सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : जानकी मन्दिर सौन्दर्यीकरण योजनाको शुभारम्भ

बिहीबार, १३ मङ्सिर २०७५, १५ : ०१
बिहीबार, १३ मङ्सिर २०७५

 जनकपुर–  हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र तथा धार्मिक एवं पर्यटकीयस्थलका रुपमा रहेको जनकपुरस्थित जानकी मन्दिर सौन्दर्यकरणको काम सुरु भएको छ । 

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरको सौन्दर्यकरणका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बिहीबार सौन्दर्यकरणको संयूक्त शिलान्यास गरेका हून् ।

शिलान्यासपछि जानकी मन्दिरको सौन्दर्यकरण प्रारम्भ भएको घोषणा गरिएको छ । मुख्यमन्त्री राउत र भौतिक पूर्वाधार विकास मन्त्री सोनलले हिन्दु परम्परा अनुसार विधिवितरुपमा मन्त्रोचारण गरि  जानकी मन्दिरको सौन्दर्यीकरणको औपचारीक आरम्भ गरेका थिए ।

 जानकी मन्दिर सौन्दर्यीकरणको शिलान्यासका लागि मिथिलानी महिलाहरुले जनकपुरधामको पवित्र गंगासागर पोखरीबाट माटो ल्याएर पण्डितहरुले स्वस्तीवाचन समेत गरे ।

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले विकासको कामको थालनी माता जानकीको मन्दिरबाट गरेको बताए ।

उनले हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरबाट विकासको कामको शुरुवात गरिएकोले प्रदेशले विकासको गतिलाई कसैले रोक्न नसक्ने बताए । 

जानकी मन्दिरलाई स्वच्छ एवं सुन्दर बनाएमा जनकपुरधाम मात्र नभई प्रदेश दुई र सिङ्गै देश नेपाल त्यसबाट लाभान्वीत हुनसक्ने मुख्यमन्त्री राउतको भनाई छ ।

जानकी मन्दिर सौन्दर्यीकरणका लागि प्रदेश सरकारले ७ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराएको छ । मुख्यमन्त्री राउतले प्रदेश सरकारको यो पहिलो विकासको कार्यक्रम रहेको भन्दै यसलाई पुरा गर्न अपुग रकम प्रदेश सरकारले व्यहोर्ने स्पष्ट पारे ।

सौन्दर्यकरण पछिको जानकी मन्दिर यस्तो 
जानकी मन्दिर सौन्दर्यकरणको लागि तीन वटा प्रवेशद्धारको मर्मत सम्भार, जानकी मन्दिर परिसर भित्र मार्बल, ग्रे नाइट लाईट र जानकी मन्दिरको उत्तर, दक्षिण प्रवेशद्धारमा चरण गंगा निर्माण हुने डिजाइनर प्रभाकर चौधरीले जानकारी दिए । 

जानकी मन्दिर सौन्दर्यकरणको ठेक्का आरजे. रञ्जन कम्पनीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप