सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीका स्थानीय तहमा कामै नगरी रकम निकालेको काँग्रेसको आरोप

आइतबार, १० भदौ २०७५, १५ : २९
आइतबार, १० भदौ २०७५

बुटवल– प्रदेश–५ का स्थानीय सरकारका गतिविधिप्रति काँंग्रेसले स्थानीयस्तरमा गठन गरेको छायाँ सरकारले निगरानी बढाउन थालेको छ  ।  यो प्रदेशका १२ वटा जिल्लामध्ये गुल्मीका ९३ वटा वडामा छायाँ सरकाले सरकारका काम कारवाहीप्रति निगरानी बढाएको र त्यसक्रममा कतिपय योजनाको कामै नगरी रकम निकासा गरेको पाइएको जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

‘रेसुङ्गा नगरपालिका वडा नम्वर–६ मा बढी कमजोरी गरेको पाईएको छ । मालिका गाउँपालिकासहित अन्य तहको पनि रिर्पोटिङ हुँदैछ’ सचिव पन्थीले बताए । ‘रेसुङ्गा नगरपालिका वडा नम्वर ५ मा केही केही योजनाहरुमा  कामै नगरी रकम निकासा भएको पाइएको उक्त वडाका काँग्रेस सभापति केशव मरासनीले बताए । आर्थिक वर्ष २०७४/०७५ मा विनियोजित ७३ लाख भन्दा बढि रकम मध्ये केही योजनामा दुरुपयोग भएको भन्दै त्यस वडाका छायाँ सरकार प्रमुख दुर्गा मरासीनीसहित काँग्रेसको एक  टोलीले वडाध्यक्ष गनबहादुर गुरुङलाई ज्ञपनपत्रनै बुझाई सकेको छ ।

आफ्नो माग सुनुवाई नभए अख्तियार पुग्ने चेतावानी काँग्रेसले दिएको छ । त्यस वडाको गुरुङ्ग गाउँका लागि सुन्तला, कागती विस्तार कार्यक्रमको एक लाख कामै नगरी रकम निकासी गरेको काँग्रेसको आरोप छ । उनीहरुका अनुसार  ब्यवसायीक पशुपालन पकेट गाउँका लागि छुट्टाएको २ लाख रुपैयाँको पनि काम भएको छैन ।

काँग्रेसले घरेलु उद्योग प्रबद्र्धनका लागि एक लाख छुट्टाईएकोमा पुुर्व एमालेकै कार्यकर्तालाई ५० हजारको मेशिन खरिद गरिदिएर अरु रकम हिनाविना गरेको आरोप लगाएको छ ।  त्यस्तै सहकारी प्रर्वधन कार्यक्रको एक लाख, गर्भवती सुत्केरी पोषण कार्यक्रमको एक लाख, अत्रकाँडा खानदुला  छापा  सिहान खानेपानी योजनाको चार लाख, वडास्तरीय खेलमैदान निर्माणको दुई लाखमा पनि रकम हिनामिना गरेको काँग्रेसको आरोप छ ।

त्यस्तै गुरुङ्ग संस्कृति संरक्षणको एक लाख, वडाका सबै गोरेटाबाटा मर्मतको २ लाख ५० हजार, फुटकर योजनाको ३ लाख ५० हजार, पहिरो नियन्त्रण सामग्री व्यस्थापनको १ लाख समेतमा झारा टार्ने काम गरेर रकम दुरुपयोग गरेको काँग्रेस वडा सभापति मरासीनीको आरोप छ ।  वडाध्यक्ष गुरुङ्गले भने त्यो आरोप झुट भएको जिकिर गर्दै सबैमा काम सम्पन्न भएको दावी गरेका छन् ।

वडाध्यक्ष कै दाजुलाई योजनाका चाङ्ग
काग्रेस सभापति मरासनी वडाध्यक्ष गुरुङ्गका सहोदर दाजु रुमबहादुर गुरुङ्गलाई वडामा विनियोजित विकासे योजनाको चाङ्ग लगाइदिएको बताउँछन् । फुटकर योजना, गोरेटो बाटो मर्मत योजना, समग्र वडा नम्वर ६ को मोटरबाटो मर्मत सहित एउटै व्यक्ति तीन तीन वटा उपभोक्ता समितिमा छन् ।

अर्का पूर्व एमाले कार्यकर्ता नन्दबहादुर पुन पनि तीन चारवटा योजनामा छन् । गुरुङ र पुन कतै अध्यक्ष र कतै सचिव भएर काम गरेका छन् । एउटै व्यक्ति धेरै विकास निर्माणमा रहँदा पारदर्शी नहुने काग्रेसको बुझाई छ ।

मालिकामा पनि काँग्रेस धावा

त्यस्तै मालिका गाउँपालिका काँग्रेस क्षेत्रीय सदस्य एवम् छायाँ सरकार प्रमुख उपेन्द्र अर्यालले वडा नम्वर ४ अर्खबाङ्गमा १६ वटा योजना र वडा नम्र ८, मरभुङ्गमा ७ वटा योजनाको अनुगमन भइरहेको बताए । भुरे योजनाहरु कार्यकर्ता पोषण गर्न बाँडिएको भन्दै केही दिनअघि क्षेत्रीय सभापति भगतसिंह खड्का, नेपाली विद्यार्थी संघका केन्द्रीय सदस्य सुदर्शन खनाल, सिता अर्याल लगायत डेलिगेशनमा पुगेका थिए ।

काँग्रेस कार्यकर्ताहरुको निवेदन समेत बुझ्न आनाकानी गरिएको, सुचनाको हक समेत प्रयोग गर्न नदिई गुमराहमा पारिएको आरोप लगाउँदै सभापति खड्काले गाउँपालिका प्रमुख रितबहादुर थापा सहितका जनप्रतिनिधीहरुसँंग आपत्ति जनाएका थिए ।

जवाफमा पालिका प्रमुख थापाले लगाएका ती आरोपहरु सवै  सत्य नभए पनि  अन्य कतै केहि कम्जोरी भएको भए आगामी दिनमा सच्याउने प्रतिबद्धता समेत जनाएका थिए ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप