आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सक भन्छन्, ‘निमर्लाका बाबुमा देखिएको मनोसामाजिक समस्या हो’

बुधबार, १२ मङ्सिर २०७५, १३ : १९
बुधबार, १२ मङ्सिर २०७५

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज अहिले त्रिवि शिक्षण अस्पतालमा उपचारत छन् । निर्मलाको हत्यारा पत्ता लगाउन सरकारले बेवास्ता गरेको भन्दै यज्ञराजले कञ्चनपुरमानै धर्ना सुरु गरेका थिए ।   

सो समयमा स्वास्थ्यमा समस्या देखिएको कारण उपचारको लागि काठमाडौँ ल्याइएको हो । रुने, हाँस्ने, बर्बराउने, गालीगलौज गर्न थालेपछि उनको मानसिक समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । 

आइतबार उपचारमा ल्याएका पन्तमा देखिएको समस्या सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । त्रि.वि शिक्षण अस्पतालका मानसिक विभागका प्रमुख प्राध्यापक डाक्टर सरोज प्रसाद ओझाले पनि यज्ञराज पन्तमा देखिएको सामान्य मनोसामाजिक समस्या भएको बताए । 

डा. ओझा भन्छन् ‘स्वास्थ्य शारिरीक, मानसिक र सामाजिक हरेक कुरामा समावेश भएको हुन्छ । नेपालको सन्दर्भमा स्वास्थ्य भन्ने बितिकै ठूला रोगहरुलाई मात्रै मान्दै आइरहेका छौँ । तर अहिले नेपालमा पनि अध्ययन गर्ने हो भने कुलजनसंख्याको २० प्रतिशत मानिसलाई मानसिक रोग हुन्छ ।’ 

मानिसले विभिन्न किसिमको तनावहरु झेल्नुपर्ने हुँदा, कुनै कडा खालको तनाव हुँदा मानसिक रुपमा समस्या हुने गरेको झा बताउँछन् । जस्तै कसैलाई बलात्कार ग¥यो, कसैलाई मार्ने धम्की आयो, कसैको घरमा ठूलो चोरी भयो या कसैले आफ्नो नजिकको मान्छे गुमायो भने  त्यो कुरालाई सहन सक्ने क्षमता केहीमा हुन्छ भने केहीमा सहन सक्ने क्षमता हुँदैन । ‘त्यो समयमा मानसिक समस्या देखिने गरेको छ,’ डा. झा बनाउँछन् । 

यज्ञराज पन्तको हकमा पनि यस्तै कारणले गर्दा सामान्य खालको मनोसामाजिक समस्या देखिएको उनको भनाई छ । 

प्रतिशतको आधारमा २० भए पनि संख्यामा हेर्ने हो भने नेपालमा पनि झण्डै ५०–६० लाख मानिसमा यस्तो समस्या हुने गरेको डाक्टर ओझाले बताए । 

मनोसामाजिक समस्यामा कोही बेहोस हुन्छन्, कोही बर्बराउँछन्, कसैको पेसर बढ्ने–घट्ने, कसैलाई निन्द्रा नलाग्ने हुन्छ भने कसैको सुगर बढ्ने, बालिकाहरु बेहोस हुने गर्छन् । 

डा. झा भन्छन्, ‘आफूमा परेको ठूला घटनाहरुमा व्यक्तिको सहनसक्ने क्षमता, उनलाई समाजले गरेको सहयोगमा भरपर्छ । मानसिक स्वास्थ्य धेरै महत्वपूर्ण विधा हो हामी मानसिक रुपमा स्वास्थ्य भएनौँ भने स्वास्थ्य रहन सक्दैनौँ । मानसिक स्वस्थ्य हुनको लागि हामीले तनावहरुलाई सकारात्मक रुपमा झेल्नु पर्ने हुन्छ ।’ 

मानसिक स्वास्थ्यको सबै भन्दा महत्वपूर्ण कुरा आफूमा परेको समस्यालाई झेल्न सक्नु हो । सहनै नसक्ने हो भने आफुमा देखिएको तनावले एक किसिमको सामाजिक समस्याहरु ल्याउने चिकित्सकहरु बताउँछन् । 

मानसिक अर्थात मनोसामाजिक समस्याको उपचार विधि भनेको परामर्श हो । भने केही औषधिको माध्ययमबाट पनि काम गर्नु सकिन्छ । चिकित्सकको भनाई अनुसार कतिपय मनोसामाजिक समस्या आफै पनि निको हुन्छन् ।

यज्ञराज पन्त उदाहरण मात्रै हुन् तर शिक्षण अस्पतालमा धेरै यस्ता विभिन्न घट्नापछि मनोसामाजिक समस्या भएका बिरामीहरु आउने गरेको डा. ओझाको भनाई छ ।

मनोसामाजिक समस्या ५ जनामध्ये एक व्यक्तिमा देखिने गरेको छ । स्वस्थ रहन योगा, व्यायाम  गरे जस्तै तनाव बहन गर्ने कुरालाई ध्यानमा राख्न सक्यौँ भने तनाव पछि आउने समस्या कम गर्न सकिने डाक्टर ओझा बताउँछन् ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप