मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कस्तो छ तपाईंको आजको भाग्य ?

बिहीबार, ०६ मङ्सिर २०७५, १० : ३४
बिहीबार, ०६ मङ्सिर २०७५

वि.सं. २०७५ मङ्सिर ०६ गते । बिहीबार । इस्वी सन् २०१८ नोभेम्बर २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि चतुर्दशी १५ घडी १३ पला, मध्यान्ह १२ बजेर ३६ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र भरुणी, ३० घडी १४ पला, बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त कृतिका । योग वरियान, २० घडी ५० पला, दिउँसो ०२ बजेर ५१ मिनेट उप्रान्त परिध । करण वणिज, मध्यान्ह १२ बजेर ३६ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर १६ मिनेट उप्रान्त वव । आनन्दादिमा मद्य योग । चन्द्रराशि मेष, रातको १२ बजेर ३५ मिनेट उप्रान्त वृष । शिव–वैकुण्ठ चतुर्दशी व्रत । पूर्णिमा व्रत । डोटीमा केदार पूजनोत्सव । भागेश्वर मेला । डोटीको दिपायलमा जाँत । धादिङमा किरान्चोक कालिका भगवती यात्रा ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ३१ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी ३१ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अन्य प्रतिस्पर्धीलाई टप्न सकिनेछ भने सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट सेवा सुविधा प्राप्त हुने योग रहेको छ ।


बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ । खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्इंदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । काम गर्दा सजक हुनुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : सरकारी तथा पैत्रिक धन सम्पत्ति हातलागि हुने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहजै अगाडि बढ्नेछ । सवारी साधन तथा अन्य सम्पत्तिहरू लाभ हुने योग रहेको छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउँन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा बढी नै आम्दानी हुने हुँदा नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ भने रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ । जागिर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न  सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको गतिलो उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरू बनाई आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । लामो दूरीको शैक्षिक तथा धार्मिक यात्राको मिति तय गर्न सकिनेछ । 

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : काम गर्ने सवालमा आलोचनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेको छ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्काबीच अविश्वास बढ्ने योग रहेको छ भने भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला, झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्नीबीचको सम्बन्धमा केही खल्लो अनुभूति भएको महशुस हुनेछ भने प्रेम सम्बन्धमा अविश्वास बढ्ने योग रहेकोछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : पढाइ लेखाइमा समय दिन नसक्दा नतिजा अरूकै पोल्टोमा पर्नेछ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरू हावी हुनाले कामहरू प्रभावित हुनेछन् । न्यायिक निर्णयहरू तपाईंको पक्षमा नआउने हुनाले आजको दिन यस्ता क्रियाकलापमा सामेल नहुनुहोला । पुराना रोग तथा ऋणहरू पुनः बल्झिने हुँदा मानसिक तनाव बढ्नेछ । प्रेममा एकअर्काबीच वैमनस्यता बढ्ने हुँदा छुट्टिनुपर्नेछ भने आफन्त तथा मावली पक्षसँग विवाद बढ्न सक्छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुने भए पनि भनेजस्तो पारिश्रमिक पाइने छैन । विद्यामा सफलता पाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा असहयोग हुनेछ  । व्यापार व्यावसायमा लगानी नबडाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ  । पेटसम्बन्धी समस्याले सताउनेछ हुँदा मानसिक तनाव बढ्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) : समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरू तपार्इंदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरूले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाज सेवामा अलि बढी गम्भीरता अपनाउनुहोला आलोचना गर्नेहरू सक्रिय रहनेछन् । कृषि पेसा अपनाउनेहरूले मनग्गे रुपैयाँ पैसा सङ्ग्रह गर्न सक्नेछन् । प्रेममा अविश्वास बढ्ने योग रहेको छ भने कुनै काम गर्दै हुनुहुन्छ भने संयमता अपनाउनु होला ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : विभिन्न अवसरहरूको उपयोग गरी यथेष्ट धन सम्पत्ति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाइहरूको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजबुत हुने हुनाले सहसिलो काम गर्न सकिने, खेलकुद जस्ता गतिविधिमा संलग्न भई अगाडि बढ्न सकिनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : मीठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरू फत्ते गर्न सकिनेछ । प्रेम प्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेबल तथा विलासी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्इंकै पोल्टोमा पर्नेछ ।

तपाईंको दिन शुभ रहोस् ।         
युवा ज्योतिषि डीपी भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौँ 
फोन न. ९८०८३०७२७५
नोट : चिना तथा टिपन बनाउन, चिना हेराउन तथा वास्तुसँग सम्बन्धित जानकारीका लागि अवश्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप