको मोबाइल सेट प्रयोग गरेको छु । यसको २०–२५ हजार रुपैयाँ परेको थियो । काम लागुन्जेल मोबाइल बोक्ने बानी छ । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर प्रयोग गर्छु ।
मेरो टेलिभिजन
टेलिभिजनमा समाचार र खेलकुद प्राथमिकतासाथ हेर्छु । कतिपय अवस्थामा फिल्म पनि हेर्छु । राति आठ बजेपछि टीभी हेर्ने साइत जुर्छ । कोठामा भएको टीभीको ब्रान्ड थाहा नभए पनि आकार ३२ इन्चको छ ।
मेरो चलचित्र
पछिल्लापटक हेरेको चलचित्रको नाम बिर्सें । टीभी, भिसिडीमा पनि चलचित्र हेर्ने गरेको छु । हेरेकामध्ये ‘द पोस्ट म्यान इन द माउन्टेन’, ‘बिल्लु बारबर’ असाध्यै मन पर्यो । नसुरिद्दीन साह, सौगात मल्ल र लियोनार्दोको अभिनय जीवन्त लाग्छ ।
मेरो स्वास्थ्य
रक्तचाप र ग्यास्ट्रिकले समातेको छ । नशासम्बन्धी समस्या छ । स्वास्थ्यका दृष्टिले धमिरा लागेको रूखजस्तै भएको छु । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन ।
मेरो भाषणशैली
कला, साहित्य र संगीतसम्बन्धी भाषण राम्रै गर्छन् भनिन्छ । राजनीतिक भाषणचाहिँ प्रभावकारी छैन । भाषण गर्दा ‘चाइने’ भन्ने थेगो प्रयोग गर्दोरहेछु । मैले गर्ने भाषण बौद्धिक र तार्किक हुन्छ । भाषण गरेकै आधारमा विवादमा तानिएको छु । कविताको भाषामा बोल्दा मैले प्रत्येक कविको आफ्नै भाषा हुन्छ, त्यो भाषा सधैं सबैलाई प्रिय लाग्दैन । जस्तो भानुभक्तकालको खायाँ, गयाँ भाषा त्यतिबेला उत्कृष्ट मानिन्थ्यो । हिजोआज त्यही भाषा कमजोर ठानिन्छ । तसर्थ, कविताको भाषाशैली पुरानो हुनुहुँदैन । भूपी शेरचनको शैलीमा अहिले कविता लेख्दा पुरानो मानिन्छ । त्यही भनाइलाई आधार मान्दै एक पत्रकारले ‘भूपी शेरचनको कविता मनोज गजुरेलको ठट्टाजस्तो लाग्छ’ भनेर ट्वीस्ट गर्दै समाचार लेखिदिए ।
मैले कुनै–कुनै कविता भनेर प्रस्ट संकेत गर्दासमेत पत्रकारले ट्वीस्ट गरिदिएपछि जबरजस्ती विवादमा तानिएको थिएँ । मैले न भूपी शेरचन न त मनोज गजुरेललाई होच्याउन खोजेको हुँ ।
मेरो मापसे
स्वास्थ्यलाई दृष्टिगत गर्दै मादक पदार्थ कमै खान्छु । मादक पदार्थ खानु भनेको मात्नलाई हो । तसर्थ, खाँदा मात्नेगरी खाने बानी छ ।
मेरो संगीत
गीत–संगीत सुन्छु । प्रायः सबैको गीत मन पर्छ । भारतको सुफी संगीत, नारायणगोपाल, शान्ति ठटाललगायत मन पर्छन् । म गुनगुनाउँछु पनि । ‘मेरै दुःखी मन’ शीर्षाकृत गीत गुनगुनाउँछु । गीत गाउन आउँछ । म राम्रो गायक हुँ । गायनमा आधारभूत ज्ञान छ । गीत लेख्नेमात्रै होइन, संगीतसमेत भर्छु ।
मेरो भूल
जीवनमा यहाँसम्म आइपुग्दा पश्चाताप लाग्नेगरी गल्ती गरेंजस्तो लाग्दैन । सानातिना गल्तीचाहिँ गरेकै थिएँ । म चार वर्षको थिएँ । त्यतिबेला अन्जानमा आफ्नो घर आफैंले जलाएँ । उदयपुरको सिरुवानीमा झोडा फाँड्न झरेका थियौं । स्याउला बारेर अस्थायी घर बनाइएको थियो । बत्तीको उज्यालो सानो हुन्छ । त्योभन्दा ठूलो उज्यालो हेर्ने रहर भयो । मैले अस्थायी घर बारेको स्याउलामा बलिरहेको बत्ती पुर्याएँ । नभन्दै अस्थायी घर जलेर खरानी भयो ।
मेरो घर
काठमाडौंमा डेराको बसाइ छ । पुख्र्यौली घर भोजपुरमै छ । त्यो घर संवत् १९९० सालअघि जिजुबाजे परशुराम राईले बनाएका हुन् । त्यो घर भक्तपुरका कालीगढले बनाएका थिए । घरको झ्याल र ढोका ५२ वटा छन् । ५२ झ्याल ढोका राखेकाले मुद्दा परेको घर हो । त्यो घरमा कोही बस्दैनन् ।
मेरो राशी
मेरो राशी तुला हो । ग्रहदशामा विश्वास गर्दिनँ । तर, जब–जब आर्थिक अभाव हुन्छ, तब–तब श्रीमतीले माता र ज्योतिषीकहाँ पुग्छिन् । उनीहरूले राम्रै छ भन्दिँदारहेछन् ।
मेरो सौन्दर्य
कपालमा जेल, तेल केही लगाउँदिनँ । अनुहारमा क्रिम लगाउने बानी छैन । उपहारस्वरूप पाएपछि केही समय ‘पफ्र्युम युज’ गरें । साउना बाथ, स्टीम, बडिमसाज केही लिएको छैन ।
मेरो प्रेम
हामीले प्रमेविवाह गरेका हौं । मैले नै प्रेमप्रस्ताव राखेको थिएँ । प्रेमप्रस्ताव राखेको वर्ष दिनपछि ‘एसेप्ट’ भयो ।
मेरो सपना
पूरा नहुने सपना देख्नुको अर्थ छैन । नेपाल असमानता र विभेद धेरै भएको देश हो । त्यो हटोस् । समतामूलक, सामाजिक न्यायमा आधारित, समावेशी सुन्दर र सुसंस्कृत देश होस् भन्ने सोचेको छु । मानिस भएपछि लोभ भइहाल्दोरहेछ । म पनि अछुतो छैन । सबैभन्दा राम्रोमध्ये पनि राम्रो कवि हुन पाए हुन्थ्यो भन्ने लोभ छ ।
मेरो मृत्यु
मृत्यु अवश्यम्भावी हो । जन्मसँगै मृत्यु लिएर आएका हुन्छौं । तर, मृत्यु अप्रिय घटना हो । मानिस हो, मृत्युदेखि डर लागिहाल्छ नि । हामीजस्ता स्रष्टा मृत्युदेखि डराएरै लेखेका हौं । मृत्युपछि बाँचौं भनेर लेख्ने गर्छौं ।
तर पनि, मर्नु त छँदै छ । मेरी श्रीमती स्वस्थ रहून् । उनको काखमा मर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
यो जीवनकथा पनि पढ्नुहोस्
सांसद डा. मीनेन्द्र रिजालको जीवन : कम्युनिस्ट शासित देश घुम्ने असाध्यै रहर |
हास्यकलाकार मनोज गजुरेलको जीवन : सातामा एक दिन ‘विद्युतीय व्रत’ !
माले महासचिव सीपी मैनालीको जीवन : नेताचाहिँ अगतिला भयौं