मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२०१७ पुस १ को शाही कदमको भत्सर्ना : सुवर्ण समशेर

आइतबार, ०१ पुस २०७५, १० : १२
आइतबार, ०१ पुस २०७५

मैले केही दिनयता जानीबुझी केही आशा राख्दै राजा महेन्द्रको पुस १, २०१७ सालको प्रतिक्रियावादी कदमको भत्र्सना गरिनँ । सिङ्गो संसारले चर्को विरोध गरेपछि राजा महेन्द्रले आफ्नो कदम सच्याउने हुन् कि भन्ने मलाई आशा थियो । तर यता राजाले थप कारवाही गरेका छन् । राजाले नेपालका सबै राजनीतिक र सामाजिक सङ्गठनमाथि प्रतिबन्ध लगाएका छन् नेपालमा लोकतन्त्रको दियोलाई कहिल्यै नब्युँतने गरी निभाउनका लागि यो कदम चालिएको हो । ठीक यस्तै बी.पी. कोइराला र हाम्रा सहयोगीहरूलाई लगातार जेलमा राखेरसमेत राजाले आफ्नो मनसायको परिचय दिएका छन् । बन्दी प्रधानमन्त्री र उहाँका सहयोगीसँग कसैले भेट्न पाएका छैनन् । सिङ्गो मुलुकमा आतङ्क व्याप्त छ । एक दशकअघि हामीले लोकतन्त्रको महान यात्रा प्रारम्भ गरेका थियौँ । अनेकौँ बाधा पार गरेर हामी मुलुकलाई स्थिरताको बाटोमा लैजान सफल भएका थियौँ । तर तयो बाटो अब लुप्त भएको छ । मुलुक पुरानै ठाउँमा पुगेको छ । हाम्रो मुलुकको आर्थिक विकासका सम्भावनासमेत समाप्त भएको छन् । नेपाली जनताको गौरव खरानी भइसकेको छ । एउटा निर्वाचित संसद् र सरकारले सफलतापूर्वक काम गरिरहेको थियो, त्यसलाई निरङ्कुश तरिकाले विघटन गरियो । राष्ट्रको सङ्घर्षपूर्ण भविष्य एवम् राजा र जनताबीचको प्रत्यक्ष सङ्घर्षको परिणामको रूपरेखालाई अहिले अनुमान लगाउन सकिन्न । तथापि, जेसुकै होला त्यसका लागि सम्पूर्ण कोणबाट राजा महेन्द्रले जिम्मेवारी ठहरिन्छन् । 

आफूले उठाएका कदमका लागि राजा महेन्द्रले केही तर्कहरू दिएका छन् । तिनलाई कसैले पनि पत्याउनेवाला छैनन् । जहाँसम्म शान्ति–सुरक्षाको प्रश्न छ, यो कुरा ढुक्क भन्न सक्छौँ कि एसिया र अफ्रिकाका अरू देशहरूले भन्दा राम्रो काम हामीले गरिरहेका थियौँ । हालमा भएका केही उपद्रवको कुरा गर्ने हो भने त्यो कसरी र कसले गर्यो भन्नेसमेत हामीले थाहा नपाएको होइन । हामीले भूमिसुधारको क्षेत्रमा सामान्य काम गर्यौँ, सोचविचार गरेर कर–प्रणाली अपनायौँ । यही भूमिसुधारअन्तर्गत कानुनबाट केही व्यक्तिहरू प्रत्यक्ष प्रभावित भए । तिनीहरूले पक्कै पनि यसलाई मन पराएनन् । हामीले आफ्नो  चुनावी घोषणापत्रमा धेरै राम्रा कुरा भनेका थियौँ । तर व्यवहारमा त्यस्ता घोषणा समेतलाई अत्यन्त मर्यादित किसिमबाट अगाडि बढ्ने प्रयास भएको थियो । एक त भनिएको काम गर्नका निमित्त हामीसँग पर्याप्त शक्ति थिएन ।

अर्को, हामीलाई थाहा थियो स्वार्थी तत्वले त्यसबाट गलत फाइदा उठाउनेछन् । हामीले राजाद्वारा प्रदत्त संविधानअनुसार काम गर्न स्वीकार गर्यौँ, त्यसैका कारण संसद् र शासन दुवै आज सङ्कटमा परेको छ । हाम्रो विवेकपूर्ण दृष्टिकोणले राजासँग सहकार्य गर्न सजिलो हुन्छ भन्ने सोचाइ थियो । हामी कहिले पनि राजासँग मनोमालिन्य गर्ने पक्षमा थिएनौँ । स्पष्ट छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा हामीले गरेको सफलताले नै राजालाई भयभित गरायो । त्यसको कारणले नै षड्यन्त्रपूर्वक उनले लोकतन्त्रको घाँटी निमोठे । राजाका यताका क्रियाकलापका अनुभवका कारण हामी अवश्य सशङ्कित थियौँ । राजाले सरकार र संसद्लाई स्वाभाविक रूपले काम गर्न दिँदैनन् भन्ने नलागेको हौइन । यही हुँदाहुँदै पनि, सरकार चलाउँदा भने राजाले अनिच्छापूर्वक नै भए पनि उनी लोकतन्त्रको बाटोमा हिँड्नेछन् भन्ने हामी सोच्न थालेको थियौँ । लोकतन्त्रलाई समाप्त गरिएको कारण देशको गौरवमाथि ठूलो चोट लागेको छ । लोकतन्त्रका कारणले नै हाम्रो देश गौरवान्वित भएको थियो । राजा पनि आखिर यस गौरवका अधिकारी थिए । यस्तो कदम चालेर भने उनी प्रतिष्ठित र लोकप्रिय बन्न सक्छन् भन्ने सोच्नु उनको ठूलो भूल हो । 

आजको समयमा कुनै पनि देशको प्रगतिलाई पछि धकेल्ने सम्भव छैन । नेपालमा, आजको निरङ्कुश शासनमा राजा र अन्य स्वार्थी तत्वको मनमा यस्तो लागेको हुनसक्छ कि मुलुकमा शान्ति छ । तर यो शानित क्षणिक छ । यो मूर्दा–शान्ति हो, यो आउनै लागेको प्रचण्ड आँधी–बेहरीको मात्र हो । 

(स्रोत : नेपाली काँग्रेस : ऐतिहासिक दस्तावेजहरु)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप