आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी पूर्वलडाकु शर्मिलाको भारतमा रहस्यमय मृत्यु

मङ्गलबार, २३ असोज २०७५, १७ : ०१
मङ्गलबार, २३ असोज २०७५

बुटवल–माओवादी पूर्वलडाकु शर्मिला विकको भारतमा रहस्यमय मृत्यु भएको छ । गुल्मीकी  विकको भारतकोे नयाँ दिल्लीस्थित गुडगावा पालम बिहार, सेक्टर २३  ए–ब्लक मा रहस्यमय मृत्यु भएको हो । 

उक्त ब्लकको पार्कभित्र रहेको ४ फिट उचाईको सानो रुखको पोथ्रामा पाँच फिट अग्ली शर्मिला झुण्डिएको अबस्थामा फेला परेकी छन् । मृतक विकको उचाईभन्दा रुखको उचाई कम देखिएकोले उनको मृत्युप्रति शंका जन्मिएको नेपाली संघ संगठनले जनाएका छन् ।

जनयुद्धकालमा लामो समय लडाकु रहेकी विक शान्ति प्रक्रियापछि अयोग्य ठहर भई  बाहिरिएकी थिइन् । त्यसपछि शर्मिला भारत पलायन हुन बाध्य भएकी थिइन् । विक अक्टोबर ६ को राती कोठाबाट श्रीमान र जेठाजुसँग झगडा गरेर निस्किएको उनका श्रीमान नरेश विकले बताएका छन् ।

उनका १३ वर्षीया छोरी र १० वर्षीय छोरा छन् । उनको शव सोमबारै परिवारले बुझेर अन्त्यष्टि गरिसकिएको छ । 

नेपाल पत्रकार महासंघ भारत शाखाका प्रतिनिधि बाबु रोका, देशभक्त आवाजका अध्यक्ष हरि रोका, अखिल भारत नेपाली एकता समाजका ओमबहादुर खत्री र स्वतन्त्र नागरिक विपना शाही लगायतले उनको हत्या भएको भन्दै छानविनको माग गरेका छन् । घटनाको अनुसन्धान भईरहेको पालम विहार प्रहरी चौकीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप