सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यातायात व्यवस्था कार्यालय जनकपुर बर्दिवास सार्न खोजिएको भन्दै आन्दोलन

सोमबार, १७ मङ्सिर २०७५, १४ : ००
सोमबार, १७ मङ्सिर २०७५

जनकपुर– प्रदेश नम्बर २ सरकारले यातायात व्यवस्था कार्यालय जनकपुरलाई आफ्नो मातहत ल्याउन पहल थालिरहेको बेला संघीय सरकारले हस्तक्षेप गर्न खोजेको सरोकारवालाहरुले आरोप लगाएका छन् ।

प्रदेश सरकारले वीरगंज र लहानको कार्यालयलाई समेत आफू मातहतमा ल्याउन लागेको बेला संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कार्यालयलाई आफ्नो मातहत ल्याएर जनकपुर कार्यालयलाई पनि बर्दिवास सार्न लागेको उनीहरुको आरोप छ । 

जनकपुरकै शाखा कार्यालयको रुपमा रहेको बर्दिवास स्थित यातायात कार्यालयलाई दैनिक ३ सय ६० थान सवारी चालक अनुमतिपत्र जारी गर्न  यातायात व्यवस्था विभागले अनुमति दिएको छ भने जनकपुरस्थित यातायात व्यवस्था कार्यालयलाई  दुईपांग्रे र चार पांग्रे गरी मात्र १ सय ८० वटा लाईसेन्स प्रदान गर्न स्वीकृति दिइएको छ । 

 जबकी यसअघि जनकपुर स्थित यातायात व्यवस्था कार्यालयले दैनिक ५ सय भन्दा बढि सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको थियो ।

नेपाल ड्राइभिङ संघका केन्द्रिय सदस्य इन्द्रेश कुमार झाले संघीय सरकारले प्रदेश सरकार मातहत आएका यातायात व्यवस्था कार्यालय जनकपुरलाई पंगु बनाउने चलखेल गरेको आरोप लगाए । 

यातायात मन्त्री रघुवीर महासेठकै चलखेलमा कार्यालय सार्न लागिएको भन्दै सर्वसाधारणले सोमबार यातायात व्यवस्था कार्यालय जनकपुरको कामकाज २ घण्टा सम्म ठप्प पारेका छन् । 

सो क्रममा उनीहरुले चालक अनुमति पत्रको लागि ३५ किलोमिटरको दुरीमा रहेको बर्दिबास भन्दा बरु सर्लाहीको लालबन्दीमा अनुमति दिनुपर्ने माग गरेका छन् ।

त्यस्तै धनुषा चेम्बर अफ कमर्सले एक विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था कार्यालय जनकपुर बर्दिबास सार्न खोजिएको भन्दै आपत्ति जनाएको छ । कमर्सका अध्यक्ष विजय साहले नियोजित रुपमा यातायात व्यवस्था कार्यालय जनकपुरबाट सारिए कडा संघर्ष गर्ने चेतावनी  दिए । 

तर कार्यालयका निमित्त प्रमुख अजिम मन्सुरले यातायात कार्यालय सार्ने हल्ला निराधार रहेको बताउँदै दैनिक सवारी साधनको लागि दिइने अनुमति कोटामा कटौती भएको चाँही सत्य भएको बताए । 
यस सम्बन्धमा यातायात विभाग कार्यालयका डिजी लवन्य कुमार ढकालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप