सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छठ पर्वको रौनकले छोएन जनकपुरका आधा दर्जन पोखरीलाई

मङ्गलबार, २७ कात्तिक २०७५, १४ : १४
मङ्गलबार, २७ कात्तिक २०७५

जनकपुर– जनकपुरका प्रायः सबै तालतलैया, पोखरी, जलाशयहरुलाई  छठ पर्वको लागि एक साता देखिनै दुलहीझँै सजाइए पनि केहि पोखरीको अवस्था भने बेहाल देखिएको छ । अधिकांश पोखरी सजिसजाउ गरिए पनि केही पोखरीको व्यवस्थापन नगर्दा जनकपुरवासीको मन खिन्न हुन थालेको छ ।

जनकपुरको मुख्य मुटु मानिने जानकी मन्दिरको छेउमै रहेको ऐतिहासिक तेलहा पोखरी र मडहा पोखरी लगायतका आधा दर्जन पोखरीहरुलाई बेवास्ता गर्दा अतिक्रमणको चपेटामा परेका छन् ।

ऐतिहासिक धरोहरको रुपमा रहेको ढोडनोचनी पोखरी, देवान पोखरी, रामसागर तलाउ, तेलहा पोखरी र मडहा पोखरीलाई राज्यस्तरबाटै बेवास्ता गर्दा सामाजिकस्तरबाट अतिक्रमणको चपेटामा पर्दै विलिन हुने तरखरमा छन् ।

सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता तथा प्रदेशसभा सदस्य कौशल यादवले ढोडनोचनी पोखरीलाई अतिक्रमण गरी योग शिविर सञ्चालन गरिरहेका छन् भने जानकी मन्दिरको उत्तरतर्फ रहेको तेलहा र मडहा पोखरीलाई सौन्दर्यकरणको नाममा साँघुरो बनाउन खोज्दा कूरुप देखिन्छ । 

समाजिक यूवा अभियन्ता सुशील कर्ण लगायतले पोखरीको वास्तविक नाप नक्साअनुसार उत्खनन् गरी निर्माण गर्नुपर्ने अडान राखेपछि त्यसको व्यवस्थापन कार्य हालसम्म स्थगित छ । सो पोखरीलाई कसैले वास्ता नगर्दा फोहर फाल्ने तथा मुत्र विसर्जन स्थलको रुपमा परिणत भई लुप्त हुने अवस्थामा छ । 

त्यस्तै ऐतिहासिक देवान पोखरी राजनीतिक छिनाझम्टीका कारण अढाई दशकदेखि हुदैँ आएको छठ पर्व हुन छाडेको छ ।

देवान पोखरीको विषयमा एउटा पृथक किंवदन्ती रहेको छ । सो पोखरीमा महिलाहरुले स्नान गरेमा लुतो रोग, चर्म रोग र निको हुने र निसन्तानहरुका लागि सन्तान प्राप्त हुने जनकपुर उपमहानगरपालिका वडा नम्बर १० बस्ने किसन मण्डल बताउँछन् । यस पोखरीमा भारत र स्वदेशी भक्तहरुको घुइँचो लाग्ने गरेको जनकपुर उपमहानगरपालिका– ३ बस्ने दिपक साह बताउछन् ।

यता जनकपुर उपमहानगरपालिका– ३ का वडाध्यक्ष दिपेन्द्र साहका अनुसार जनकपुर बृहत्तर क्षेत्र विकास परिषदले यस आर्थिक वर्षमा देवान पोखरीको सौन्दर्यकरणको लागि १८ लाख रुपैयाँ उपभोक्ता समितिलाई दिएपनि समयमा काम सम्पन्न नगर्दा बजेट फ्रिज भएको छ ।

त्यस्तै, बौद्धि माई मन्दिरको पछाडि रहेको रामसागर तलाउलाई स्थानीय राम यूवा क्लबले समेत बेवास्ता गर्दा यो पोखरीमाथि विभेद भएको स्थानीय विकासकुमार साहले दुखेसो पोखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप