सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिलालाई बोक्सी भन्दै सार्वजनिक स्थलमा कुटपिट, १ लाख जरिवाना समेत तिराइयो

आइतबार, १८ कात्तिक २०७५, १५ : ५७
आइतबार, १८ कात्तिक २०७५

 जनकपुर– धनुषामा एक महिलालाई बोक्सी भन्दै सार्वजनिक स्थानमा कुटपिट गरी जरिवाना लिएको घटना सार्वजनिक भएको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षकी महिलालाई गत कात्तिक ९ गते पञ्चहरुले बोक्सी भन्दै कुटपीट गरेको घटना सार्वजनिक भएको हो ।

श्रीमान् वैदेशिक रोजगारमा रहेका बेला आफन्तजनले नै बोक्सी भन्दै तथानाम गालीगलौज गर्नुका साथै नगद एक लाख रुपैयाँ जरिवाना तिराएको पीडितले जनाइन् ।

जर्वजस्ती कुटपिट गर्दै जेठाजु इन्दल मण्डल खत्वेले नै बोक्सी स्वीकार गर्न लगाई ५० हजार रुपैयाँ र गाउँलेहरुलाई भोजभतेर गर्न ५० हजार गरी पञ्चले १ लाख रुपैयाँ जरिवाना गरेको उनले गुनासो गरिन् । 

समाजका माईजनहरु (पञ्च) फुलगेन मण्डल, दुखी मण्डल, विरेन्द्र मण्डल लगायत जेठाजु समेतले लछारपछार गर्दै कुटपीट गरी बोक्सी स्वीकार गर्न लगाएपछि जरिवाना सहित भोजभतेर माग गरेको उनले बताइन् । 
पीडितको पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेका छन् । 

पीडितले भनिन् – ‘मेरो श्रीमान् विदेशमा रोजगारी गर्नुहुनुहुन्छ । घरको अवस्था जसोतसो चल्दै थियो । विदेश गएपछि क्रमिक रुपमा घरको अवस्था सुधार हुन थालिसकेको थियो । तर, एकाएक सामान्य कुराका लागि पनि  विवाद हुन थाल्यो । जेठाजु ईन्दल, जेठानी मानकीदेवी लगायतले विभिन्न निहुँमा कुटपीट गर्न थाले । त्यसपछि जेठाजुले जातिगत समाजका पञ्चहरुलाई बोलाए । मलाई बोक्सी हो भनि कुटपिट गरी ज्यानमार्ने धम्की दिई स्वीकार गर्न लगाए ।’ 

महिलाले रुँदै भनिन् ‘नस्वीकारेसम्म माइजनहरुको अगाडी नै जथाभावी कुटपिट गर्ने र लछाडपछाड गर्दै (माइजन) पञ्चहरुले हात, खुट्टा, मुक्काले शरीरको विभिन्न अंगमा निर्घात कुटे । त्यसपछि म विवश भई स्वीकार गरेँ । अनि पञ्चहरुले ५० हजार रुपैयाँ र ५० हजारको भोज भतेरको लागि भन्दै रकम लिई जरिवाना लिने निर्णय गरे । जरिवाना नतिर्ने बताएपछि थप कुटपीट गरेर मलाई बेहोस बनाए ।’

पञ्चहरु बेहोस बनाएर गएपछि छोरीले आफूलाई घरमा उठाएर लगेको पीडितको भनाई छ । 

दुई छोरा र दुई छोरीकी आमा उनले  विदेशमा रहेका आफ्ना पतिलाई फोन गरेर आफूमाथि भएको घटनाको सुनाएपछि पतीले स्थानीय जनप्रतिनिधि कहाँ न्यायको लागि जान सुझाव दिएको बताइन् ।

सोहीअनुसार उनले धनौजी गाउँपालिका २ का वडाध्यक्ष राजकुमार साहसमक्ष उजुरी गरेको जनाइन् । उनले मनमा मल्हम लगाउनु भन्दापनि उल्टै जात र समाजमा मिलेर बस्न भन्दै माइजनको निर्णय स्वीकार गर्न भनेको भन्दै भक्कानिन् ।

त्यसपछि गत बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा दोषीमाथि कारवाही र न्यायको माग गर्दै उनले  उजुरी दर्ता गराइसकेकी छिन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले अब घटनाबारे अनुसन्धान थाल्ने बताए ।

यस विषयमा पीडितले प्रदेश सरकारलाई समेत जानकारी गराएकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप