सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्राह्मणबाटै दलित वृद्धवृद्धाको चौरासी पूजा

बुधबार, १० असोज २०७५, १३ : २४
बुधबार, १० असोज २०७५

बुटवल– पछिल्लो समय ब्राह्मण समुदायकै अगुवाइमा जातिय विभेद अन्त्यका उदाहरणीय कार्यहरु हुँदै आएका छन् ।  पछिल्लो समय सार्वजानिक रुपमै  पूजा मण्डपमा राखेर गुल्मीमा पहिलोपटक ब्राह्मणद्धारा दलित वृद्धाहरुको चौरासी पूजा गरिएको कुराले अहिले निकै चर्चा पाएको छ । 

भर्खरै तम्घास माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महायज्ञमा रेसुङ्गा नगरपालिका वडा नम्वर–९ उपल्लो तम्घासकि ८१ वर्षीया ईन्द्रमाया सुनार र सोही उमेर र स्थानकी सिता परियारलाई हजारौंका सामु पण्डितहरुले विधिवत रुपमा चौरासी पूजा गराएको बिषयले चर्चा पाएको हो ।

यस अघिसम्म दलित समुदायका भाञ्जाभाञ्जी वा संस्कृति पढेका दलित समुदायकै पण्डितहरुले चौरासी पुजा गराउने चलन छ । त्यो चलन उपल्लो तम्घासका व्राह्मण समुदायले तोडेर उदाहरणीय काम गरेका छन् । 

सार्वजानिक रुपमा महायज्ञ गर्ने, दलित समुदायलाई नै मण्डपमै राखेर पूजा गर्न–गराउने किन नहुने ? भन्ने सवाल उठाउनेहरुमा बढी मात्रममा ब्राह्मण, क्षेत्री समुदायका व्यक्तिहरुनै अगाडि आएका छन् ।  अर्को उदाहरणीय पक्ष जिल्लामा दलित समुदायले नेतृत्व गरेर सम्पन्न गरेको पहिलो महायज्ञको श्रेय पनि उपल्लो तम्घास माविले लिएको छ ।

सो वडाका वडाध्यक्ष नारायण बराल (सुनार) को नेतृत्वमा महायज्ञ सफलतापूर्वक सम्पन्न भएको हो । उनी महायज्ञ मुल समारोह समितिको संयोजक भएका थिए । महायज्ञ मुल समारोह समितिका सदस्य सचिव थिए प्रधानध्यापक राममणि पन्थी ।  विभेदरहित महयज्ञ बनाउनमा उनको पनि ठूलो भूमिका रह्यो ।

 त्यसो त  गत कृष्ण अष्टमीको दोश्रो दिन बिहान भएको पूजामा गुल्मीको सदरमुकामस्थित तम्घासथान संयुक्त मन्दिर व्यवस्थान समितिले पहिलोपटक सामुहिक प्रसाद  भोजन गरेर उदाहरणीय काम गर्यो । जसको अगुवाई ब्यवस्थान समितिका अध्यक्ष नरप्रसाद श्रेष्ठ, सुरेशचन्द्र भुसाल, नन्दराम भुसाल, कृष्णप्रसाद भण्डारी,राजेन्द्रप्रसाद श्रेष्ठ, अयोध्याप्रसाद श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, कृष्णप्रसाद पोखरेल ,अशोक गैरै लगायतले गरेका थिए ।

सबै जातजातिलाई एउटै बेञ्चमा राखेर गराइएको प्रसाद ग्रहण कार्यक्रम त्यस मन्दिर स्थापनापछिको पहिलो थियो । सोही कार्यक्रममा विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष सुरेशचन्द्र भुसालले दलित समुदायलाई पहिलो टिका आफ्नै हातले लगाई दिएका थिए ।  

यद्यपि, यस अघिनै दुई बर्षअघि रिडीका श्रेष्ठ परिवारले उपल्लो तम्घासका दलित समुदायका वेहुलालाई घरमै जग्गे लगाएर छोरीको कन्यदान गराईदिएका थिए । उनीहरु दुवैको सम्बन्ध अहिले सुखद ढंगले चलिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप