आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा दुई महिलाको रहस्यमय मृत्यु : हत्याको आशंका

आइतबार, १४ असोज २०७५, १८ : ५७
आइतबार, १४ असोज २०७५

बुटवल– पछिल्ला दिन प्रदेश ५ का दुईवटी महिलाहरुको रहस्यमय रुपमा ज्यान गएको छ । रुपन्देहीमा बुधबार पूरै शरीर जलेको अवस्थामा एक महिला मृत फेला परेकी थिईन् भने गुल्मीमा अर्की महिला झुण्डिएको अबस्थामा मृत फेला परेकी थिईन् । दुबै घटनाको प्रकृति हेर्दा र मृत्यु अघिको पारिवारिक वातावरण बुझ्दा ती दुवै जनाको हत्या भएको मृतकका माईतीजनले आशंका गरेका छन् । 

बुटवल भनिएकी मान्छे घरमै मृत फेला 
असोज ९ गते  गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ६,  हरेवा गाउँकी १६ वर्षीया कविता भनेर बोलाइने पविता परियार सुत्ने कोठामा मृत फेला परेकी थिइन् । अघिल्लो दिन उनका बाबुले ससुरालाई फोन गरेर सोध्दा यहाँ छैन बुहारी बुटवल गएकी छन भन्ने जवाफ दिएको मृतक कविताका दाजु रेशम परियार बताउँछन् ।

उनी ठोकुवा गर्दै भन्छन्– ‘सतप्रतिशत बहिनीको हत्या गरिएको छ । अघिल्लो दिन मेरो बाबाले फोन गरेर छोरीसँग कुराकानी गर्न खोज्दा उनी बुटवल गएकी छन् भनेर ढाँटियो । त्यति मात्र होइन, तिजमा माईत पठाइएन र असोज लागेदेखि ती ससुराले मेरी बहिनीसँग फोनमा कुराकानी गर्नै दिएका थिएनन् । घरै भएकी मान्छेलाई बुटवल गएकी छ भनेर किन  ढाँटियो । केहि दिनअघि उनले कान्छी बुहारीलाई पनि कुटेर चन्द्रकोट प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

उनले भने, ‘कान्छी बुहारीलाई उचालेर थाना चौकी गराई भनेर मेरी बहिनीलाई गाली गलौज र कुटपिट समेत हुँदै आएको हामीले जानकारी पाएका छौं । १७  महिनाअघि साढे १४ बर्षको उमेरमा बहिनीलाई भगाएर लगेका हुन् । मैले बालविवाहको मुद्धा दिन्छु भनेको थिएँ । उनीहरुले माफी मागेपछि मैले नदिएको हुँ ।’ 

बाग्लुङ्ग बरेङ्ग गाउँपालिका वडा नम्वर ५ सुखौरा घर भएका उनले थपे– ‘हामीले त न केटा चिनेका थियौ न त उनको परिवार नै ।  बहिनी गर्भवती थिईन् ।  गर्भमा छोरा थिए । सुरुमा उक्त गर्भ मेरो होइन भन्थे । पछि खै मेरै हो कि जस्तो पनि लाग्छ भन्न थाले । झुण्डिएको ठाउँ बहिनीभन्दा होचो छ । एउटा खुट्टा संघारमा पसारिएको छ ।’ 

अर्को खुट्टा पछाडि खुम्चिएको छ । उसको मुखबाट फिज आएको छ । बुझ्दा झुण्डिएर मर्ने मान्छेको जिब्रो बाहिर निक्लन्छ, फिज आउँदैन । हामीलाई शंका यो छकि बहिनीलाई कि त घाँटी निमोठेर मारियो कि त बिष सेवन गराई हत्या गरियो । हामी जिल्ला प्रहरी कार्यालय तम्घास पुग्यो । प्रहरीले पोष्ट मार्टमको रिर्पोट आएपछि मात्र जाहेरी दिनुहोला भनेर मात्र रोकिएका हौं । अब रिर्पोट आए होला हामी जाहेरी दिन आउँदै छौं । 
उनका अनुसार श्रीमान श्रीमतीबीच सम्बन्ध राम्रो थिएन । केहि महिना अघि कुटपिट गरेपछि कविता भागेर माईत  गएकी थिइन । एक महिनासम्म लिन नगएपछि दाजुले फोनमा झपारे पछि लिन गएका थिए । सासु चाहीले मेरा बुढासँग लागिस भनेर बुहारी हप्काउने गरेका थिए । 

बाबु छोराको बयान फरक
यस सम्वन्धमा कविताका ससुरा दधिराम नेपाली संग सम्पर्क राख्दा बुहारी आफै झुण्डीएर ज्यान हालेको बताए । उनले भने– ‘त्यस दिन विहान ६ बजे तिर उठेर साहु कहाँ जोत्न गएको थिएँ । मेरो छोरा ७ बजे तिर साहु कै घरमा घाँस काट्न गएको थियो । मेरी कान्छी छोरी बजे उठेर आरनमा भाँडा लिएर हिडेकी हो  । मेरी श्रीमती र बुहारी १० बजे सम्म घरमा संगै थिए । १० बजे तिर बुहारीलाई खान खुवाई चिसापानी मोहन पौड्याल साहु कहाँ दिनै भरी मेलामा हिडेकी हो । दुई भारी घाँस काटेर एक भारी साहुकहाँ ल्याई दिएस एकभारी घर राखेस, भाँडा माझेस् भनेर हिडेकी हो । साँझ  ४ बजेतिर छोरी घर आई भाउजु खोज्ने क्रममा त्यस्तो अवस्थामा देखेर रुँदै छिमेकीलाई बोलाएकी रहिछ ।’ 

उनले केहि दिनअघि कान्छी बुहारीलाई धेरै नकुटेको एक थप्पड मात्रै लगाएको बताए ।  जहाँ पायो उहि हिँड्न थालेपछि कुटेको हुँ, प्रहरीमा गई मिलापत्र गरेपछि अहिले छोराले बुहारीलाई भारततिर लगेर गएको छ । उनले बुहारीहरुको चरित्र हत्या गर्ने कुरा समेत बोलेका छन् ।

 उनका छोरा अर्थात मृतकका श्रीमान २२ वर्षीय शंकर नेपालीले  त्यसदिन श्रीमतीले लिपोत गरी चिया पकाएर खुवाई ६ बजे त्यहाँबाट हिडेर ७ बजे साहु कहाँ पुगेको बताए । बाबुछोरा संगै थिए । छोराले ६ बजे भन्दा बाबुले ७ बजे हिडेको बताउँदै थिए । त्यसदिन बिहानै देखि घरका अन्य सबैजना  मान्छे बाहिर हिँडेको बुहारी मात्र घर रहेको बताईन्छ ।  शंकरले जेठ ४ गते झगडा परेको स्वीकार गरे । उक्त गर्भ आफ्नै रहेको बताए । सम्वन्ध राम्रो रहेको जिकिर गरे । 

 ज्युँदैै जलाएर मारियो कि ? 
 यता, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्वर ४ मुहबारीकी एक महिलाको डरलाग्दो अवस्थामा गत मंगलवार शव फेला परेको थियो । २२ वर्षीया तारा बराही बुधवार दिउँसो ४ बजे घरमै  जलेको अवस्थामा विभत्स रुपमा उनको शव फेला परेको हो ।  त्यतिञ्जेल जलेर खरानी हुने अवस्थासम्म पुग्दा परिवार र छिमेकले के हेरेर बसे ? उनका मामा बाबुराम बराहीले भाञ्जी जलेर मृत्यु भएको तस्विर सामाजिक सञ्जालमा राखेपछि  यतिबेला भाईरल भएको छ ।

मृतकका ससुराले प्रहरीमा खवर गरेपछि यो कुरा बाहिर आएको हो ।  मृतक महिलाका मामा बाबुराम बराहीले भाञ्जीको ज्युँदै जलाएर हत्या गरेको भन्दै जाहेरी दिएको र  घर तर्फबाट पनि जाहेरी आएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसदिन घरका अरु सदस्य बाहिर भएको र जेठानी दिदी घरमै भएको बताईएको छ । उनका श्रीमान सुरेन्द्र बराही भारतबाट करिब ६ महिनामा घर आएको र घटनाको  ५ दिनअघि मात्र भारत हिडेका थिए । उनलाई  पनि झिकाइएको बताईएको छ । 

घटना शंकास्पद छ : प्रहरी 
यस सम्वन्धम जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी कुमोद ढुङ्गेलसंग सम्पर्क राख्दा उनले प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए । उनले भने– ‘अनुसन्धानकै क्रममा भएकोले अहिले यति मात्रै भन्छु,– ‘घटना शंकास्पद छ । ’ मृतकका दुई बर्षका छोरा र तीन महिनाकी छोरी छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप