आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर : अन्तर्राष्ट्रिय स्तर, १८ करोडको निःशुल्क सेवा

बिहीबार, ०६ मङ्सिर २०७५, ०९ : ५०
बिहीबार, ०६ मङ्सिर २०७५


काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर स्थापनाको हिसाबले लामो समय भए पनि यसको नाम सुन्ने कमै छन् । धेरैले यो उपचार सेन्टरलाई त्रिवि शिक्षण अस्पतालकै एउटा विभाग भनेर बुझ्ने गर्छन् । तर त्रिवि शिक्षण अस्पताल परिसरमै भए पनि यो अस्पताल भने फरक हो । 

विगत ९ वर्षदेखि नागरिकको सेवा र त्यसमा पनि ३ वटा रोगको मात्रै उपचार गर्दै आइरहेको मनमोहनमा जब प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार गरियो, त्यसपछि भने धेरैलाई यो अस्पतालका बारेमा पनि जानकारी भयो ।

मनमोहन सेन्टरमा मुटु, फोक्सो र मुटुबाट पम्पगरेपछि आउने रगतका नसाहरू (भास्कुलर) ३ वटा विधामा उपचार गर्दै आइरहेको छ । 

गत आर्थिक वर्षमा सेन्टरबाट ६५ हजारले स्वास्थ्य सेवा लिएको तथ्याङ्क छ । सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम कृष्ण श्रेष्ठकाअनुसार पछिल्ला वर्षहरूमा यो सेन्टरबाट निःशुल्क उपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । 

१८ करोडको निःशुल्क सेवा 

यो अस्पतालले हालसम्म १८ करोड रुपैयाँ बराबरको निःशुल्क सेवा नागरिकहरूलाई प्रदान गरेको छ । केन्द्रका निर्देशक डा. श्रेष्ठका अनुसार नेपाल सरकारको सहयोग, अस्पतालले आर्जन गरेको पैसा र विभिन्न सङ्घसंस्थाले गरेको सहयोग जोड्दा १८ करोड रुपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरेको हो । जसमध्ये १५ वर्षसम्मका बालबालिका र ७५ वर्षका वृद्धावृद्धहरू धेरै छन् ।  यस्तै अन्य उमेरका मुटुको समस्या भएर आएकाहरूलाई पनि विपन्न नागरिकको पत्रको आधारमा अस्पतालले एक लाख बराबरको उपचार प्रवाह गर्दै आएको छ ।

मुटु जस्तो महत्वपूर्ण अङ्गमा समस्या आएको खण्डमा उपचार गर्न सक्ने क्षमता निकै कम नेपाली नागरिकमा भएको भन्दै निर्देशक श्रेष्ठले सरकारले उपलब्ध गराएको सेवाले धेरैलाई राहात पुगेको बताए । मनमोहन सेन्टरकै कर्मचारी आफैले पनि पैसा सङ्कलन गरेर विपन्न नागरिकहरूलाई सहयोग गर्दै आएको डा. श्रेष्ठको भनाइ छ । 

४१ बेड थपिँदै 
हालसम्म ८० बेडबाट सेवा प्रदान गरेको महमोहनले गत आर्थिक वर्षमा मात्रै १९ सय शल्यक्रिया गरेको थियो । सेन्टरमा बिरामीको चाप बढ्न थालेसँगै नयाँ भवन पनि निर्माण भइरहेको छ । 

बर्सेनि उपचार गर्ने नागरिकको सङ्ख्या बढ्दै गएकाले सेन्टरमा उपचार गर्न आउने बिरामी अन्यत्र जानु नपरोस् भन्ने उद्देश्यले नयाँ भवन निर्माण गर्न लागिएको अस्पतालले जनाएको छ । 

नयाँ भवनमा ४१ बेड राखिनेछ । एक वर्षमा नयाँ भवनबाट सेवा दिने तयारीका साथ काम भइरहेको सेन्टरले जनाएको छ । अहिलेसम्म अस्पतालमा आएका बिरामीले पैसा अभावमा उपचार नरोकिएको कार्यकारी निर्देशक श्रेष्ठले रातोपाटीलाई बताए ।  

औषधिमा सहुलियत 
मनमोहन सेन्टरले अस्पतालको फार्मेसीबाट भारी छुटमा औषधि उपलब्ध गराउँदै आएको दाबी गरेको छ । निर्देशक डा. श्रेठका अनुसार कतिपय औषधिमा ७० प्रतिशत कम मूल्यमा दिइँदै आएको छ । 
अस्पताल आफैले औषधिकोे टेन्डर गर्ने गरेकाले बाहिर १० रुपैयाँ पर्ने औषधि यो अस्पतालको फार्मेसीले ७ रुपैयाँमा बिक्री गर्ने गरेको जनाएको छ । हाल अस्पतालमा झण्डै ८ करोड मूल्य बराबरको औषधि स्टक रहेको छ । 

अन्तर्राष्ट्रिय स्तरको सेवा 
४ सय कर्मचारी रहेको मनमोहनको नयाँ भवन बनेपछि उपलब्ध गराउने सेवा फरक किसिमको हुने अस्पतालले जनाएको छ । अस्पतालको स्रोत साधन र सेवा युरोपियन देशहरूले दिँदै आएको स्वास्थ्य सेवासँग तुलना गर्न मिल्ने खालको सेवा हुने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप