सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मनास्लु क्षेत्रमा सयौं पर्यटक समस्यामा, हेलिकप्टर चार्टर गर्न सकस

बुधबार, २७ भदौ २०७५, ०८ : ५२
बुधबार, २७ भदौ २०७५

काठमाडौँ – मनास्लु हिमाल क्षेत्रमा १०० बढी विदेशी पर्वतारोही र उनीहरुका सहायक कर्मचारी समस्यामा परेको छन् । हेलिकप्टरमार्फत हिमाल क्षेत्रमा खाद्य सामाग्रीलगायत आवश्यक सामाग्री आपूर्ति गर्ने जिम्मा लिएका एजेन्सीहरुको वेवास्ताका कारण उनीहरु समस्यामा परेका हुन् ।

हालै सरकारले फेक रेस्कु प्रकरणमा कारबाही प्रक्रिया कडा पारेकाले पनि सो समस्या निम्तिएको बताइएको छ । सेभेन समिट ट्रेकका प्रवन्ध निर्देशक मिङ्मा शेर्पाल हेलिकोप्टर अभावका कारण मनास्लु क्षेत्रमा चार्टरको व्यवस्था मिलाउन नसकिएको बताए । उनले भने, ‘अभियान सञ्चालक अपरेटरहरु हेलिकोप्टर अभावका कारण मनास्लु क्षेत्रमा चार्टरको व्यवस्था मिलाउन सक्दैनन् ।

सय जनाभन्दा धेरै पर्वतारोही र उनीहरुका सहयोगीहरु बिग्रिएको खाना तथा अन्य कुराहरु खान बाध्य छन् ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हेली एभरेष्ट, मनाङ एयर र एयर डायनेस्टीलाई मनास्लु क्षेत्रमा उडान भर्न प्रतिबन्धत लगाएको र अन्य हवाई अपरेटरलाई अनुमतिको लागि एक हप्ता लाग्ने शेर्पाले बताए ।

अलपत्र पर्नेमा धेरैजसो चिनियाँ पर्यटक रहेका छन् । काइतु एक्सपेडिसनका प्रबन्ध निर्देशक निमा नेमग्याल शेर्पा भन्छन्, ‘खाना तथा कपडा लगायतका सामाग्री अभावका कारण चिनियाँ पर्वतारोहीहरु सामागाउँमा बेस क्याम्पमा निकै कष्टकर समय गुजारिरहेका छन् ।’ पहाडी क्षेत्रमा हवाई अनुमतिका लागि काठमाडौँमा लामो र झन्झिटलो प्रक्रिया पूरा गर्नुपर्ने र मौसम पनि कहिलेकाहिँ मात्रै सफा हुने भएकाले समस्या भएको शेर्पाले बताए ।

काठमाडौँ र गोरखाको आरुघाटबाट सामागाउँ, मनास्लु बेस क्याम्प जस्ता क्षेत्रमा आरोहणको लागि बन्दोबस्तीको सामान लैजानको लागि हेलिकप्टर एकमात्र साधन हो । ‘यो वर्ष मनास्लु हिमाल क्षेत्रमा निकै डरलाग्दो अनुभव भयो ,’ अभियानका नेतृत्व गरिरहेका शेर्पाले भने, ‘यदि यस्तै अवस्था रहिरहने हो भने दुई लाख पर्यटक भित्र्याउने पर्यटन वर्ष–२०२० लाई नराम्रो प्रभाव पर्न सक्छ ।’

पायोनिर एडभेन्चर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक पासाङ शेर्पा पनि हेलिकोप्टरको अभावमा आफ्नो कम्पनीले आरोहीहरुलाई खाना सप्लाई गर्न नसकेको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो टीम पहिले नै बेस क्याम्प पुगिसकेको छ तर आरोहण सामाग्री र खानालगायतको सामग्री गोरखाको आरुघाटमा धेरै हप्तादेखि थन्किएको छ ।’

एमसीटीसीएका सचिव कृष्ण देवकोटाले यस विषय आफ्नो प्रतिक्रिया दिन इन्कार गरे । यद्यपि मन्त्रालयका एक वरिष्ठ अधिकारीले तीन वटा हेलिकप्टर कम्पनीलाई सचिवको मौखिक आदेशमा प्रतिबन्धित क्षेत्रमा उडान भर्न रोक लगाइएको जिकिर गरे । उनले भने, ‘मन्त्रालयले जतिसक्दो छिटो यो संकटको निकासको लागि काम गरिरहेको छ ।’ पर्यटन विभागका अनुसार यो सिजनमा २५० भन्दा बढी आरोही र ५०० जना उनीहरुका सहयोगीहरु मनास्लु हिमाल आरोहण गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप