सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मैले ऋषिजीलाई शर्त राखेको छैन– एलिजा गौतम

शुक्रबार, १२ असोज २०७५, १३ : ५२
शुक्रबार, १२ असोज २०७५


काठमाडौँ । अभिनेत्री एलिजा गौतम अहिले चर्चामा छिन् । उनको निर्माण र अभिनय रहेको पहिलो चलचित्र आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनमा आउँदा उनी निकै नै नर्भस भएकी छिन् । उनलाई चलचित्र के होला ? कसो होला ? भन्ने डर छ । ऋषिराज धमलाको ब्यानरमा निर्माण भएको यही चलचित्रमार्फत उनले डेब्यु गरेकी हुन् । सानैदेखिको अभिनय रहरले कलाक्षेत्र रोजेको बताउने उनी चलचित्रको रिजल्ट जेजस्तो भए पनि निरन्तर यसमै रहने बताउँछिन् । आगामी दिनमा दीपकराज गिरीको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने इच्छा रहेको बताउने उनको अभिनय, नृत्य र धर्मकर्मतिर विषेश रुचि रहँदै आएको छ । चलेको पत्रकारकारकी श्रीमती हुँदा चर्चा पाउन सजिलो हुने बताउने एलिजासँग रातोपाटीको दस प्रश्न ।

डेब्यु चलचित्र आजबाट प्रदर्शनमा आएको छ होइन ?
हो । चलचित्र प्रदर्शनमा आएको कारणले एकदमै एक्साइटेड छु । अलिअलि नर्भस पनि । अभिनय करियर सुरु गरेको चलचित्र के हुने हो, कस्तो हुने हो, दर्शकले आफ्नो अभिनयलाई कसरी लिने हुन् भन्ने डर लागेको छ ।

अनुराग तपाईंका कारणले भन्दा पनि पत्रकार ऋषि धमलाको कारणले चर्चामा छ नि ?
चलचित्रको निर्माता ऋषि सर हुन् । यस कारणले पनि उहाँ चर्चामा आउने कुरो त भयो नै । पहिले पहिले पनि ऋषि सरले केही बोल्यो कि चर्चा हुने गथ्र्यो । अहिले चलचित्र निर्माताको कारणले चर्चामा आउनु स्वभाविक हो । 

अनुराग किन हेर्ने ?
म आफै दर्शक भएर हेर्दा चलचित्र राम्रो बनेको छ । हामी निर्माता निर्देशकदेखि कलाकार सबै नयाँ हौँ । तर नयाँ भए पनि चलचित्र मनोरञ्जनात्मक बनेको छ । अर्काे कुरो चलचित्रमार्फत सन्देश पनि दिन खोजिएको छ ।

चलचित्र निर्माण अभिनय सोच कसरी पलायो ?
मेरो सानैदेखि अभिनयतिर रुचि थियो । रेखा थापा, करिस्मा मानन्धरलगायतका कलाकारलाई पर्दामा देख्दा आफूलाई पनि त्यस्तै पर्दामा हेर्ने रहर जाग्यो । ठूलो भएपछि कलाकारितामा नै लाग्छु । अभिनयमा केही गर्छु भन्ने थियो । सानैदेखिको रहर पूरा गर्न अभिनयमा होमिए ।

अहिले चलचित्रको लगानी सुरक्षित हुन नसक्ने अवस्था छ ?
मैले पनि त्यस्तै बुझेकी छु । यो चलचित्रसँग लगानीको पैसा त छँदैछ, त्योभन्दा पनि ठूलो कुरो आफ्नो करियर पनि जोडिएको छ । 
मेरो चलचित्रको लगानी र मेरो करियर अहिले दर्शकको हातमा छ । दर्शक अहिले मेरा लागि भगवान हुन् । चलचित्र उहाँहरूले रुचाउनु हुन्छ भन्ने आस राखेको छु ।

नायिका भएर चलचित्रमा भित्रिन कतिको सहज रहेछ ?
फलामको च्युरा चपाए सरह छ । थुप्रै चुनौती छन् । आफू हिरोइन भएपछि सबैको नजरमा पर्नेगरी गेटअप गरेर हिँड्नु पर्दाे रहेछ । आफूले केही गर्दा, केही बोल्दा सोचेर गर्नुपर्दाे रहेछ । अन्य नायिकाको जस्तो मलाई सजिलो छैन । किनभने मैले घरपरिवारतिर पनि ध्यान दिनुपर्छ ।

ऋषि धमलासँग विवाह गर्दा चलचित्र निर्माणको शर्त थियो भन्ने हल्ला छ नि ?
यो कुरा गलत हो । मैले यस्तो शर्त कहिल्यै पनि राखेको थिइनँ । विवाह अगाडि पनि मेरो चलचित्र अभिनय गर्ने रहर त थियो । 

ऋषि दाइले श्रीमतीको रहर पूरा गर्न चलचित्र बनाए भन्दै आउनुभएको छ, के हो ?
खास चलचित्र मैले बनाएको हो । आफै खेल्ने आफै बनाउने भन्ने कुरो उठ्छ भनेर पनि ऋषि दाइको नाम निर्मातामा राखिएको हो । 

फेसनतिर कतिको रुचि छ ?
मलाई मनपर्ने पहिरन भनेको कुर्थासुरुवाल र सारी हो । यही पहिरनमा म राम्री पनि देखिन्छु । आफू कुन ठाउँमा जाने, केका लागि जाने भन्ने कुराले पनि पहिरनको निर्धारण गर्छ । राम्री तथा सेक्सी सारीमा देखिन्छु । 

पूरा नभएको सपना ?
त्यस्तो केही छैन । सबै पूरा भएको छ । अहिलेको सपना भनेको अभिनयमा राम्रो अभिनेत्री बनेर चिनिने रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप