आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब यस्तो बन्दै छ जीतगढी किल्ला

शनिबार, २९ मङ्सिर २०७५, १२ : २६
शनिबार, २९ मङ्सिर २०७५

बुटवल–बुटवल उपमहानगरपालिकाले तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको  ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लालाई यस क्षेत्रको विकासको  धरोहरका रुपमा विकास गर्न लागेको छ ।

उपमहानगरपालिकाले  विशेष गुरुयोजना बनाएर  जितगढीको पर्यटकीय विकास गर्न लागेको हो । त्यो काम अगाडि बढाइरहेको छ ।  उसले जितगढीमा  नेपालकै ठूलो राष्ट्रिय झण्डा र लडाईमा अंग्रेजहरुलाई पराजित भई भाग्न विवश तुलाउने तत्कालिन नेपाली फौजका विरयोद्धा  कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राख्ने भएको छ ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्न थालिएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।  

अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो शालिक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्नेछ । सोही शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा फरफराइने छ । दुबै संरचना बनाउन ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

  उक्त कार्यको शिलान्यास गर्दै नगर प्रमुख सुवेदीले जितगढी राष्ट्रियताको प्रतिक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको बताए । उनले यहाँको संरक्षण र सम्बर्द्धनका काममा स्थानीय समुदायको सहयोगको खाँचो रहेको पनि औंल्याए ।

 शालिक र राष्ट्रिय झण्डाको टावर निर्माण कम्पनी हेभेन कन्स्ट्रक्सन प्रालिसंग उपमहानगरले ठेक्का सम्झौता समेत गरिसकेको छ । दुबै संरचना दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । शालिक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५.७६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्ने छ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने इन्जिनियर धर्मराज ढकालले जानकारी दिए ।

बेसमेन्ट माथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाईमा फहराउने छ । शालिकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना  इट्टा जस्तै देखिने गरी इट्टाको आवरण झल्किने गरी बनाइने छ । झण्डाको माथिल्लो टावर स्टिलबाट र भुईको बेसमेन्ट कंक्रिटबाट बन्नेछ ।

जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख वजेट छट्टाएर काम थालेको र यसपटक एक करोड वजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको प्रमुख सुवेदीले बताए  ।

जितगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १) लाई  प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोटगढीसम्म जोड्ने योजना रहेको प्रमुख सुवेदीको भनाई छ  ।

उजिरसिंहको पूर्णकदको शालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने उपमहानगरको विश्वास छ ।

वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो ।

हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा  ओझेलमा परेकोमा उजिरसिंहको पूर्ण कदको शालिक र नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएपछि अब जितगढीले मुहार फेर्ने आशा जागेको स्थानीयवासी अगुवा रविन्द्रगोपाल लाकौलको भनाइ छ ।

वडा नंं १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठले किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरुलाई उचित मुआब्जा दिएर हटाइने बताए  । जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसंग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना छ । जितगढीको विकासका लागि  प्रदेश सरकारले एक करोड ५० लाख र संघीय सरकारले ५० लाख वजेट विनियोजन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप