सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाजुभाइ नहुने अभिनेत्रीको यस्तो हुने छ तिहार

मङ्गलबार, २० कात्तिक २०७५, ११ : ४०
मङ्गलबार, २० कात्तिक २०७५

तिहार हामी नेपालीको घरदैलोमा प्रवेश गरिसकेको छ । काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइने यो तिहारलाई दिदीभाइ र दाजबहिनीको प्रेमको पर्वका रूपमा लिइन्छ । दिदी भाइ र दाजुबहिनीको विशेष यो पर्वको विषयमा हामीले दाजुभाइ नहुने केही अभिनेत्रीहरूलाई तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर प्रश्न गरेका थियौँ । जान्नुहोस्, दाजुभाइ नहुने अभिनेत्रीको तिहार कस्तो ।

पूजा शर्मा 
‘प्रेम गीत’बाट चम्किएकी अभिनेत्री हुन् पूजा शर्मा । त्यसपछि उनी अभिनित म ‘यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ प्रदर्शनमा आए । लगानी जिनतिन सुरक्षित गर्न सफल यी चलचित्रले पूजाको करियर भने उकास्न सकेन । पूजा आमाबाबुकी एक्ली सन्तान हुन् । भीजे हुँदै अभिनयमा भित्रिएकी पूजा दाजुभाइ नभए पनि तिहार विशेष लाग्ने बताउँछिन् । तिहार काठमाडौँ रमाइलोसँग मनाउने सोचमा रहेकी उनको भाइटीका लगाउने योजना छैन । विगतका वर्षहरूमा कहिले नजिकका दाजुभाइ पर्नेलाई टीका लागाउने गरेको र कहिले नलगाइबस्ने गरेको उनले सुनाइन् । अरूले आफ्नो दाजुभाइसँग रमाइलो गरेर टीका लगाएको देख्दा नरमाइलो लाग्ने गरेको अनुभव सुनाउने उनी तिहारको समयमा रानी पोखरीसमेत जाने गरेकी छन् । 

रजनी केसी 
केही समययता अभिनेत्री रजनीका चलचित्र आएका छैनन् । ‘लोफर’बाट अभिनयमा डेब्यु गरे पनि ‘परदेशी’बाट चिनिएकी रजनीमा पछिल्लो समय ‘ब्रासलेट’, ‘लालजोडी’, ‘पटुकी’लगायत आधादर्जन बढी चलचित्र आए । तर ती सबै चलचित्र आएगएको दर्शकले थाहा पाएनन् । रजनी पनि परिवारकी एक्लो सन्तान हुन् । दाजुभाइ नभए पनि रजनीका लागि तिहार त्यति खल्लो भने हुने गरेको छैन । सानैदेखि घरबाट छोरा जसरी हुर्कने मौका पाएकी उनी तिहारको हरेक दिन इन्जोय गर्ने बताउँछिन् । तिहारमा रङ्गोली बनाउन, दियो बाल्न विशेष मन पराउने उनी सेलरोटीकी पारखी पनि हुन् । उनी दाजुभाइ नभए पनि भाइटीका लगाउने बताउँछिन् । पहिलेदेखि नै आफ्नो रिलेसन पर्ने दाजुभाइलाई भाइटीका लगाउँदै आएकी उनले बाहिर पनि केहीलाई दाजुभाइ बनाएकी छन् । दाजुभाइ भएको भए कस्तो हुन्थ्यो होला भन्ने खुल्दुली तिहारको समय जहिले पनि उनको मनमा चल्ने गरेको छ ।

संचिता लुइटेल 
संचिता लुइटेल पनि दाजुभाइविहीन अभिनेत्री हुन् । घरमा जेठो सन्तानका रूपमा रहेकी उनका दुई बहिनीहरू सिवानी र समिता छन् । दाजुभाइ नभए पनि उनले प्रत्येक वर्षको तिहार विशेष तरिकाले मनाउने गरेकी छन् । यस वर्षको पनि विशेष हुने उनले सुनाइन् । काग तिहारदेखि भाइटीकाको दिनसम्म उनी निकै व्यस्त रहनेछिन् । देउसी भैलो परिवार साथीभाइसँग खेल्ने योजना बनाएकी उनको योजना भने अन्य भन्दा फरक हुनेछ । दिदीबहिनीबीच एकअर्काेलाई टीका लगाएर भाइटीका उनले मनाउने छिन् । उनकी बहिनी भाइटीकाको केही दिन अगाडि विदेश उड्ने भएकाले भाइटीका लगाउने केही दिन पहिले नै यस पटकको टीका लगाउने उनले सुनाइन् । त्यसो त उनले अहिलेसम्म कसैलाई दाजुभाइ नबनाएको भने होइन । केही दाजुभाइ बनाएकी छन् । ती दाजुभाइलाई टीकाको दिन उनी फोनबाटै शुभ–कामना दिने गर्छिन् । एक वर्ष टीका लगाएर अर्काे वर्ष टीका लगाउन पाइएन भने आफूलाई र दाजुभाइ दुवैलाई खल्लो महसुस हुने भएकाले बनाएको दाजुभाइलाई आफूले टीका नलगाएको संचिताले सुनाइन् ।

शिल्पा पोख्रेल 
शिल्पा अभिनेत्रीमा मात्र सीमित छैन । उनी निर्मातासमेत बनेकी छन् । उनको निर्माण रहेको पछिल्लो चलचित्र ‘मङ्गलम्’ केही पहिले प्रदर्शनमा आएको थियो । शिल्पा पनि दाजुभाइ नहुने अभिनेत्रीमा पर्छिन् । घरकी जेठी छोरी उनकी एक बहिनी छिन् सोनिया । दाजुभाइ नभए पनि तिहारमा उनको हात भने खाली हुँदैन । उनले निर्देशक विकाश रौनियारलाई दाइ मानेकी छिन् । भाइटीका पनि रौनियारलाई नै लगाउँछिन् । तिहारको देउँसी भैलो धेरै रमाइलो लाग्ने बताउने उनको तिहार रमाइलो गर्दै बनाउने विचार छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप