नेविसंघको महाधिवेशन कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा गर्ने प्रस्ताव
काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन आगामी कात्तिक १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार सानेपामा आयोजित पार्टीको निर्देशन समितिको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने क्रममा सो प्रस्ताव गरेका हुन् ।
बैठकमा निर्देशन समितिका सदस्य नवीन्द्रराज जोशी र प्रदीप पौडेलको समेत उपस्थिति रहेको थियो ।
केन्द्रीय सदस्य तथा निर्देशन समितिका सदस्य पौडेलले निर्देशन समितिले दिएको निर्देशन अनुसार शनिबार नेविसंघ नेतृत्वले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको बताए ।
कार्यतालिका अनुसार अध्यक्षले महाधिवेशनको उद्घाटन कात्तिक १६ गते शुक्रबार गर्ने प्रस्ताव गरेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले रातोपाटीलाई जानकारी गराए । यस्तै १७ गते बन्दसत्र र १८ गते मतदान गर्दैै नेतृत्वको चयन गरिने प्रस्ताव गरिएको भट्टले जानकारी दिए ।
यसअघि उपत्यका बाहिरका क्याम्पस अधिवेशन असोज ७ गते, गाउँपालिका तथा नगरपालिकाको अधिवेशन असोज १२ गते, प्रदेश क्षेत्रको असोज १५ गते, जिल्ला र विदेशस्थित सम्पर्क समितिको असोज २१ गते, उपत्यका क्याम्पसको असोज २३ गते र प्रदेशको कात्तिक १० गते अधिवेशन सक्ने तय भएको छ ।
यस्तै नेविसंघको केन्द्रीय कार्यसमिति ७८ जना निर्वाचित र २३ जना मनोनित गरी १०१ सदस्सीय रहने पनि प्रस्ताव गरिएको छ । विगतको महाधिवेशनमा उमेर हद लागू गरिएको भएपनि शनिबार अध्यक्षले प्रस्ताव गरेको दस्ताबेजमा उमेर हदबारे उल्लेख गरिएको छैन ।
नेवि संघको दुई वर्षे कार्यकाल भदौ पहिलो साता सकिएपछि पार्टीले संगठनलाई महाधिवेशन गर्ने समय तीन महिनाका लागि थप गरेको थियो ।
दुई वर्षभित्रै नयाँ नेतृत्व चयन गर्नुपर्ने भएपनि नेविसंघभित्रको आपसी विवादले समयमा महाधिवेशन हुन नसकेको बताइन्छ ।
तर, भदौ २ गते नेविसंघभित्रको संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको थियो ।
यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न सहमति दिएको थियो ।
त्यस्तै निर्देशक समितिले १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न निर्देशन पनि दिएको थियो । सोही अनुसार अध्यक्षले शनिबारको बैठकमा संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।
अध्यक्षको संगठनको विधान, नियमावली र अधिवेशनको कार्यतालिका बारे निर्देशन समिति र संगठनले पारित गरेपछि आधिकारिक निर्णय गरेर महाधिवेशनमा होमिने नेविसंघले जनाएको छ ।