माधव नेपाल ‘फायर’ हुँदा सिंगापुरबाट प्रचण्डको फोन
काठमाडौं– पार्टीभित्र चर्को विवाद र असन्तुष्टि बढेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालबीच लामो टेलिफोन वार्ता भएको छ । प्रचण्ड र नेपालबीच झण्डै आधा घण्टा टेलिफोन वार्ता भएको हो ।
‘दुई नेताबीच आइतबार बिहान टेलिफोन वार्ता भएको हो’ नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता विष्णु रिजालले रातोपाटीलाई बताए ।
उनले टेलिफोन वार्तामा दुई नेताबीच पार्टी एकताकै सन्दर्भमा केन्द्रीत रहेर कुराकानी भएको बताए ।
गत शुक्रबार नेता नेपालले केही स्थायी समिति सदस्यहरुलाई चियापानका नाममा छुट्टै भेला बोलाएर पार्टी एकताका क्रममा प्रदेश इन्चार्ज, सहइन्चार्ज अध्यक्ष र सचिव नियुक्ति सहमतिविपरित गरिएको भन्दै अध्यक्ष केपी ओली र प्रचण्डप्रति आक्रोश पोखेका थिए ।
त्यसक्रममा नेता नेपालले आफू निकटका नेताहरुलाई सचिवालयको बैठकले गरेको उक्त निर्णय सच्चाउन दवाव दिने बताएका थिए ।
त्यस्तै, भेलामा नेता नेपालले सरकारका कामकारवाहीप्रति समेत आपत्ति जनाएका थिए ।
त्यसको अघिल्लो दिन संसदमा समेत माधव नेपालले सरकारका कामकारवाही सन्तोषजनक नभएको धारणा राखेका थिए ।
उनले मुलुकमा हत्या हिंशाका घटाना बढिरहेको भन्दै सरकार कहाँ छ भनेर प्रश्न गरेका थिए । नेता नेपाललाई अमेरिकाबाट जवाफ फर्काउदै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूले केही दिन देश छोड्दा कसैकसैलाई शून्यता महशुस भएको भन्दै आफू फर्केपछि सवै ठिक हुने बताएका थिए ।
नेपाल र ओलीबीच दोहोरी र नेपाल समूहले देशव्यापी जागरण अभियान चलाउने सम्मको चेतावनी दिइरहेकोब बेला प्रचण्ड र नेपालबीच भएको टेलिफोन वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसैक्रममा शुक्रबार एकाएक नेपालले आफ्नो समूहका नेताहरुलाई चियापनका नाममा काठमाडौको एक होटलमा भेला गरेर पार्टी नेतृत्व र सरकारका कामकारवाहीबारे असन्तुष्टि जनाएका थिए ।
त्यसलगत्तै पार्टीका दुई नेताबीच सामाजिक सञ्जाल टिवटरमा एकअर्काप्रति वाकयुद्ध नै सुरुभयो । अध्यक्ष तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेता माधव नेपाल नजिकका मानिएका स्थायी समिति सदस्य योगेश भट्राईबीच आरोप–प्रत्यारोप चलेपछि नेकपाभित्रको असन्तुष्टि छताछुल्ल हुन पुगेको थियो ।
पार्टी र सरकारप्रति लक्षित गरेर आफ्नै पार्टीका नेताबीच असन्तुष्टि र आरोप–प्रत्यारोप चल्न थालेपछि श्रीमति सीताको उपचारका लागि सिंगापुर पुगेका अध्यक्ष पुष्पकमल दाहालले नेता माधव नेपाललाई फोन गरेका थिए ।
आइतबार बिहान झण्डै आधा घण्टा भएको दाहाल र नेपालबीचको टेलिफोन वार्तामा आफू तत्काल स्वदेश फर्कने र असहमतिका विषयलाई सम्बोधन गर्ने आश्वसन दिएको बताइएको छ ।
नेता नेपालसँगको टेलिफोन वार्तापछि अध्यक्ष प्रचण्ड आज बेलुका सम्म वा भोलिभित्र नेपाल फर्कने तयारीमा रहेको उनी निकट स्रोतले रातोपाटीलाई बतायो । प्रचण्ड पत्नी सीताको उपचारका लागि बुधबार सिंगापुर प्रस्थान गरेका थिए ।