सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : नेकपाका सांसदहरुको आन्तारिक विवादले प्रभावित हुँदै प्रदेशसभा

मङ्गलबार, १८ मङ्सिर २०७५, १६ : ०१
मङ्गलबार, १८ मङ्सिर २०७५

जनकपुर–  आन्तारिक विवादका कारण प्रदेश नम्बर २ को प्रदेशसभामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेताविहिन अवस्थाबाट गुज्रिँदैछ ।  नेकपाले नेता चयनका लागि प्रदेश २ मा गम्भिरता नदेखाएकै कारण  करिब २ महिनादेखि प्रदेशसभा वैठकनै प्रभावित हुने गरेको छ ।  

बैठकमा सो पार्टीका सांसदहरु आ–आफ्नै तरिकाले प्रस्तुत हुँदा विवादित समेत बन्ने गरेका छन् ।  प्रदेशसभामा नेकपा विपक्षी दलको रुपमा रहेपनि नेता विहिनताका कारण  कमजोर प्रतिपक्षीको भान् हुने गरेको टिप्पणी गर्छन् सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालका सचेतक परमेश्वर साह । उनी भन्छन्– ‘नेकपाको किचलोका कारण विभिन्न समिति उपसमितिका प्रतिनिधि चयनको विषयमा समेत विवाद हुँदा प्रदेशसभाको वैठकमा समेत असर पर्ने गरेको छ ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पनि विभिन्न विवादहरु सतहमा आईरहन्छन् । प्रदेश नम्बर २ मा संसदीय दलका नेतालाई लिएर सो पार्टीमा विवाद महिनौदेखि यथावतनै छ ।  
प्रदेशसभामा देखिएको अन्योलताले बैठकनै प्रभावित हुन थालेपछि कुनै एकले आधिकारिक रुपमा प्रक्रिया पुर्याएर आउन भन्दै प्रदेश सभाबाट पाउदै आएको सेवा सुविधा समेत खोसिएको सभामुख सरोजकुमार यादवले बताएका छन् । 

तत्कालीन एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले आ–आफ्नो दावीसहित प्रदेशसभा सचिवालयमा पत्र लेखेको थियो । तर फरक–फरक पत्रमा एक अर्काले दावी गर्न थालेपछि तत्कालीन एमालेबाट निर्वाचित संसदीय दलका नेता सत्यनारायण मण्डल र माओवादी केन्द्रबाट निर्वाचित रामचन्द्र मण्डलको समेत प्रदेशसभाको कार्यालयबाट पाउँदै आएको सेवा सुविधा खोसिसकेको जानकारी सभामुख यादवले दिए ।

यसरी सुरु भएको थियो विवाद 
पार्टी एकीकरणपछि असोज २३ गते जनकपुरमा बसेको नेकपाको बैठकले संसदीय दलको विधान मस्यौंदा गर्न ७ सदस्यीय समिति बनाएको थियो ।  सो बैठकले एकीकृत पार्टीको संसदीय दलको नेताको जिम्मेवारी आफुले पाएको भन्दै नेता सत्यनारायण मण्डलले सभामुख सरोजकुमार यादवलाई पत्र लेखे । त्यो पत्र लेखेलगत्तै तत्कालीन माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले समेत संसदीय दलको नेताको दावी सहित सत्यनारायणले पठाएको पत्र कार्यान्वयन नगर्न आग्रह गर्दै सभामुख यादवलाई पत्र लेखे ।

प्रदेशसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग–अलग दलको रुपमा रहेको, तर दुवै पार्टीको एकतापछि संसदीय दल पनि एकीकृत भएको भन्दै तत्कालीन नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले सभामुखलाई पत्र लेखेका थिए । उनले लेखेको पत्रमा भनिएको छ: ‘अर्को व्यवस्था नभएसम्म नेकपाको प्रदेश २ संसदीय दलको नेताको जिम्मेवारी आफैँले वहन गर्नेछ ।’ एकीकरण अघि प्रदेश २ मा एमाले र माओवादी केन्द्रको छुट्टै संसदीय दलको नेता र सचेतक तोकिएको थियो ।

एकीकरण पश्चात प्रदेशसभामा छुट्टाछुट्टै दलका नेता र सचेतकहरुले भने कुनै किसिमको दावी गरेको देखिदैन । प्रदेशसभामा देखिएको समस्या समाधानका लागि नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले संसदीय दल विधान मस्यौँदाका लागि प्रदेश सांसद भरत साहको संयोजकत्वमा ७ सदस्यीय समिति समेत बनायो । समितिले काम थाल्नु अघिनै सत्यनारायण मण्डलले संसदीय दलको पुरानै लेटरप्याडमा आफ्नै हस्ताक्षर सहितको पत्र सभामुखलाई पठाउँदै एकीकृत दल नेकपाको संसदीय दलको नेता आपूmनै रहेको दाबी गरे ।

त्यस्तै नेता रामचन्द्र मण्डलले पनि प्रदेशसभालाई एक पत्रमा लेखे– ‘विधान निर्माण नहुँदासम्म विगतका दुवै दलका संसदीय दलका नेता र सचेतक चार सदस्यीय संसदीय सञ्चालन सचिवालय गठन गरिएको छ । नेता रामचन्द्र मण्डलले सो पत्रमा थप्दै लेखेका छन्– ‘एकीकृत पार्टीको संसदीय दलको नेता चयन नभएको जानकारी गराउँछु ।’  प्रदेश २ मा तत्कालीन एमालेको २१ र माओवादी केन्द्रको ११ सांसद छन् भने पार्टी एकीकरणपछि नेकपाको सांसद संख्यामा विस्तार भएर ३२ पुगेको छ ।

यता, नेकपाका नेता एवं सांसद रामचन्द्र मण्डलले आउँदो २३ गतेसम्म संसदीय दलको नेताको कुरा टुंगिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप