आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषिमा अब्बल सत्यवतीः  किसानलाई अनुदानदेखि गाडीसम्म

बुधबार, १२ मङ्सिर २०७५, १८ : ३६
बुधबार, १२ मङ्सिर २०७५

बुटवल– प्रदेश ५ का १०९ वटा स्थानीय तहमध्ये कृषि उत्पादन र पशुपालनलाई व्यवसायीकरण गर्नमा गुल्मीको सत्यवती गाउँपालिका अब्बल देखिएको छ । उसले दुर्गम गाउँको कृषि उत्पादनलाई  बजारीकरण गर्नका लागि गाडीसमेत खरिद गरेर किसानहरुलाई दिएको छ । सत्यवती गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँ वडा नम्बर ३ को ठुलो लुम्पेकमा यसबर्ष साढे १२ लाख रुपैयाँ गाउँपालिकाबाट छुट्टाएर   ढुवानीका लागि गाडी खरिद गरिएको छ । सो गाडीले त्यहाँ उतपदन भएको तरकारी बुटवलसम्म पुर्याउने गर्दछ ।

‘अघिल्लो बर्ष वडाको सिर्जनशील कृषि समुह लगायत सयौं किसानहरुले उत्पादन गरेको तरकारी ढुवानी गर्ने गाडीको अभावमा खेर गर्यो’ गाउँपालिका प्रमुख पारिश्वर ढकालले भने– ‘त्यसपछि हामीले त्यहाँका किसानलाई निरास नपार्न साढे १२ लाख गाउँपालिकाले छुट्टयाउने र बाँकी किसानले ब्यहोर्ने गरी गाडी खरिदको प्रकृया अगाडि सारेर खरिद गरी उनीहरुलाई दिएपछि अहिले त्यहाँको तरकारी बुटवल बजारसम्म  पुर्याउन सकिएको  छ ।’

उनका अनुसार वडा नम्वर ३ को ठुलोलुम्पेक गाउँमा गत बर्ष ३ सय टनेलमा तरकारी खेती गरिँदै आएकोमा  यसबर्ष थप २ सय टनेल टमाटर खेतीका लागि रकम छुट्टाईएको छ । टमटारका अलवा काउली, बन्द, सिमी लगायतको तरकारीमा १५ वटा समुह र सयौं युवा ब्यवसायिक रुपले क्रियाशील रहेका छन ।

जनजाती वस्ती ठुलो लुम्पेकमा बङ्गुर, कुखरा पालन र औलो वनस्पतिबाट कपडा उत्पादन पनि हुँदै आएको छ । यसबर्ष २ सय क्विनटल तरकारी त्यहाँबाट बुटवल बजारमा विक्री वितरण भई सकेको छ । त्यस्तै वडा नम्बर १ अस्लेवाको चौरफाँटमा एउटै गह्रामा २५ मुरी धान फल्ने खेतहरुमा अहिले उक्त परम्परागत खेती छाडेर किसानहरुले व्यवसायिक तरकारी खेती सुरु गरेका छन् ।

त्यस गाउँका युवा अर्जुन कनौजेले बार्षिक २० लाखभन्दा बढिको तरकारी खेतीमा कारोवार गर्ने गरेका छन् । उक्त वडालाई बीउ विजन उत्पादनको भण्डारका रुपमा विकास गर्न लागिएको पालिका प्रमुख ढकालको भनाई छ  । वडा नम्वर २ चेहमी गाउँमा अण्डा उत्पादनका लागि लोयर जातको कुखरा वितरण समेत गाउँपालिकाले गरेको छ । जुन गाउँलाई  खसी बोका र माछा उत्पादन पकेट क्षेत्र बनाई सिङ्गो सत्यवतीलाई माछा मासुमा आत्मनिर्भर बनाउने गरी गाउँपालिकाले योजना अगाडी सारेको छ ।

वडाका खड्गबीर थापा लगायतका युवाहरुले ठुलो परिमाणमा माछा उत्पादनका लागि पोखरीहरु निर्माण गरी माछा उत्पादन गरिरहेका छन् । उनीहहरुले दुग्ध उत्पादनका लागि ठुला–ठुला फर्महरु  निर्माण गरेका छन् । वडा नम्वर ४ को लिम्घामा ढोरपाटनको स्वादिलो आलु उत्पादन पकेट क्षेत्र बनाईएको छ । जहाँ आलु र टमाटर खेतीलाई पनि व्यवसायीकरण गरिएको छ ।  वडा नम्वर ५ हसरामा खाद्यन्न उत्पादन र आपूर्तिको केन्द्र ठानिएको छ । समथल फाँट रहेको तल्लो भाग खैरेनीलाई धान मकै गहु खेती र दुग्ध उत्पादनको केन्द्र बनाउने गरी गाउँपालिकाले योजना अगाडी सारेको छ ।

वडा नम्वर ६ जोहाङ्गको तल्लो समथल खेतलाई वीऊ विजन उत्पादनको केन्द्र  र माथिल्लो भागलाई व्यवसायिक अदुवा खेतीको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । वडा नम्वर ७ जुनियाँको माथिल्लो भागमा बाख्रा पालन र तल्लो समथल फाँटहरुमा तरकारी उत्पादनको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ ।

वडा नम्वर ८ भार्सेलाई महँङ्गो फल किबी खेती र सुन्तला खेतीको पकेट क्षेत्र बनाइएको छ । त्यहाँका कृषक अगुवा धनबहादुर पुनले किबी खेती लगायतको कृषि उत्पादनलाई गाउँव्यापी बनाएका छन् । ७० वटासम्म भैंसीपालन गरेका उनले किबी खेती जंगलभरीनै गरिरहेका छन् ।

एकवर्ष अघि मलेसियाको रोजगारीको अनुभव संगालेर फर्किएका त्यहाँका टिका श्रीसले ४७  वटाबाट बाख्रा पालन सुरु गरेका छन् । उनले तरकारी खेतीका लागि टनेल निर्माण गर्दै सुरु गरेको उक्त व्यवसायबाट  आगामी दिनमा सत्यवतीका कुनै पनि युवा विदेश जान नपर्ने गरी रोजगारी दिन सक्ने उद्घोष समेत गरेको गाउँपालिका प्रमुख ढकाल बताउँछन् ।

यसरी भार्सेका आठवटै वडामा गुरु योजनाका साथ कृषकहरुलाई कृषि र पशुपालनका कार्यक्रमहरु अगाडी सारेपछि युवाहरु विदेशिनेक्रम पनि घट्दै जान थालेको ढकालको ठम्याई छ । कृषि क्षेत्रमा यसबर्ष मात्रै झण्डै एक करोड रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत  यादव भण्डारी बताए । त्यस्तै पशुपंछी पालनका लागि करिब ७० लाख रकम विनियोजन गरिएको भण्डारीले जानकारी दिए ।

उनले भने–‘यहाँको गाउँपालिका परिषदले कृषि उत्पादन र पशुपंछी पालनलाई मुख्य आधार बनाएको छ, सोही अनुरुप हामी कार्यन्वयन गर्दै छौं । कृषकहरुलाई हामी ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौं ।  तरकारीका अलवा किबी खेती, कफी खेतीतर्फ पनि कृषकलाई प्रोत्साहित गरिरहेका छौं, टनेल निमार्ण, साना सिञ्चाई कार्यक्रम र स्थलगत तालिमहरु पनि धमाधम चलाईरहेका छौं, यसमा कृषकहरु प्रोत्साहित हुनु भएको छ र गाउँपालिका कार्यालय परिवारमा पनि उर्जा मिलेको छ ।’

गाउँपालिका प्रमुख ढकालले कृषि र पर्यटन विकास सत्यवती विकासको मूल आधार बनाएर अगाडि बढेको बताए । ‘साविक लुम्बिनी अञ्चलकै सबैभन्दा अग्लो लेक थाप्ले हाम्रै गाउँपालिकामा छ ।  हिले र ऐतिहासिक दरवारको अवशेष रहेको कोर्चिङ्गकोट लेक, कालिगण्डकीको किनारमा अवस्थित शालिग्रामको भण्डार रुद्रवेणी धाम पनि हाम्रै छ, उनले भने यी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चाहन्छौं । ’

 यसै बर्ष भार्सेको जमादी भन्ने स्थानमा विमानस्थलका लागि सम्भाव्यता अध्यान गरिँदै  गरेको बताउँदै उनले थपे–‘बढिघाट खोलामा ¥याप्टिङ्ग सञ्चालनका लागि यसै बर्षदेखि काम सुरु गरिँदै छ । उता  कालिगण्डकीको साँघुरेमा बाँध बाधेर विशाल जलसाय निर्माण गरी पर्यटकहरु भित्राउने योजना पनि अगाडि सारिएको छ ।’

उनका अनुसार पश्चिम नेपालमै सबैभन्दा बढी बृद्धबृद्धाहरु रहेको रुद्रवेणी राममन्दिर किनारमा शालिग्रामहरुबाट विशाल शिजजीको मूर्ति निर्माण गरी विश्वभरका ५० आंै लाख हिन्दुधर्मलम्वीहरु त्यहाँ भित्राउने योजना समेत अगाडि सारिएको छ ।

 ‘कृषि, पशुपालनबाट सत्यवतीलाई आत्मा निर्भर बनाउँदै कालिगण्डकी कोरिडोर र अर्को हाईवे रिडी रुद्रवेणी वामीटक्सार खर्वाङ्ग ढोरपाटन सडकलाई प्रयोग गरी यहाँको उत्पादन निर्यात गराउन सकियो भने यहाँका जनताको मुहार फेरिने हाम्रो निश्कर्ष रहेको छ’– प्रमुख ढकालले भने  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप