विवादका बीच फेरि ३ वटा विधेयक ल्याउने तयारीमा प्रदेश २ सरकार
जनकपुर– प्रदेश २ सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट ३ वटा विधेयकलाई संसदमा लैजान सैद्धान्तिक सहमति लिने भएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ३ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारी भएको जानकारी दिए ।
मन्त्री यादवका अनुसार लोकसेवा सम्बन्धी विधेयक २०७५, प्रशासन सम्बन्धी विधेयक २०७५ र निजामती कर्मचारी सम्बन्धी विधेयक २०७५ लाई सैद्धान्तिक सहमति जुटाउने मन्त्रिपरिषदको तयारी छ ।
बिहीबार अपरान्ह ४ बजे बस्ने प्रदेश २ को मन्त्रिपरिषद बैठकबाट विधेयकलाई सैद्धान्तिक सहमति दिन लागिएको हो ।
यसअघि प्रदेश २ सरकारले संघलाई ‘ओभरटेक’ गरेर विधेयकहरु ल्याएको भन्दै आलोचना हुँदै आएको छ ।
प्रदेश २ सरकारले गत २७ असोजमा विपक्षी नेकपाको विरोधका बाबजुत प्रदेश प्रहरी ऐन प्रदेशसभा बैठकबाट पारित गराएको थियो ।
संघीय सरकार मातहत प्रहरीले नटेरेको गुनासो गर्दै प्रदेश सरकारले संघीय प्रहरी ऐनअघि नै प्रहरी विधेयक ल्याएपछि राजनीति तरंगित छ ।
मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममार्फत नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई संघलाई ओभरटेक नगर्न चेतावनी नै दिएका थिए ।