नक्कली सहिछाप गरेर ७५ लाख झ्वाम पार्ने योजनाको पर्दाफास
जनकपुर– वीरगञ्जस्थित आदर्शनगरमा रहेको मनोकामना ओभरसिजमा कार्यरत एक मजदुरले मालिकको नक्कली सहीछाप गरी ७५ लाख रुपैयाँको चेक बोकेर फरार भएको घट्ना सार्वजनिक भएको छ ।
प्रतिदिन ५ सय रुपैयाँ ज्यालादारीमा काम गर्ने ऋषिकेश प्रसाद कुर्मीले ओभरसिजका मालिक पवनकुमार अग्रवाललाई रु.७५ लाख कर्जा दिएको र उनले फिर्ता गरेको रकमको चेक वाउन्स भएको भन्दै पर्सा जिल्ला अदालतमा मुद्दा दिएपछि घटना सार्वजनिक भएको हो ।
यस्तो थियो घट्ना
पवनकुमार अग्रवालको खाता जनता बैंक आदर्शनगरमा थियो । खाता नम्बर ००५१०४०१७१९७६०३ रहेको सो बैंकबाट २२ जुन २०१७ मा २ लाख ८० हजार रुपैयाँ निकालेपछि कुनै कारोबार नभएको पवनकुमार अग्रवाल बताउँछन् । ‘आफु बाहिर जाँदा प्राय खाली चेकमा दस्तखत गरेर जाने गरेको थिए ।
यहि क्रममा मेरो चेकको ०००२५६७९४३ नम्बरको चेक हरायो । खोज्दा भेटिएन । त्यसपछि गत जेठ ६ गते स्थानीय दैनिक पत्रिकामा चेक हराएको सूचना प्रकाशित गर्न लगाए । जेठ ७ गते ०००२५६७९४४ नम्बरको चेकबाट बैंकमा बाँकी मौज्दात रहेको १५८६९÷८५ रकम ऋषिकेशले नै निकालेर ल्याएका थिए । खाता बन्द गर्ने फारम पनि उनैले मसँग सही गराएर लगेका थिए’ अग्रवालको भनाई छ ।
खाता बन्द गर्न फाराम लगेपछि ऋषिकेश काममा आउन छोडेका थिए । तर, ऋषिले २०७५ साल कातिक ७ गते जिल्ला अदालत पर्सामा चेक बाउन्सको मुद्दा दर्ता गरे । मुद्दामा ऋषिले रु. ७५ लाख रुपैयाँ आफुले अग्रवाललाई दिएको र सो वापत उनले चेक दिएको ऋषिकेशको दावी गरेका छन् । उनले यो मुद्दा दायर गरेपछि घट्ना सार्वजनिक भएको हो ।
ऋषिकेश प्रसाद कुर्मी विभिन्न काण्डमा जेल काटिसकेका व्यक्ति भएको उनलाई चिन्नेहरु बताउँछन् । उनको वीरगंज केही दलालहरुसँग साँठगाँठ रहेको अग्रवालको बुझाई छ । त्यही योजनाअनुसार आफुलाई फसाउन किर्ते गरेपनि सत्यतथ्य बाहिर आउने उनको भनाई छ । ‘विधिविज्ञान प्रयोगशालाले तथ्य पत्ता लगाउछ र यसमा संलग्नहरुमाथि छिट्टै कारवाही हुनेछ’ अग्रवालले प्रतिक्रिया दिए ।