मन्त्री मात्रिकाको आक्रोश :‘सबै बजार भाउ लेखा समितिले तोकोस्, चिनीको भाउ बढाउन १ अर्ब ६९ करोडको कसरी चलखेल ?’
काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लेखा समितिले गरेको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । असोज १५ गते बसेको सांसदको सार्वजनिक लेखा समितिको बैठकले चिनीको मूल्य प्रतिकिलो ६२ रुपैयाँ तोक्न र बढिरहेको बजार भाउ नियन्त्रण गर्न मन्त्रालयलाई निर्देशन दिएपछि मन्त्री यादव आक्रोशित बनेका हुन् ।
शुक्रबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले लेखा समितिले भनेको मूल्यमा चिनी बेच्न नसकिने उल्लेख गरे । उनले नेपालमा चाहिने भन्दा बढी मात्रामा चिनी आएको आँकडा समेत प्रस्तुत गर्दै सरकारले चिनीको भाउ तोक्न नसक्ने बताए ।
उनले नेपालमा २ लाख ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्नेमा १ लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन भइरहेको र २ लाख ३५ हजार मेट्रिक टन चिनी आयात भइरहेको जानकारी समेत दिए । विदेशबाट चिनी आयात गर्दा नेपाली उद्योगी मर्कामा परेको भन्दै प्रधानमन्त्रीसँगको छलफलबाट नै त्यसलाई रोकिएको उनको दावी थियो ।
मन्त्री यादवले भने– ‘हामीले किसान मर्कामा परेको भन्दै प्रतिकिलो उखुको मूल्य ५ रुपैयाँ बढायौँ भने किसानको पैसा भूक्तानी नगरेका उद्योगलाई पनि पैसा दिन लगायौँ । अर्कोतिर विदेशबाट सस्तोमा चिनी नेपाल भित्रिँदा नेपाली उद्योगीलाई मार पर्यो । पाकिस्तानमा धेरै चिनी उत्पादन भएर नेपाल आइरहेको थियो । बाहिरको चिनी रोकेपछि कालोबजारी भएर किलोको ८५ रुपैयाँसम्म पनि पुग्यो ।’ उनले प्रतिकिलो चिनीको ७० रुपैयाँसम्म तिर्न र त्योभन्दा बढी नतिर्न आग्रह समेत गरे ।
सभामुखलाई उजुरी : चिनीको भाउ बढाउन १ अर्ब ६९ करोड चलखेलको छानबिन होस्
पत्रकार सम्मेलनमा मन्त्री यादवले लेखा समितिको निर्देशनको आलोचना गर्न पनि निकै समय खर्चिए । संसदीय समिति मात्र नभई मिडियाले पनि तथ्यगत ढंगले समाचार नलेखेको भन्दै आलोचना गरे ।
गत सोमबार बसेको लेखा समितिको बैठकमा सांसदहरुले चिनी आयात रोक्न र कालोबजारी गर्नका लागि १ अर्ब ६९ करोडको आर्थिक चलखेल भएको आरोप लगाएपछि मन्त्री यादवले त्यसको खण्डन गरेका छन् । साथै समितिले चिनीको मूल्य ६२ रुपैयाँ कायम गर्न दिएको निर्देशन पनि आफूले पालना गर्न नसक्ने बताएका छन् । यसबारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने उनले बताएका छन् ।
मन्त्री यादवले ‘मन्त्रालयका दुबै सचिवहरु, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई बोलाई छलफल गर्दा रु १ अर्ब ६९ करोडको चिनीको बजार भाउ बढाउन चलखेल भएको समेत हामीमाथि आरोप लगाइएको’ भन्दै सभामुख कृष्णबहादुर महरालाई पत्र लेखर दोषीमाथि कडा कारवाहीका लागि अनुरोध समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री यादवले १ अर्ब ६९ करोड कसरी मेरो हातमा आयो ? चेकबाट आयो कि जुट बोरामा आयो भन्दै प्रश्न समेत गरे । उनले भने– ‘एउटा जुट बोरामा १ करोड त अटाउँछ होला, १ अर्ब ल्याउनलाई त ट्रकमै ल्याउनुपर्छ होला । अनि त्यो एक ट्रक पैसा मेरो घरमा गएको पत्रकारले देख्यो होला । मन्त्रीले करोड अरब खाने, हामीले १ रुपैयाँ खान नपाउने भनेर लेख्यो होला ।’
उनले तराईका बन्द भएका चुरोट फ्याक्ट्री खोल्न खोज्दा मिडियाले विरोध गरेको भन्दै मन्त्री यादवले ज्ञानेन्द्रको सूर्य टोबाकोबाट पैसा खाएर समाचार लेखेको हैन ? भन्दै प्रश्न समेत गरे । उनले भने– ‘प्रमाण नखुलाई जे मन लाग्छ त्यही लेख्नेलाई कारबाही होस् ।’
उनले सरकारले चिनीको भाउ तोक्न नसक्ने बताउँदै सबै जिम्मा लेखा समितिले लिनुपर्ने भन्दै अक्रोश व्यक्त गरे । उनले भने– ‘सरकारले चिनीको भाउ ६३ रुपैयाँ तोकेको छैन, तोक्न पनि सक्दैन । बजारमा कुन–कुन सामानको भाउ कति हो सबै लेखा समितिले तोकोस् । कुन सामानको भाउ के छ भनेर मन्त्रालयका सचिवलाई बोलाएर सोध्ने हो ?’
बजार अनुगमन फितलो : चिनी किलोको सय रुपैयाँमा बेच्ने महिला धरधरी रोइन्
पत्रकार सम्मेलनमा मन्त्री यादवले मन्त्रालयले गर्नुपर्ने बजार अनुगमनको काम फितलो भएको बताउँदै जनशक्ति कम रहेको उल्लेख गरे । उनले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहलाई पनि अधिकार दिएको भन्दै तल्ला निकायलाई पनि बजार अनुगमनका लागि निर्देशन दिने बताए । सिमित जनशक्तिले बजार अनुगमन गर्न कठिन रहेको भन्दै सरकारभन्दा व्यवसायी बलियो रहेको उनले बताए । कालिमाटीमा तरकारी व्यापारीले ४ घण्टासम्म आफ्ना कर्मचारीलाई थुनेको भन्दै अनुगमनको काम कठिन भएको बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बजार अनुगमनका क्रममा भोगेका समस्या सुनाएका थिए । उनले भने–‘काठमाडौंमा बजारमा सय रुपैयाँमा किलो चिनी बेचिरहेकी महिला भेट्यौँ, उनलाई पक्राउ गर्न खोज्दा अबदेखि तेस्तो गर्दिन भनेर डाँको छोडेर रोइन, उनलाई पक्राउ गर्न सकिएन ।’