सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेलम्चीको भाका अझै सरेको सर्‍यै : के कर्मचारी मन्त्रीलाई झुटो बिफ्रिङ गर्छन् ?

आइतबार, १६ मङ्सिर २०७५, १९ : २६
आइतबार, १६ मङ्सिर २०७५

काठमाडौं– आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा समितिकी सभापति कल्याणी कुमारी खड्काले खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसमक्ष ब्यङ्ग्य गरिन् । उनले भनिन– ‘मेलम्ची खानेपानी आयोजना सम्पन्न नभई रजत जयन्ती मनाउने भयो । आयोजना शूरु भएको २५ बर्ष हुन लागिसक्यो अझै काम सकिएको छैन ।’

उनले यसो भन्दा समितिको बैठकमा सबैले यसलाई स्वभाविक रुपमा लिइरहेका थिए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम सक्ने भाका सरेको सर्यै छ । जतिपनि खानेपानी मन्त्री फेरिन्छन्, उनीहरुले तत्कालको  छोटो अवधिभित्रै खानेपानी काठमाडौं झर्ने बाचा गर्छन् । तर यथार्थमा त्यो हुन नसक्दा सर्वसाधारणको अगाडि हाँसीमजाकको पात्र बन्छन् । 

बैठकमा सांसद प्रभु साहले पटक–पटक किन मेलम्चीको पानी काठमाडौं ल्याउने भाका फेरिन्छ भनेर प्रश्न गरे । उनले कर्मचारीहरुले मन्त्रीलाई झुट बोल्ने र मन्त्रीले त्यही सुनाउने गरिरहेको भन्दै झुट बोल्ने कर्मचारीलाई किन कारवाही नगर्ने भनेर प्रश्न गरे । 

यस्तै अर्का सांसद जिपछिरिङ लामाले सुरुङ खन्ने बेलामानै किन भेन्टिलेशन राखिएन ? किन दोहोरो काम गरियो भन्दै प्रश्न गरे । उनले काठमाडौंमा खानेपानीको पाइपलाइन राख्ने काममा ढिलाई गरेको र सडक धुलाम्मे भएका कारण आफ्नो स्वास्थ्यमा समेत असर परेको बताए । 

यता सांसद गणेश पहाडीले मेलम्चीको पानी आउने भाका पटक–पटक सारिरहेको बन्दै पानी कहिले आँउछ, ठ्याक्कै भन्न आग्रह गरे । उनले भने– ‘मेलम्ची खानेपानी विकास समितिले गरेको प्रस्तुतीकरण हेर्दा चैतसम्म पनि पानी नआउने बुझियो, कहिले आउँछ स्पष्ट पार्नुप¥यो ।’ उनले काठमाडौंमा पाइपलाइन बिच्छ्याउने कामले सडक धुलाम्मे भएको बताउँदै प्रभावित स्थानीयले मागेको लेवीको विषय पछि छिट्टै सुल्झाउन माग गरे । 

सांसद राजेन्द्रकुमार राईले बैठकमा मन्त्री किन नआएको भन्दै प्रश्न गरे । खानेपानी जस्तो मौलिक हकको विषयमा भइरहेको बैठकलाई मन्त्रीले हेलचेक्रयाई गरेको भन्दै आपत्ति जनाए ।  यता पूर्वप्रधानमन्त्री झलनाथ खनालले सांसदहरुले उठाएका जिज्ञासा,आक्रोशलाई मन्त्रालयले सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने– ‘यस्तो महत्वपूर्ण बैठकमा मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने हो, मन्त्री उपस्थित हुँदा व्यवस्थापिका र कार्यपालिका बीचको अन्तर सम्बन्धलाई संविधानअनुसार अघि बढाउन मद्धत पुग्छ, मन्त्रीलाई अनिवार्य उपस्थित गराएर मात्र बैठक डाक्नुपर्छ ।’

खनालले मन्त्रालयले खानेपानी आयोजना निर्माण गर्दा अबको १० बर्ष, २० बर्ष वा ३० वा सय बर्षसम्मको रणनीति बनाएर काम गर्न सुझाव दिए । उनले २०४६ सालदेखिको मेलम्चीको सपनामा अझै अन्यौलता रहेको भन्दै अबको २ महिनाभित्र पूरा गर्न आग्रह गरे । उनले निर्माण व्यवसायी कम्पनीले ३६ करोड नपाएर काम रोक्न खोजेको हो भने प्रधानमन्त्रीलाई भनेर सुल्झाउन पनि सुझाव दिए । 

किन आइनन् मन्त्री मगर ? 
अघिल्लो वर्ष चैतमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्ने काम पूरा भएको दिन खानेपानी मन्त्री विना मगरले निकै उत्साहित हुँदै दशैं अगाडिनै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने दावी गरेकी थिइन् । मन्त्री भए देखिनै मन्त्री मगरले अधिकांश सार्वजनिक कार्यक्रमहरुमा दशैं अघि काठमाडौंमा पानी ल्याएर छोड्ने दावी गर्थिन् । दशैं आयो र गयो तर काठमाडौंमा मेलम्चीको पानी आएन् । 

प्रतिबद्धता अनुसार किन मेलम्ची खानेपानी आयोजनाको काम भइरहेको छैन भन्ने प्रश्नको उत्तर खोज्न आइतबार संसदको विकास तथा प्रविधि समितिले बैठक बोलायो । तर मन्त्री मगरले समितिकी सभापति खड्कालाई आफू बिरामी परेको खबर पठाइन् । बैठकमा सचिव गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेल लगायतका कर्मचारी मात्र पुगे ।

 राज्यको महत्वपूर्ण आयोजनाको विषयमा छलफल डाकिदा समेत खानेपानी मन्त्री विना मगर किन आइनन् ? सांसदहरुले मन्त्रीको उपस्थिति किन भएन भनेर प्रश्न उठाएपछि त्यसको जवाफ दिने क्रममा सचिव ठाकुरले समय मिल्यो भने अहिले केही बेरपछि आउने बताएपछि सांसदहरुले मन्त्रीको अनिवार्य उपस्थिति नभई बैठक नबोलाँउन सभापतिलाई आग्रह गरे । 

मन्त्रालय सम्हालेपछि मन्त्री मगरले के आधारमा दशैंअघि काठमाडौंमा पानी आउछ भनेकी थिइन् ? प्राविधिक पक्षको अध्ययन नगरी कर्मचारीले बिना आधार भनिदिएको आधारमा मन्त्रीले भाषण गर्ने गरेका छन् । अहिले मन्त्री मगरले सार्वजनिक कार्यक्रममा मेलम्ची खानेपानीको नयाँ भाका भने सार्वजनिक गरेकी छैनन् । बैठकमा सांसद प्रभु साहले कर्मचारीले झुटो बोलेका कारण मन्त्रीले पनि झुटो बोल्नुपरेको बताउँदै झुटो बोल्ने कर्मचारीलाई कारवाही गर्न माग समेत गरे । 

सचिवले मागे माफी : २ महिना पछि कि १ सय ३० दिन पछि ?

बैठकमा विभिन्न प्राविधिक कारण देखाउँदै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले अबको १ सय ३० दिनमा सबै काम सकिने बताए । उनले २ किलोमिटर सुरुङको फाइनल फिनिसिङ् गर्न ३० दिन लाग्ने, २ वटा भेन्टिलेशन साफ्ट निर्माण गर्न ३० दिन लाग्ने, ९ वटा हाइ«ोमेकानिकल जडान गर्नुपर्ने, फाइनल फिनिसिङपछि इन्ट्युमेण्टेसन जडान गर्न ४५ दिन लाग्ने, हेडवक्र्सको मुख्य संरचना डाईभर्सन वेयर, इन्टेक, डिसिल्टिङ्ग बेसिन निर्माण, २६ वटा हाइड्रोमेकानिकल जडान गर्न १ सय ३० दिन लाग्ने विवरण प्रस्तुत गरेका थिए ।

उनको प्रस्तुतिकरणपछि सांसदहरुले मेलम्चीको पानी कहिले आउछ स्पष्ट पार्न आग्रह गरेपछि सचिव ठाकुरले कार्यकारी निर्देशकको भनाई भन्दा फरक २ महिनाभित्रै पानी आउने ठोकुवा गरे ।   उनले तोकिएको मितिमा काठमाडौंमा पानी ल्याउन नसकेकोमा माफी समेत मागे ।  

उनले भने– ‘भनेको समयमा काठमाडौँमा पानी ल्याउन नसकेकोमा म क्षमा चाहन्छु । अब ठोकुवासाथ लेखेर राख्नुस मेलम्चीको सुरुङभित्र ६० दिनभित्र पानी हालेरै छोड्छौँ । २ महिनामा सम्पूर्ण प्राविधिक काम सक्छौँ र पानी झार्छौ, झार्छौ, झार्छौ ।’ सचिव ठाकुरले बुटवल नेपालगन्ज खानेपानी आयोजनामा अनुचित काम भएको बताउँदै कसुरदार कर्मचारी जुनसुकै पदको भएपनि कार्वाही गर्ने दावी समेत गरे । 

३६ करोड नदिए ठेकेदार कम्पनीले काम रोक्ने 
मेलम्ची खानेपानी आयोजना निर्माणको काम गरिरहेको इटालियन कम्पनी सिएमसी दि रेभेनाले भूकम्प तथा नाकाबन्दी तथा अन्य कारणले ठेक्कामा तोकिएको रकमभन्दा बढी व्ययभार परेको भन्दै १ अर्ब ६५ करोड माग गरेको थियो । तर डिस्पुट बोर्डले ३६ करोड दिन उपयुक्त ठहर्याएको थियो ।

कम्पनीले अहिले उक्त रकम दावी गरिरहेको छ । ठेकेदार कम्पनीको इटालीमा रहेको केन्द्रीय कार्यालयले काम गर्न पैसा पठाएन भने काम रोकिन सक्नेछ भने कम्पनीले ३६ करोड उपलब्ध नगराए काम रोक्ने भन्दै औपचारिक पत्र समेत पठाएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कँडेलले बताएका छन् । कम्पनीलाई तत्काल यो रकम उपलब्ध नगराउने हो भने पनि आयोजनाको काम प्रभावित हुने देखिएको छ । 

मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न ३ सय १२ दशमलव ९ मिलियन अमेरिकी डलर लागत रहेको थियो । २७ दशमलव ५ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ३१ अर्ब खर्च भएको छ । 

यो पनि हेर्नुहोस : 

मेलम्ची सुरुङको ‘ब्रेक थ्रु’ भएकै दिन दुबैतर्फको सुरुङ बन्द गर्ने चेतावनी (भिडियो)​

मेलम्चीको पानीमा रोयल्टी विवाद

मेलम्ची खानेपानी लफडा : आगामी दशैंमा पनि मेलम्चीको पाइपबाट हावामात्र आउने​

मेलम्ची खानेपानीको काठमाडौंसम्मको सुरुङमार्ग पूरा, सुरुङभित्रैबाट यसरी गरियो सिन्धु–ग्याल्थुङ खण्डको ब्रेक थ्रु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप