कविता : दुःखी फूल
शनिबार, ०८ मङ्सिर २०७५, १२ : १९
पहराबीच सुनगाभा नाच्छ
हिलोबीच कमल बाँच्छ
काँडाबीच गुलाफ हाँस्छ
अभावबीच तिमीले फुल्न बिर्सिदिए
यो वैरागीलाई कसले पिरती गाँस्छ ?
समयको डोबहरूमा
केही प्रेमिल सम्झनाका पाइलाहरू
त्यतिखेरसम्म ज्युँदा हुनेछन्
जतिखेरसम्म तिमीले अरूको शिरमा सजिन
हाँगाबाट चुँडिएर मृत्यु स्वीकार्ने छौ ।
अभावबीच फुल्नु
मृत्युलाई भुल्नु
कुनै संयोग ?
कुनै वियोग ?
या कुनै कर्तव्य ?
आफूलाई यही सम्झ– दुःखी फूल !