आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा

शुक्रबार, १२ असोज २०७५, १२ : ०४
शुक्रबार, १२ असोज २०७५

काठमाडौँ । ‘रेबिज बारे जनचेतना फैलाऔँ, अमूल्य जीवन बचाऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी रेबिज विरुद्धको दिवस मनाइँदै छ । रेबिजले मानिसमा पार्ने प्रभावका बारेमा जनचेतना अभिवृद्धि गर्न, जोखिममा रहेकाहरूलाई रोकथामका बारेमा सूचना, सल्लाह र सेवा प्रदान गर्न तथा रोग नियन्त्रणका लागि आवश्यक वकालत गर्दै रेबिजविरुद्धको दिवस मनाइँदैछ ।

विश्वमा हरेक वर्ष रेबिजले ५९ हजार व्यक्तिको ज्यान लिने गरेको छ । जसमा आधाजति १५ वर्षमुनिका बालबालिका पर्छन् । विश्वभरीमा हुने रेबिजको ९५ प्रतिशत समस्या एसिया र अफ्रिकामा मात्रै हुने गरेका छ । 

रेबिजमा नेपालको अवस्था 

विशेषगरी नेपालको तराई र पहाडी क्षेत्रमा रेबिजको  समस्या बढी देखिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोथ नियन्त्रण महाशाखाका अनुसार नेपालको आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा रहेका छन् । यस्तै एक चौथाइ मध्ययम जोखिममा रहेको जनाएको छ ।  महाशाखाको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो । यस्तै २ हजार २ सय २ जनालाई अन्य जनावरले टोकेको थियो । 

२८ हजार ५ सय १४ जनालाई रेबिज लाग्नसक्ने अशङ्का गरिए पनि २ लाख ८१ हजार ७ सय १८ भायल रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य सेवा विभाग जनाएको छ । 

कसरी लाग्छ  रेबिज ?

रेबिज लाइसा नामक स्नायुमा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा हुने रोग हो । यो भाइरसबाट सङ्क्रमित जनावरको र्यालबाट घाउको बटो हुँदै शरीरभित्र छिरेर नसाको माध्यमले मस्तिष्कसम्म पुग्दछ । यो भाइरस शरीरमा प्रवेश गरेपछि सुरुमा ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झमझमाउने, घोचे, पोले जस्तो हुने र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा नसाहरू सुनिन्ने हुन्छ । यो रोगबाट प्रभावित व्यक्तिका क्रियाकलाप र व्यवहार अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आई मूत्यु हुन्छ ।

रोकथाम 

रेबिज रोग लागेपछि उपचारको कुनै पनि विकल्प छैन । रेबिज लागेपछि मानिसको मृत्यु निश्चित छ ।  सावधानी अपनाइयो भने यसलाई शतप्रतिशत रोकथाम गर्न सकिन्छ । 

–रोकथामको उत्तम उपाय भनेको जनावरबाट रेबिज भाइरस मानिसमा आउन नदिनु नै हो । त्यसका लागि पाल्तु जनावरलाई व्यवस्थित तरिकाले पाल्ने तथा जङ्गली जनावरहरूको सम्पर्कमा आउन नदिने नै हो । 

–घरपालुवा कुकुरलाई पशु चिकित्सकको सल्लाहअनुसार समय समयमा खोप लगाउने र यसको रेकर्ड अद्यावधिक गरी राख्ने । अन्य कुकुरहरूको समेत समुचित खोप लगाउने तथा व्यवस्थापन गर्ने । 

–समयमै रेबिज भएको शङ्कास्पद कुकुर वा अन्य जनावरहरूको टोकाइपछि टोकेको स्थानलाई १५ मिनेटभित्रमा साबुनपानी, डिटोल, पोभिडिन, आयोडिन जस्ता भाइरस मार्ने चीजले राम्ररी सफा गर्ने र नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाहअनुसार रेबिजविरुद्धको खोप लागउने । यो खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको छ ।

–रेबिजबाट हुने मानव मृत्युलाई शून्य बनाउने र रेबिज रोगलाई सन् २०३० सम्म निवारण गर्ने विश्वव्यापी लक्ष्य प्राप्तिका लागि यस रोगको खोप र उपचारको उपलब्धता सुनिश्चित गर्न  नेपाल सरकारले नागरिकलाई आग्रह गरेको छ ।

चिकित्सक भन्छन् रेबिजविरुद्धको औषधि अनिवार्य 

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डाक्टर शेरबहादुर पुन रेबिजका बिरामीसँगको यस्तो अनुभव सुनाउँछन्, ‘कुनै पनि जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्छ भन्ने थाहा छ कि छैन भनेर रेबिजका सबै बिरामीलाई प्रश्न गर्दा धेरैले थाहा भएको बताए । घरपालुवा कुकुरले टोकेको कारण रोग लाग्दैन भनेर सुई नलगाएको बिरामीले बताउने गरेको छन् ।’, पुन भन्छन्– जानकार भएर पनि बेवास्ता गर्दा अकालमा ज्यान गुमाउनेको सङ्ख्या धेरै छ । कुनै जनावरले टोकिहाले अनिवार्य रेबिजविरुद्धको सुई लगाउनु पर्छ । 

शुक्रराज ट्रपिकल अस्पताल आउने रेबिजका धेरै बिरामीले मृत्यु हुनु पहिला रेबिजका बारेमा थाहा भए पनि बेवास्ता गरेका कारण यस्तो समस्या भएको पीडा पोख्ने गरेका छन् ।

त्यसैले डाक्टर पुन भन्छन्, ‘रेबिजलाई सामान्य ठान्नु र बेवास्ता गर्नु हुँदैन । रेबिज विरुद्धको भ्याक्सिन अनिवार्य लगाए राम्रो हुन्छ ।’ रेबिजविरुद्धको भाइरस सरकारले निःशुल्क वितरण गर्दै आएको छ । जनवारले टोकेको १० दिनमा कुकुर मर्छ या मर्दैन त्यो समयसम्म अनिवार्य ३ वटा भ्याक्सिन लगाए रेबिज लाग्ने सम्भावना धेरै कम हुन्छ ।  

रेविज रोगका लक्षणहरू 

पहिलो अवस्था

–टोकेको घाउ भएको भाग दुख्ने र चिलाउने ९८ प्रतिशत भन्दा धेरैलाई भने २ देखि ४ दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेसी दुख्ने, घाँटी दुख्ने हुन्छ ।

– बिरामी सानातिना कुरामा पनि उत्तेजित हुने लक्षण देखिन्छ ।

दोस्रो अवस्था

– हल्ला वा ठूलो आवाजवाट तर्सने, चम्किलो, उज्यालो वा हावा सहन नसक्ने । त्यसैले अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने हुन्छ ।

–चिडचिडाहट हुने, रिसाउने, कहिले उत्तेजित भई झम्टने र कहिले चुपचाप शान्त भई बस्ने लक्षण हुन्छ ।

–पानीसँग खेल्न मात्र होइन, पानी हेर्नै डराउने, रोगको पछिल्लो अवस्थामा पानी देख्नासाथ घाँटी तन्काउने लक्षण हुन्छ ।

–श्वास प्रश्वासमा कठिनाइ हुनेहुनाले तिर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।

तेस्रो अवस्था

– र्याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्यु हुन्छ । 

प्रायजसो लक्षणका आधारमा मानिसमा रेबिज रोग निदान गरिन्छ । सङ्क्रमित पशुले टोकेको, त्यस्ता पशुको मृत्यु भएको र सङ्क्रमित पशुले टोकेको अवस्थामा अधुरो वा एन्टी–रेबिजको खोप नलगाएको भएमा रेबिज लागेको शङ्का गर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप