आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफन्तको भर्तीकेन्द्र बन्दै प्रसूतिगृह अस्पताल, निवेदनमा तोक लगाउँदै जागिर

मङ्गलबार, २० कात्तिक २०७५, ११ : २४
मङ्गलबार, २० कात्तिक २०७५

सरकारी निकायमा जागिर खान के गर्नुपर्ला ? सबैको जवाफ आउँछ ‘लोकेसवाको परीक्षा पास गर्नुपर्छ ।’ लोकसेवा पास नगरेपनि अर्को कुनै विकल्पबाट जागिर खान पाइन्छ कि ? त्यसमा पनि जवाफ आउँछ ‘विज्ञापनमा भाग लिएर अरुभन्दा उत्कृष्ठ बन्नुपर्छ ।’ 

तर तपाईँलाई सरकारी जागिर खान मन छ भने अब थापाथलीस्थिल प्रसुतीगृह अस्पतालमा जानुस् । एउटा निवेदन लेखेर प्रसूतिगृहका निर्देशक डाक्टर जागेश्वर गौतमलाई दिनुस् । निर्देशकले जागिर दिनु भन्ने तोक लगाइदिन्छन् । अनि तपाइँको जागिर पक्का । 

तर प्रसूतिगृहमा जागिर पाउन त्यति सजिलो भने छैन । त्यसका लागि प्रसूतिगृहका निर्देशक, सञ्चालक, प्रशासन प्रमुख वा कोही ठूलै पदका व्यक्तिको आफन्त भने हुनैपर्छ । त्यसबाहेक नेता वा मन्त्रीको आफन्त हुनैपर्ने न्युनत योग्यता हो । 

केही दिनअघि रातोपाटीको कार्यालय खोज्दै एक व्यक्ति कुपण्डोलमा आइपुगे । देशको एकमात्रै सरकारी अस्पतालमा चरम लापरवाही र भ्रष्टाचार भइरहेको भन्दै रातोपाटीले समाचार प्रकाशन गरिदेओस् भन्ने उनको चाहना थियो । ती व्यक्तिले प्रसूतिगृहमा आफन्तलाई जागिर खुवाउने होडबाजी नै चलेको र राम्राभन्दा पनि हाम्राले मोजमस्ती गरिरहेको गुनासो गरे । 

ती व्यक्तिको गुनासो लगत्तै हामीले प्रसूतिगृहभित्र कुन पदाधिकारीका आफन्तले जागिर खाएका रहेछन् र कुन विधि प्रयोग गरेका रहेछन् भनेर खोज्न थाल्यौँ । 

थापाथलीस्थित प्रसूतिगृह अस्पताल त आफन्तलाई जागिर खुवाउने भर्तीकेन्द्र नै बनेको रहेछ । अस्पतालमा सामान्य नियम र नैतिकता नै बिर्सिएर विज्ञापन वा मागसमेत नगरी आफन्तहरुलाई जागिर खुवाने होडबाजी नै चलेको तथ्य रातोपाटीले फेला पारेको छ । 

अस्पतालमा आफन्तलाई जागिर खुवाउने सवालमा निर्देशक जागेश्वर गौतमले एकलौटी निर्णय गर्दै आफ्ना मान्छेहरु भर्ना गरेको पाइएको छ ।   

अस्पतालमा कर्मचारी नियुक्तिको कुरा गर्ने हो भने यसका निर्देशक जागेश्वर गौतमको सबैभन्दा बढी हालीमुहाली छ । त्यसबाहेक अन्य पदाधिकारी र कर्मचारीको पनि उत्तिकै मोजमस्ती रहेको छ ।

रातोपाटीले खोजी गर्दै गर्दा गौतमले सामान्य निवेदनमै तोक लगाएर आफ्ना ६ जना आफन्तलाई जागिर खुवाएको पाइएको छ ।

सरकारी कार्यालयमा कर्मचारी नियुक्ति गर्ने कुरामा सार्वजनिक सुचना जारी गर्नुपर्छ र प्रतिस्पर्धामार्फत कर्मचारी नियुक्त गर्नुपर्ने हुन्छ । तर प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमले भने सामान्य निवेदन लेख्न लगाएर त्यही निवेदनमा तोक आदेश दिँदै जागिर दिएको प्रमाण रातोपाटीले भेटेको छ ।

गौतमले आफ्नी छोरी, भान्जी, भाञ्जा र भान्जी बुहारीलाई अस्पतालमा जागिर दिएका छन् । 

हेर्नुहोस् निर्देशक गौत्मलमे जागिर खुवाएका आफन्तको केही लिष्ट

डाक्टर जागेश्वार गौतमले आफू निर्देशक पदमा रहेको बेलामा क–कसलाई नियुक्ति दिए भन्ने कुराको बारेमा अब हामी तपाईलाई जानकारी गराउने छौँ । 
 

डाक्टर जेनी गौतम : छोरी
डाक्टर जेनी गौतम हाल परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा आठौँ तहको मेडिकल अधिकृत पदमा कार्यरत छिन् । उनलाई अस्पतालले २०७५/०४/०१ मा नियुक्ती गरेको छ । 

डाक्टर जेनी गौतम जागेश्वर गौतमकी छोरी हुन् । डाक्टर जेनीको करार अवधि २०७५ पौष मसान्त सम्म रहेको छ । 

सुप्रिया पोखरेल (भान्जी बुहारी)
सुप्रिया पोखरेल प्रसूतिगृह थापाथलीमा ल्याब टेक्निसियनको रुपमा कार्यरत छिन् । सुप्रिया प्रसूतिगृहमा काम गर्न थालेको ३ वर्ष भयो । उनी सेवा करारमा काम गर्दै आइरहेकी छिन् । साइनोले अस्पतालका निर्देशक डाक्टर जागेश्वार गौतमको भान्जी बुहारी पर्ने सुप्रिया अस्पतालकै सरकारी क्वाटरमा समेत बस्दै आएकी छिन् । 

इनोशा पौडेल (भान्जी)
इनोशा पौडेले विगत ३ वर्षदेखि थापाथली अस्पतालमा कार्यरत छिन् । आकस्मिक कक्षमा कार्यरत उनले डाक्टर जागेश्वर गौतम आफन्त रहेको स्वीकार गरेपनि नाता भने खुलाउन चाहिनन् । इनोशा नाताले जागेश्वरको भान्जी रहेको बताइएको छ । इनोशा पनि अस्पतालकै सरकारी क्वाटरमा बस्दै आइरहेकी छिन् । 

गोविन्द पौडेल (भाञ्जा)
अर्काे पनि हेरौँ । उनका अर्का आफन्त हुन् गोविन्द पौडेल । हाल उनी ल्याब टेक्निसियन पदमा कार्यरत छन् । उनी प्रा.डा. जागेश्वर गौतमका भान्जा हुन् । उनी विगत ३ वर्षदेखि प्रसूतिगृह थापाथालीको ब्लड बैँकमा कार्यरत रहेका छन् । उनको पछिल्लो करार नियुक्ति २०७५ साउन १ गतेको छ । उनको करार अवधि पौष मसान्तसम्म रहेको छ । 

सुजन सुवेदी (भान्जा)
अर्का भान्जा हुन् सुजन सुवेदी । उनी पनि प्रसूतिगृहमा लिफ्ट म्यानको जिम्मेवारीमा कार्यरत छन् । सुजन २०७५ जेठ १ गतेबाट प्रसूतिगृहमा काम सुरु गरेका हुन् । उनी पनि अस्पतालकै आवास गृहमा बस्छन् । 
डा. गौतमका छोरी जेनी गौतम, भान्जा गोविन्द पौडेल र भान्जी इनोसा पौडेललाई एउटै मितिमा नियुक्ती दिइएको छ । तीनै जनाको करार अवधि आउदो पौष मसान्तमा सकिंदै छ । 

कुनै पनि संघसंस्थामा कर्मचारी नियुक्ती गर्दा सार्वजनिक सूचना जारी गरेर प्रतिस्पर्धाबाट कर्मचारी छान्नु पर्ने भनेर नियममा भनिएको छ । तर पुरानो र सरकारी संस्थामा भने न कुनै सार्वजनिक सूचना जारी गरिएको भेटियो न कुनै प्रतिस्पर्धा । निवेदन दिने र निवेदनमा अस्पतालको तोक लगाएर कर्मचारी भर्ना गर्ने काम भईरहेको छ । 

अस्पताका उपप्रशासक रानु थापासँग हामीले करारमा कर्मचारी नियुक्ती गर्ने प्रकृया के हो भनेर प्रश्न गर्दा उनले करार कर्मचारीको हकमा भने निवेदन दिइराखेको व्यक्तिलाई अस्पतालका निर्देशकले नियुक्ती गर्न सक्ने बताइन् । उनले भनिन्, ‘स्टाफनर्स, मेडिकल नर्सको सवालमा दरबन्दी भएको तर खाली स्थान छ भने  भ्याकेन्सी खोल्नुभन्दा पनि अस्पताल प्रशासनमा छोडेको बायोडाटाको आधारमा छनोट गरेर करारमा राख्ने हो । काम चलाउनको लागि भ्याकेन्सी खोल्नुपर्दैन । यो कुराको बारेमा नियमावलीमानै लेखिएको छ । भ्याकेसन्सी खुलाउने सवालमा स्थायीको लागि पर्छ करारको लागि पर्देन । प्रशासननिक पदहरुमा लोक सेवाले भ्याकेसन्सी खुलाएर लिने हो । तर टेक्निकल पोष्टहरुमा भने अस्पताल निर्देशकले निर्णय लिनसक्छन् ।

यस्तो रहेको छ अस्पताल कर्मचारी विवरण ।

प्रसूतिगृहमा नेपाल सरकारको ६० र अस्पताल समितिको ५ सय ८१ गरेर ६ सय ४९ वटा दरबन्दी रहेको छ । तर अस्पताल प्रशासन शाखा अधिकृत अनिल कृष्ण श्रेष्ठले दिएको जानकारीलाई आधार मान्ने हो भने ५ सय ७ जना यो अस्पताल समितिले नियुक्ति गरेको कर्मचारी विवरण हो ।  
यसरी कर्मचारी नियुक्तिमा हेर्ने हो भने सार्वजनिक सुचनानै जारी नगरी भित्रभित्रै निवेदन दिदै आफ्ना मान्छेहरु राखेको बुझिएको छ । 

 के भन्छन् अस्पताल निर्देशक गौतम  ?
अस्पताल विकास समितिमार्फत सञ्चालन भएको हुँदा समितिको निर्णय अनुसारनै कर्मचारी राखिएको गौतमले बताए । उनले रातोपाटीसँग सार्वजनिक सूचना जारी गर्दा धेरै थरीका मान्छे आउने हुँदा प्रसूतिगृहमानै तालिम लिने चिकित्सक र स्टार्फ नर्सलाई काममा लिने गरेको बताए । सार्वजनिक सूचना जारी गरेर कर्मचारी लिनुपर्छ कि पर्देन भन्ने हाम्रो प्रश्नमा निर्देशक डा. गौतमले सूचना जारी गर्दा धेरै थरीको मान्छेको निवेदन आउने तर प्रसूतिगृहले भने अस्पतालमै ओजेटी सकेका चिकित्सक तथा नर्सहरुलाई प्राथमिकता दिने भएको हुँदा अस्पताल भित्रनै तालिम प्राप्त व्यक्तिलाई करारमा लिने गरेको र सार्वजनिक सूचना जारी नगरिएको बताए । 

आफन्तमैत्री भयो भन्ने प्रश्नमा डा. गौतमले यो सामान्य कुरा भएको जवाफ दिए । अस्पतालले सबै तालिम प्राप्त र योग्य कर्मचारीलाई करारमा लिएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप