मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकमा कमल थापाले भने–राणासँग वार्ता गर्छु, हारको जिम्मेवारी पनि लिन्छु

शुक्रबार, ०६ साउन २०७४, १३ : ३६
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले असन्तुष्ट नेता पशुपति शमशेर राणासँग वार्ता गर्ने घोषणा गरेका छन् । तीन दिनदेखि जारी  केन्द्रीय समिति बैठकको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै  थापाले यस्तो बताएका हुन् । 


उनले पार्टीमा कसैलाई पनि काखापाखा नहुने भन्दै पार्टीभित्र कसैले जायज  राख्छ भने त्यसलाई सम्बोधन गर्न आफू तयार रहेको बताए । 


‘धेरै साथीहरुले पशुपति शमशेर राणाको कुरा उठाउनु भयो । उहाँको असन्तुष्टि के हो भेटेर कुरा गर्छु ’, उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सबैको साथ र सहयोग अपरिहार्य छ ।’  उनले  चुनाव चिन्हको विषमया तेस्रो चरणको चुनावपछि उपयुक्त निर्णय लिइने पनि  प्रतिबद्धता जनाए । 


यस्तै संविधान संशोधन हुनुपर्छ भन्ने लाइनमा पार्टी रहेको भन्दै यस विषयमा  कार्यसम्पादन समिति र सांसदहरुको संयुक्त बैठक बसेर थप छलफल गरिने बताए । पार्टीका केहि सांसदहरुले संशोधनको विरोध गर्दै आएको बेला थापाले यस्तो बताएका हुन् । 


 यस्तै सरकारको विषयमा पनि सारुढ दलबाट आएको प्रस्तावको आधारमा कार्यसम्पादन समितिबाट निर्णय हुने थापाले बताए ।  अर्को प्रसंगमा थापाले आफू पार्टीमै सक्रिय हुने भन्दै अहिले नै पार्टीबाट पलायन हुने मनस्थितिमा नरहेको बताएका थिए । दुई साताअघि एक टेलिभिजन अन्तरवार्तामा थापाले आफूमा पलायन हुने झोँक सम्म चल्ने गरेको थापाले बताएपछि केहि सदस्यहरुले  चासो व्यक्त गरेपछि थापाले यस्तो बताएका हुन् । 


अर्को प्रसंगमा थापाले दुई चरणमा भएको स्थानीय तह निर्वाचनमा राप्रपाले बेहोर्नु परेको पराजयको अध्यक्षको नाताले आफूले सबैभन्दा धेरै लिने भन्दै आगामी दिनमा कमीकमजोरीलाई औंल्याएर अघि बढ्न सबै नेताहरुको भूमिका उत्तिकै हुने  बताए । यस्तै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डाको सवालमा पार्टी प्रतिबद्ध रहेको पनि उनले दोहोर्याए । 


बैठकमा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पार्टीमा सबैलाई मिलाएर अघि बढ्न अध्यक्ष थापालाई सुझाव थिए । 


बैठकमा अरु दिनजस्तै  असन्तुष्ट नेता राणालगायतका नेताहरुको भने सहभागिता थिएन ।  राणालगायतका नेताहरुले कमल थापाले पार्टीमा मनपरी गरेको भन्दै अर्को आलोचना गर्दै आएका छन् । 

यस्तो छ राप्रपा बैठकको निर्णय
–चुनाव हारको समिक्षा गर्न धु्रुवबहादुर प्रधानको संयोजकत्वमा एक कार्यदल बनाइयो । कार्यदलले  एक महिनाभित्र पार्टीलाई  प्रतिवेदन बुझाउने । 


–धर्म निरपेक्षताको खारेजीको लागि यसअघि राप्रपाले संसदमा दर्ता गरेको प्रस्ताव प्रक्रियामा लैजान पहल गर्ने । संसदले सक्रिय भूमिका खेल्ने । 


–हिन्दुराष्ट्र र सनातन  धर्मको रक्षाको लागि  धर्म सांस्कृतिक परिषद् गठन गर्ने । 


–सरकारमा जाने नजाने बारे सत्तारुढ दलबाट आउने प्रस्तावको आधारमा कार्यसम्पादन समितिले उपयुक्त निर्णय लिने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप