आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दशैमा नयाँ कपडा : घर–घरमा झगडा

मङ्गलबार, २३ असोज २०७५, १९ : २६
मङ्गलबार, २३ असोज २०७५

बुटवल– गुल्मी ईस्माका चिन्तबहादुर दर्जी त्यस भेगमा कहलिएका लुगा सिलाउने सिपालु ब्यक्ति हुन् । विवाहदेखि चाड पर्वहरुमा उनको पसलमा कोट पाईन्टदेखि हरेक कपडा सिलाउनेहरुको भीड  बढेकै हुन्छ । ब्यस्तताका बावजुद पनि यसपालीको दशैमा उनले छोरालाई छाँटिलो कोट पाईन्ट  र छोरीहरुलाई पनि त्यस्तै भलाद्मी कपडा सिलाई दिन चाहन्छन् । 

तर उनैका छोरा छोरा छोरीलाई बाबुले सिलाएको कपडा लगाउने मन छैन । उनीहरुको रहर उनै रेडिमेड कपडामा छ ।  उनीहरुले मोबाईलमार्फत आफुहरुलाई रहर लागेका ती रेडिमेड कपडाहरुको फोटाहरु देखाउँदै बाबुलाई किनी दिन कर लगाई रहेका छन् ।

उनीहरुले देखाउने ती कपडाहरु हेरेपछि चिन्ताबहादुर उनीहरुसँग रिसले आगो हुँदै भन्छन्– ‘ हैन, कस्तो बुद्धि भुटिएको हो तिमीहरुको ? दशैंमा त नयाँ कपडा लगाउने होला क्यारे, यस्ता दश ठाउँ फाटेका पनि कहीँ लगाउँछन्  ? म त यस्ता  कपडा एक किन्दिन, दुई किन्दिन, गए जाउ रामरमितामा नगए नजाउ ।’

उनका छोराछोरी पनि के कम ? छोराछोरीहरु एकै मुख लगाएर बाबुलाई भन्छन्– ‘कहिल्यै शहर बजारको मुख देखेको भए पो  थाहा हुन्थ्योकि  अहिले कस्तो फेसन आ’को छ र छोरा छोरीलाई त्यही अनुसारको किनिदिनु पर्छ भन्ने थाहा हुन्थ्यो क्यारे । किन्ने भए किनिदिने नत्र गाग्री ताउलो टिपेर आफैले किन्न नपरोस् । ’

पछिल्लो चरण दश ठाउँ प्वाल परेका पाईन्टहरु किनेर लगाउन खोज्ने नयाँ पुस्ता र पुराना पुस्ताबीच अन्य घरमा पनि झगडा चल्ने गरेको छ ।  घरमा झगडा मात्र होईन, सामाजिक सञ्जालमा पुरानो पुस्ताले ब्यङ्ग समेत गर्ने गरेका छन् ।

सामाजिक सञ्जालमा एक जना लेख्छन्– ‘प्वाल परेको पाईन्ट लगाउँदा किरा फट्याङ्ग्रा पस्ने हुनकि ? जुकाहरुको आजकल बिगबिगी छ, कतै जुकाहरु समेत लुत्त छिरेर रक्ताम्मे पार्ने हुन् कि ? चिसो याममा चिसो पसेर थरधरी कपाउने र गर्मीमा घामले पोलेर असिना पसिना पो पार्ने हो कि ...?’

नयाँ पुस्ताले भने यस्तो ब्यङ्गकारलाई ढुङ्गे युगका हजुरबुवा, हजुरआमाहरुको संज्ञा दिँदै आएका छन् । शहरका सिलाई व्यवसायीहरु भने विगत केहि बर्ष यता युवा पुस्ता समेत कोट पाईन्ट र दौरा सुरुवाल लगायतका भलाद्मी कपडा लगाउनमा बढि आकर्षित हुने गरेको बताउँछन् । 

बुटवलमा युवा पत्रकार तिलक महत भन्छन– ‘असोज २६ गते मलाई विवाहमा जन्त जाने निम्तो छ  । त्यसैले म दौरा सुरुवाल सिलाउन अर्डर गरेको छु । त्यही दौरा सुरुवाल दशैंमा पनि लगाएर कोट मन्दिरको रामरमितामा जाने रहर जागेको छ ।’

बुटवल नेपालगञ्ज रोडस्थित श्रेष्ठ टेलरिङ्गका सञ्चालक जीवन परियार भन्छन्– ‘रेडिमेड कपडा रुचाउने युवाहरुको एउटा सानो पंक्ति मात्रै छ । अन्य धेरै युवाहरु कोट पाईन्ट र दौरा सुरुवालमा बढी आकर्षित हुँदै आएका छन् । म लगायत थुप्रै सिलाई कटाई व्यवसायीहरुलाई तीजदेखि यता कपडा सिलाउनको भ्याई नभ्याईमा छौं ।’ 

तर ग्रामीण भेगमा सिलाई व्यावसायीहरु केहि बर्षयता कतिपय त्यस पेशाबाट पलायन भई सकेका छन् भने बुढापाकाहरु फाटेका कपडा र भुल्ला तुन्ने काममा मात्रै सिमित भएका छन् । शहरमा यतिबेला काँचो कपडा किन्ने पसलमा सुनसान देखिन्छ भने फेन्सी पसलमा भीँडभाड बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप