आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हात नभएका बालबालिकाका लागि अब निःशुल्क ‘थ्रीडी प्रिन्टेड’ हात

बुधबार, १२ मङ्सिर २०७५, १० : ५७
बुधबार, १२ मङ्सिर २०७५

काठमाडौँ । रोश्नी खड्का अहिले १७ वर्षकी भइन् । उनी अहिले कक्षा १२ मा अध्ययनरत छिन् । तर उनको बायाँ हातको हत्केला जन्मिँदादेखि नै थिएन । उनकी आमा गङ्गा खड्काले उपचारका लागि छोरीको हात धेरै अस्पतालमा देखाइन् र बुझिन् । तर जन्मदै नभएको  हातको उपचार गरी बनउन नसकिने कुरा चिकित्सकले बताएपछि अस्पताल धाउन छाडिन् । 

उदयपुर गाईघाट स्थायी घर भएकी रोश्नीको हात नहुँदा परिवारले भन्दा पनि समाजले धेरै कुरा काटे । जिन्दगीभर पाल्नुपर्ने छोरी जन्माई भनेर समाजले कुरा काट्ने गर्थे । यसले उनको मनमा चिसो पस्थ्यो । तर हुर्कंदै गएपछि छोरीले अध्ययनदेखि हरेक कुरा राम्रो गर्दै आइरहेकी छन् । 

रोश्नीको कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य छ । हातै नभए पनि साहारा दिने कुनै कृत्रिम हात भए पनि हुन्थ्यो भन्ने उनको परिवारलाई लागेको थियो । 

छोरीको कृत्रिम हात खोज्ने क्रममा आफन्तको माध्यमबाट इनेबल नेपालको कार्यालयमा पुगे । इनेबल नेपालबाट ‘थ्रीडी प्रिन्टेड’ हात निःशुल्क पाए । यसबाट रोश्नी र उनको परिवार ज्यादै खुशी छन् । अहिले रोश्नीलाई कलेजमा, ल्याबमा नयाँ कुरा सिक्न र स्कुटी चलाउन सक्छु कि भन्ने लागेको छ ।  

इनेबल नेपालले अहिलेसम्म रोश्नीजस्तै १३ जना बालबालिकालाई ‘थ्रीडी प्रिन्टेड’ हात निःशुल्क वितरण गरिसकेको छ । इनेबल नेपाल स्थापना भएको ३ महिना भयो । यो अवधिमा कमै भए पनि आफूहरुले राम्रो काम गरेको इनेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठले बताए । ‘थ्रीडी प्रिन्टेड’ हातका लागि संखुवासभा, सिन्धुपाल्चोक, पोखरा आदिबाट काठमाडौँमा आएर हात लगाउने गरेका छन् । 

यसरी सुरु गरियो ‘थ्रीडी प्रिन्टेड’   

इनेबनल नेपालका महासचिव श्रेष्ठ भन्छन्, ‘थ्रीडी प्रिन्टेड’  हात बनाउने योजनै बनाएर सुरु गरिएको थिएन । यो यतिकैमा आएको हो । गत वर्ष क्यानाडा जाँदा नेपालमा नयाँ काम के गर्ने भन्ने विषयमा त्यहाँ बस्ने मेरा साथीहरूसँग छलफल भयोे । सो समयमा ‘थ्रीडी प्रिन्टेड’  हातको कुरा आएको थियो र अहिले काम पनि सुरु गर्यौँ ।’

नोबेल अस्पतालका व्यवस्थापन प्रमुखसमेत रहेका श्रेष्ठले काम सुरु गरेको ३ महिनामा धेरै राम्रो भएको बताए । ‘थ्रीडी प्रिन्टेड’ हात प्रयोग गर्नेमा जन्मजात हात नभएका बालबालिको सङ्ख्या धेरै छ । आफूहरुले निःशुल्क वितरण गरेको ‘थ्रीडी प्रिन्टेड’ हातले बालबालिकालाई ठूलो सहयोग मिलेको संस्थाको भनाइ छ । ‘थ्रीडी प्रिन्टेड’ हात क्यानाडामा बस्ने ऋषि श्रेष्ठ, अमेरिकामा बस्ने प्रमोद श्रेष्ठको सहयोगबाट थालिएको हो । 

बालबालिकाका लागि मात्रै किन 

‘थ्रीडी प्रिन्टेड’  हात वितरण गर्ने लक्षित समूह नै बालबालिका हुन् । १६ वर्षसम्मका बालबालिकालाई निःशुल्क वितरण गर्दै आएको ‘थ्रीडी प्रिन्टेड’ हात ठूलाको लागि भने बन्ने गरेको छैन । 

‘थ्रीडी प्रिन्टेड’ हातले ठूला–ठूला काम गर्न सक्दैन, भारी उचाल्न सक्दैन । ठूलो मान्छेलाई हातबिना पनि दैनिक जीवनमा बानी परिसकेका हुनाले बालबालिकालाई लक्षित गरिएको इनेबलले बताएको छ । एउटा हात भएको कारणले साना बालबालिकालाई विद्यालय जान, कुनै पनि प्रतियोगितामा भाग लिन असहज हुने, अरूसँग लजाउने, साथीभाइले गिज्याउने र विद्यालय जान मान्दैनन्, त्यस्ता १६ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यसको सुरुवात गरिएको हो । यो कामले बालबालिकालाई धेरै राहात पुगेको संस्थाको भनाइ छ ।  

‘थ्रीडी प्रिन्टेड’ बनाउँदा बालबालिकाको हातको नाप लिइन्छ । कुहिनाभन्दा तल २ देखि ३ इन्चसम्म हात भएका बालबालिकाले ‘थ्रीडी प्रिन्टेड’ हात प्रयोग गर्न सक्छन् । 

क्यानाडाबाट आएको सहयोगी टिमले नेपालमै आएर एक महिनासम्म हात बनाउने तालिम दिए । तिनै तालिम प्राप्त ४ जना प्राविधिक टिमले हातको नापजाँच गर्ने र सोहीअनुसार बनाउने कार्य गर्दै आएका छन् । 


माग धान्नै गाह्रो 

अहिले ‘थ्रीडी प्रिन्टेड’ हातको बारेमा बुझ्नेहरु धेरै छन् । उपत्यका बाहिरबाट पनि बालबालिकालाई लिएर आउने र ‘थ्रीडी प्रिन्टेड’ हात लगाएर जानेहरु पनि बढ्दै छन् । दशैँ, तिहार र छठको लामो बिदा सकियो । अब कामले गति लिने संस्थाको भनाइ छ । तर जुन ठाउँमा यसको माग छ त्यही ठाउँमा सेवा पुर्याउन अझै केही वर्ष लाग्ने अवस्था छ । साना बालबालिकाले गर्ने सबै प्रकारको काम ‘थ्रीडी प्रिन्टेड’  हातले गर्न सक्छ । पौढी खेल्न, लेख्न, ब्याग बोक्न, साइकल चलाउने आदि हरेक काम गर्न मिल्छ । यस्तै इनेबलले थ्रीडी प्रिन्टेड हात प्रदान गरेका बालबालिकालाई ठूलो हुँदा पनि हात दिने संस्थाको तयारी छ ।

यस्तै प्राविधिक समुद श्रेष्ठ भन्छन्, ‘मेसिन निरन्तर चलेको खण्डमा एउटा हात बन्नका लागि ४८ घण्टा लाग्छ । प्रिन्टमा कुनै खराबी नआएमा नाप लिएको ७ दिनभित्रमा हातको दिन सकिन्छ । निरन्तर प्रिन्टमै बिग्रियो भने कसैकसैलाई नाप लिएको १५ लाग्ने गरेको श्रेष्ठले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप