सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अदालतले वारेन्ट जारी गरेपछि महन्त फरार

आइतबार, १६ मङ्सिर २०७५, १३ : ५३
आइतबार, १६ मङ्सिर २०७५

जनकपुर– संस्कृत विश्वविद्यालयअन्तर्गतका हजारी जनक विद्यापीठको अर्बौं रुपियाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा अदालतले पक्राउ वारेन्ट जारी गरेपछि रतनसागर मठका महन्त बैकुण्ठ दास फरार छन् ।

दासले नक्कली लालपुर्जा बनाएर एक जनालाई सो जग्गाको धनी बनाएर बेचेको र सो जग्गा आफ्नो रहेको दाबी गर्दै अदालतमा मुद्दा दिएपछि उनी आफै फसेका हुन् ।

सोधपुछ गर्ने क्रममा अशोककुमार शर्माले प्रहरीलाई दिएको बयानअनुसार रतनसागर मठका महन्त बैकुण्ठ दासलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरेपछि साधुसन्तबीच चर्चाको विषय बनेको छ ।

अदालतबाट प्रहरीले पक्राउ पुर्जी पाए पनि महन्त बैकुण्ठ दास एक सातादेखि फरार छन् । उनलाई खोज्न प्रहरी टोलीसमेत परिचालन गरिएको छ ।

नक्कली लालपुर्जा धनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बसहिया निवासी अशोककुमार शर्माको बयानका आधारमा अदालतले धनुषा प्रहरीलाई महन्त बैकुण्ठ दासलाई पक्राउ गर्न वारेन्ट जारी गरेको हो ।

२ अर्बभन्दा बढी मूल्यको जनकपुरधाम उपमहानगरपालिका वडानम्बर ८ को अढाइ बिघा गुठी जमिनको कीर्ते जालसाजी गरी बैकुण्ठ दास जग्गाधनी र शर्मालाई मोही बनाइएको छ ।

यता नक्कली लालपुर्जा बनाएर जग्गा बेचेको अभियोग लागेका महन्तले ठगी मुद्दाबाट बच्न जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित जानकी वृद्धाश्रम छेउमै रहेको करोडौँ मूल्य पर्ने २ कठ्ठा जग्गा रेजा आलमलाई ४० लाख रुपैयाँमा बेचेको स्थानीयवासीले बताएका छन् ।

महन्त वैकुण्ठ दासलाई कीर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ पर्ने सम्भावना बढेपछि उनी राजनीतिक संरक्षण खोजिरहेको बुझिएको छ । 

त्यसका लागि उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको घरमा पुगेको बताइन्छ । महन्त दास धनुषा जिल्ला अदालतले वारेन्ट जारी गर्नुपूर्व नै मन्त्री महासेठलाई भेटेर बचाइदिन आग्रह गरेको एक महन्तले बताए ।


किन जारी भयो पक्राउ पुर्जी ?
जनकपुरमा संस्कृत विश्वविद्यालय स्थापनाका लागि जग्गाधनी रामचन्द्र साहले आङ्गिक कलेज जनक हजारी विद्यापीठका लागि दिएको जग्गामध्ये करिब ३ बिघामा रतनसागर मठका महन्तले बेच्ने हल्ला चलेपछि स्थानीयस्तरमा निकै विरोध भयो । 

तर रतनसागर मठका महन्त वैकुण्ठ दासले भित्रभित्रै गुठी संस्था जनकपुरलाई समेत छलेर मालपोत कार्यालय धनुषाबाट नक्कली लालपुर्जा लिई कलेजमाथि जाइलागेपछि उनले गुठीको जग्गामाथि कुदृष्टि लगाएको खुलासा भएपछि साधुसन्तबीच खैलाबैला नै मच्चियो । 

महन्त दासले कलेजको जग्गा कीर्ते जालसाजी गरी बेचेपछि उनले आफ्नो जग्गा रहेको दाबी गर्दै अशोककुमार शर्माले कलेजविरुद्ध अदालतमा मुद्दा दिए । 

पछि कलेजले समेत ठगी तथा जालसाजीको मुद्दा गुठी संस्था जनकपुर, महन्त वैकुण्ठ दास र शर्मामाथि समेत मुद्दा हालेपछि महन्तसँग रहेको लालपुर्जा नक्कली रहेको गुठी संस्थाले अदालतमा प्रमाण पेस गर्यो र महन्तले बद्मासी गरेको खुलासा भयो ।

यता महन्त दासले अदालतबाट बच्नका लागि गरेको एक गल्तीविरुद्ध अर्को गल्तीसमेत गरेका छन् । उनले आफू बच्नलाई जानकी वृद्धाश्रमको छेउमै रहेको २ कठ्ठा जग्गा जनकपुरका रेजा आलम भन्ने व्यक्तिलाई बिक्री गरेको जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रमेश ठाकुरले बताए । उक्त  जग्गामा जग्गा धनी रेजाले अहिले भवन बनाउन थालेका छन् ।

सोही मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले ठगी तथा जालसाजी मुद्दाका लागि अनुसन्धान गर्ने क्रममा दुई साताअघि अशोककुमार शर्मालाई समातेको थियो । 

तर उनले महन्त वैकुण्ठ दासलाई पोलेपछि बच्न उनी राजनीतिक संरक्षणको खोजीमा लागेका हुन् । 
यता जिल्ला प्रहरी कार्यालय धनुषाले भने महन्तको खोजी कार्य जारी राखेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप