मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुस एकको बीजारोपण

आइतबार, ०१ पुस २०७५, १० : ४६
आइतबार, ०१ पुस २०७५

२०१७ पुस १ गतेको शाही कदमको पूर्वचेतावनी ७ महिना १४ दिन पहिले नै राजा महेन्द्रद्वारा नेपालगञ्जमा दिइएको थियो । यसको बीजारोपण भने २०१६ मङ्सिर २६ गते सुरु भएको राजाको पश्चिम नेपालको भ्रमणबाट भएको हो । डेढ महिना लामो भ्रमणका लागि प्रधानमन्त्री बीपी कोइरालासँग राजाको पोखरा आगमन भएको थियो । यसमा सम्मिलित हुन संयोगवस पत्रकार सङ्घका तर्फबाट मेरो नामाङ्कन भयो । दरबारले त्यस बेलाको परम्पराअनुसार पत्रकार सङ्घलाई निमन्त्रणा पठाएको थियो । अङ्ग्रेजी दैनिक कमनरका सम्पादक गोपालदास श्रेष्ठ पत्रकार सङ्घको सभापति हुनुहुन्थ्यो । म उहाँद्वारा प्रकाशित नेपाली दैनिक जनताको सम्पादक थिएँ । 

युवा प्रतिभालाई अवसर र प्रोत्साहन दिने स्वभाव भएका गोपाल दासले नै मलाई पत्रकारिताको तालिम दिनुभएको हो । २००७ सालको जनक्रान्तिमा लागेर केही समय जेल परेका गोपाल दासले आफ्नो सम्पूर्ण जीवन पत्रकारितामा लगाउनुभयो । नेपालको पहिलो अङ्ग्रेजी दैनिकका संस्थापक सम्पादकका साथै प्रेस आयोगहरू र प्रेस काउन्सिलका अध्यक्ष भएर उहाँले दिएको योगदान नेपालको पत्रकारिताको आधुनिक इतिहासमा सदा स्मरणीय रहनेछ । २०६० साल सञ्चार मन्त्री छँदा पत्रकारिता क्षेत्रप्रति राष्ट्रको सम्मान व्यक्त गर्दै मैले उहाँको चित्र अङ्कित  हुलाक टिकटमा टाँचा लगाएको थिएँ । नेपालको हुलाक टिकटमा पहिलो पटक पत्रकारलाई अङ्कित  गर्न पाएकोमा मैलो असल काम गरेको ठानेको छु । 

त्यति खेर काठमाडौँ–पोखरा जोड्ने सडक बनिसकेको थिएन । दरबारसँग दुईवटा विमान थिए– एउटा डकोटा (आर.एफ.२) र अर्को २०१५ जठमा सोभियत सङ्घको राजकीय भ्रमणमा जाँदा राजा महेन्द्रलाई प्रधानमन्त्री निकिता ख्रुस्चेभले उपाहार दिएको विमान (एस.भी. इलुसिन) ।  डकोटा विमानबाट तीन दिनअगाडि नै म भ्रमणमा खटिएका केही सरकारी कर्मचारीहरूसँगै पोखरा पुगो । त्यसमध्ये प्रधानमन्त्रीका निजी कुमारमणि दीक्षित र सवारी मन्त्री डा. तुलसी गिरीका स्वकीय सचिव सुशील कोइराला  (जो २०४८ पछि नेपाली काङ्ग्रेसको महामन्त्री र उपसभापति हुँदै २०६७ मा उपसभापति र दोस्रो संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री भए) पनि भए । विमानस्थलबाट फेवातालस्थित सवारी क्याम्पसम्म जान घोडाको प्रबन्ध गरिएको थियो । अग्ला, रवाफिला घोडाहरू काठमाडौँबाट लगिएका थिए । विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै पश्चिमपट्टि एउटा ठूलो ढिस्को थियो । सूचना विभागका उपनिर्देक उत्तमशमशेर त्यही ढिस्कोमा घोडाबाट खसेपछि सयसहरू सतर्क भएर घोडाको काठी समातेर हिँड्न थाले ।

राजा पोखरा पुगेकै राति सवारीसाथ गएकाहरूलाई राजासँग परिचय गराइयो । राजासमक्ष उभिने त्यो मेरो पहिलो अवसर थियो । एउटा ठूलो पालभित्र राजा कालो ओभरकोट, ढाका टोपी र सेतो पाइजामा लगाएर मेचमा बस्नुभएको थियो । अनौपचारिक अवसरमा पनि टोपी लगाउने, कोही पनि मुडुलै सामुन्ने  आएको नरुचाउने राजा महेन्द्रको स्वभाव थियो । २००७ सालपछिका सबै राजाहरूले टोपीलाई औपचारिक वा अनौपचारिक सबै अवसरहरूमा आफ्नो  पहिरनको अभिन्न अङ्ग बनाएका थिए । राजा त्रिभुवको राज्यकालमा तीन मोहरमा किन्न पाइने खद्दरको टोपी ज्यादै लोकप्रिय थियो । पहिरनमा सधैँ विशेषै सतर्क रहने राजा महेन्द्रलाई सक्कली ढाका टोपी मात्रै मनपथ्र्यो भने राजा वीरेन्द्र र ज्ञानेन्द्रलाई पाल्पाली ढाका टोपी । प्रधानमन्त्री हुनुअघि सक्कली ढाका टोपी लगाउने बीपीले प्रधानमन्त्री भएपछि भने कालो भादगाउँले टोपी मात्रै लगाउन थाल्नुभयो । 

जाडो बढ्न थालेको थियो । पोखराबाट ह्याड्जा हुँदै तिलाहार क्याम्पमा पुगेपछि, सायद कम उमेरको (म १६ वर्षको थिएँ) र सवारीमा सम्मिलितहरूमा एक मात्र गैरसरकारी व्यक्ति भएकाले भ्रमण अवधिभरि मलाई पनि राजाको पछाडि मन्त्रीहरूसँग पालमा बसेर साँझको कार्यक्रम हेर्ने सुविधा प्राप्त भयो । त्यसबाट राजा र बीपीबीचको सम्बन्ध मात्र होइन, राजा र जनताबीचको अन्तरक्रियासमेत नजिकबाट अध्ययन गर्ने अवसर पाएँ । सो अवसरबाट त्यस बेलाका जनताको चेतनाको स्तर, अपेक्षाको किसिम र मनोविज्ञानबारे जानकारी दिन अनुभवहरू सँगालो । सदरमुकामहरूमा दुई रात तथा अन्य सदरमुकामहरूमा एक रात बिताउने गरिन्थ्यो । राति स्थानीय बासिन्दाले राजालाई भेटेर आफ्ना कुरा सुनाउँथे । मुद्दामामिलामा उजुरीहरू पनि हुन्थे । जनताको न्यायिक पशुपति कोइरला र प्रशासनिक मामिलाका लागि क्याबिनेटको अधिकार लिएर सवारी मन्त्री सधैँ अबेर रातिसम्म व्यस्त रहन्थे । राजामा उजुरी गरिएका मुद्दाहरूबारे विचार गर्न क्याम्पमा प्रत्येक साँझ सर्वोच्च अदालतको इजलास बस्थ्यो, फैसला सुनाइन्थ्यो । 

पोखराबाट घोडामा नेपालगञ्ज पुग्न डेढ महिना लाग्यो । सेनाले धेरै ठाउँमा घोडेटो बनाउँदै राजाको भ्रमण सम्पन्न गराएको थियो । त्यो सजिलो वा आरामदायी भ्रमण थिएन तर राजामा दृढ इच्छाशक्ति थियो । निकै दुःख गरेर राजा र प्रधानमन्त्रीले जनतालाई चिन्ने, जनभावना बुझ्ने र जनआकांक्षासँग परिचित हुने सो अवसरको सदुपयोग गर्यो । तर जनतासँग वास्तविक अर्थमा प्रत्यक्ष र लाभप्रद सम्पर्क गर्ने भ्रमणको प्रचलन त्यसपछि बन्द भयो ।

राष्ट्रिय राजनीतिको दिशा परिर्वनको स्वभाव र शैली निर्धारणमा त्यो भ्रमण निर्णायक सावित भयो । भ्रमणले तत्कालीन नेपालका दुई प्रमुख व्यक्तित्वहरू राजा महेन्द्र र प्रधानमन्त्री बीपीलाई जनतामा आफ्नो हैसियतको मूल्याङ्कन गर्ने भरपर्दो आधार दियो । साथै, एकअर्कोप्रतिको दृष्टिकोण तय गर्ने र दूरी बढाउने मनोवैज्ञानिक एवं वैचारिक आधार पनि निर्धारण गर्यो । वास्तवमा राजा महेन्द्र र बीपी नयाँ नेपाल निर्माणको सहयात्री बन्न नसक्नुमा त्यही यात्राले भूमिका खेल्यो ।

जनक्रान्तिको आठ वर्षपछि सम्पन्न आमनिर्वाचनद्वारा प्रजातान्त्रिक अभ्यासको निश्चित प्रक्रिया स्थापित त भयो, जनप्रतिनिधिहरूको शासन व्यवस्था पनि प्रारम्भ भयो तर आमजनताबीच प्रजातन्त्र अपरिचित  नै थियो । घोडामा यात्रा गरिरहेका राजा र प्रधानमन्त्रीसँग बसेर राजनीतिक परिवर्तनसित अनभिज्ञ जनतासँग साक्षात्कार गरिरहेका हुन्थे । तर आम जनता राजालाई मात्र चिन्थे । राजालाई मात्र आफ्ना कुरा सुनाउँथे, राजाबाट मात्रै समाधानको अपेक्षा गर्थे । नेपाली काङ्ग्रेसले चुनाव जितेका जिल्लाहरूमा पनि जनता आफैले निर्वाचित गरेको प्रधामन्त्रीलाई चिन्दैनथे । महत्त्वाकाङ्क्षा त पहिलेदेखि नै थियो, यसबाट राजामा आत्मविश्वास झ्न बढ्दै गयो तर बीपीमा परिस्थितिसँग समायोजन गर्ने तत्परता आउन सकेन । विस्तारै दुवैका भाषणहरूमा शुभ र अशुभ लक्षणहरूको लुकामारी हुन थाल्यो । समयले यसलाई राजा र प्रधानमन्त्रीको तत्कालीन रणनीतिक कौशल मात्रै सावित गर्यो, राजशक्ति र त्यसलाई नेपालको हितमा सहयात्री बनाउने साझेदारी विकास गर्न सकेन । राजाको परम्परागत र बीपीको प्रजातान्त्रिक शक्तिलाई मिलाएर राष्ट्रिय शक्ति निमार्ण गर्ने अवसर खेर गयो । यही कमजोरी १४ महिनापछि राजनीतिक दुर्घटनाको रूपमा सार्वजनिक भयो ।

गलकोटबाट गुल्मी क्याम्प पुग्ने बेलामा राजा महेन्द्र घोडाबाट आर्लिएर पीपलको छहारीमा मुखैले धुलो फुकेर चौताराको ढुङ्गामा बस्नुभयो । बीपी राजाको छेउमा बस्नुभयो, अन्य पदाधिकारीहरू सामुन्ने उभिए । राजाले ‘त्राइभेन ए’ चुरोट सल्काउनुभयो । चौतारो डाँडामा थियो, त्यसैले तल गाउँमा एकत्रित भीड प्रष्टै देखिन्थ्यो । सूर्य अस्ताउन लागेकाले आकाश निर्मल थियो, चराहरूका झुन्ड आआफ्ना गुँडतिर फर्किरहेका थिए । मैले राजालाई भने– “सरकार यहाँ विश्राम गर्ने, तल गाउँमा भने कुरिरहेका मान्छेहरूको भीड लागेको छ । उनीहरू कति घण्टादेखि उभिरहेका होलान् ।” मेरो कुरा सुनेर हाँस्तै राजाले दिएको जवाफ थियो– “एकैछिन सुस्ताउन त देऊ । तल मैले लडाइँ लड्नुपर्छ भन्ने तिमीलाई थाहा छैन र ।” मैले कुरा बुझिनँ । केही बेरपछि राजा घोडा चढेपछि म उत्सुकतावश पछि लाग्यो। 

आरालो सकिनेबित्तिकै भीडले राजालाई छोपिहाल्यो । हो, राजाले जनताको भीडमा लडाइँ नै लड्नुपर्दो रहेछ । अचानक सेनाको सुरक्षा घेरा जनताको भीडमा हरायो । एउटा हुलले एकातिरबाट, अर्को हुलले अर्कोतिरबाट राजालाई तानिरहेको थियो । राजालाई महिलाहरू छुन खोज्थे, आफूले बाकेका बच्चाहरूलाई ढोगाउन खोज्थे, पुरुषहरूमा राजाको खुट्टा ढोग्ने हाड चल्थ्यो । जसले जहाँबाट जसरी छुन सक्थ्यो, त्यसै गरी छुन्थ्यो । राजनीतिक रूपमा देश नयाँ युगमा प्रवेश गरिसकेको थियो, आफ्नो सरकार आफैँले छान्ने अधिकार प्रयोग गरिसकेको थियो । तर जनताको मानसिकता र चेतना भने समयभन्दा कोसौँ पछाडि कछुवा चालमा हिँडिरहेको थियो, संस्कारले चेतनाले पछाडि घचेटिरहेको थियो । 

मङ्सिर २८ गते तिलाहार क्याम्पबाट कुस्मा खहरे क्याम्पमा पुग्नु अगाडि भविष्यसूचक एउटा घटना भयो । नारायण निम्न माध्यमिक विद्याालय भवनको शिलान्यास गर्न जानुभएका राजालाई बडा हाकिमले गाउँमा गुप्तेश्वर महादेवको मूर्ति भएको गुफा परेको जानकारी दिँदै अवलोकन गर्न जोड गरे । राजा घोडाबाट आर्लिएर पैदल लाग्नुभएपछि बीपीसँगै हामी पनि पछि लाग्यौँ । रहस्यमय गुफा लामो र सुन्दर थियो । त्यहाँ थुप्रै आकर्षक मूर्तिहरू थिए– कलाको विशेषता, संस्कारगत भत्ति, शान्त वातावरण, सबै उत्सुक, सबै प्रभावित ।

 ठाडो उकालो उक्लिएर मूल बाटोमा फर्किएपछि हामी सबै विश्राम गर्न इच्छुक थियाो । राजाद्वारा रुखमुनि सुस्ताउँदै  चुरोट सल्काएर बडाहाकिमलाई सोधियो, यो गुफा कसरी पत्ता लाग्यो ? 

बडाहाकिमले सुनाएको विवरण रोचक थियो । गाउँको एउटा बाहुन केटो एउटी कमिनी केटीसँग प्रेम गर्न थालेछ । उनीहरूबीचको प्रेम सम्बन्ध प्रचलित सामाजिक मान्यताविपरीत तथा कानुनको दृष्टिमा दण्डयुक्त अपराध भएकाले गाउँमा सनसनी फैलिएछ । गाउँलेहरू चियो गर्न थालेछन् । पूर्णिमाको एक रात त्यो युवा जोडीलाई एकान्तमा अँगालो मारेर बसिरहेको देखेपछि क्रूद्ध गाउँलेहरूले पिछा गरेछन् । डराएर भागेका युवा जोडी दौडँदादौडँलै त्यही गुफाभित्र पसेछन् । गुफाभित्र लुकेर बसेका हुनाले त्यसै दिनदेखि त्यहाँका महादेवको नाम गुप्तेश्वर महादेव राखिएछ । त्यो जोडीलाई भने मुलुकी ऐन उल्लङ्घनको अभियोगमा गिरफ्तार गरेर अदालतमा मुद्दा चलाइएछ । मुद्दाको फैसला भइसकेको रहेनछ । 

विवरण सुनाएपछि ‘त्यो बन्दी जोडीलाई ल्याउनु’ राजाज्ञा भयो । यस्तो अप्रत्याशित राजाज्ञा सुनेर प्रधानमन्त्री कोइरलालगायत हामी सबै आश्चर्यमा पर्यौँ । बडाहाकिम आफै दौडिए । केही बेरमै युवा जोडीलाई राजासामु उभ्याइयो । 

लामो समयपछि अलगअलग झ्यालखानामा छुट्यार राखिएका युवायुवती डराइरहेका थिए । स्वयम् राजाका सामुन्ने उभिनुपरेको र परिणामबारे अनविज्ञ भएकाले उनीहरूको पूरै शरीर कामिरहेको थियो ।

उनीहरू कामेको हात जोडेर कहिले राजालाई हेर्थे, कहिले एकअर्कोलाई माया लाग्दो आँखाले हेर्थे अनि खुट्टाका बूढीऔँलाहरूले माटो कोर्दै निहुरिन्थे । तत्कालीन नेपाली समाजमा गम्भीर मानिने त्यो ‘अपराध’का लागि युवा जोडीले कडा सजाय पाउने कुरा प्रस्टै थियो । तर त्यो मुद्दामा राजाले आफैले रुचि लिनाका कारण नबुझेको हामी ‘अब यसको टुङ्गो कसरी लाग्ला’ भन्ने जान्न व्यग्र थियौँ, सबैमा उत्सुकता थियो । राजाद्वारा न्यायाधीशको खोजी भयो । पशुपति काइरला छेउमा हात जोडेर उभिएका थिए । राजाज्ञा भयो– ‘यिनीहरूलाई अहिले नै रिहा  गर्नू ।’

कसैले पनि आफ्नो कानलाई विश्वास गर्न सकेन । सबैले एकअर्काको मुख हेरेर आफैले सुनेको कुराको पुनर्पुष्टि खोजे । न्यायाधीशले पनि आफ्नो कानमा विश्वास गरेनन् । अनि दोहार्याएर राजाज्ञा भयो– यिनीहरूलाई अहिले नै रिहा गर्नू ! त्यसपछि राजाले बडाहाकिमलाई गुप्तेश्वर महादेवका नित्य पूजाका लागि गुठी राख्न र पूजारीमा त्यही जोडीलाई नियुक्ति गर्न आज्ञा भयो । राजाको निर्णय सुनेर हामी अवाक भयौँ । प्रधानमन्त्री र मन्त्रीहरू मुखामुख गरे अनुदारवादी समाजमा सनसनी फैलियो । तर राजाविरुद्ध कसैले आवाज उठाएन । छुवाछूतको महारोग र समाजमा परिवर्तको चाहाना बुझेका राजाबाट तीन वर्षपछि मुलुकी ऐनमा ऐतिहासिक संशोधन गरी छुवाछूतलाई देशभरी नै अवैध घोषणा गरियो । 

 यथार्थमा, पश्चिम नेपालको  भ्रमणमा राजा र बीपी दुवै जनतामा आफ्नो लोकप्रियता देखाएर एकअर्कालाई प्रभावित गर्न चाहन्थे । बीपी लोकप्रिय भए पनि निर्वाचनद्वारा गठन भएको संसद्मा दुईतिहाई बहुमत प्राप्त दलको निर्विवाद नेता भए पनि आमजनताले प्रजातन्त्रको अर्थ बुझेकै थिएन । राजनीतिक पार्टीहरू आमजनतामा स्थापित भइसकेका थिएनन् । यसैले कमसेकम दुईवटा संसद्ले पूरा अवधि काम गर्न पाए मात्रै आमजनता प्रजातान्त्रिक व्यवस्थामा अभ्यस्त हुन सक्ने मेरो सोचाइ बनिरहेको थियो । 

  राजा र बीपीबीच समझदारी बनेमा मात्रै नेपालको भलो हुन्छ भन्ने आफ्नो ठहर दोहोर्याई, तेहेर्याई मैले बीपीलाई सुनाएँ । तर उहाँले गम्भीरतासाथ  लिनु भएन । जहिले पनि मेरो कुरा सुनेर उहाँ हाँस्नुहुन्थ्यो । सायद उमेरले पनि मेरो कुरालाई ओजन दिँदैनथ्यो । यसैले म उहाँलाई जनभावनाको यथार्थतासँग परिचित गराउने उपयुक्त अवसरको प्रतीक्षामा बसेँ र प्युठान पुगेपछि सो अवसर पाएँ । 

   हामी प्युठान सदरमुकाममा बसेका थियौँ, नजिकैको जङ्गलमा त्यो क्षेत्रमा सबैले मान्ने गरेका जोगीको कुटी भएको जानकारी आयो । सधैँ नाङ्गै बस्ने ती जोगी मानिसको सम्पर्कमा बिरलै मात्र आउँछन्  भन्ने सुनेर बीपीलाई उत्सुकता जाग्यो । उहाँलाई जोगी, ज्योतिष, तन्त्रमन्त्रमा विश्वास थिएन तर सन्तमहात्मा विद्वान्, योगीहरूसँगको बौद्धिक अन्तत्र्रिmयामा भने गहिरो अभिरुचि थियो । 
  सो घटनाको तीन वर्षपछि २०१९ सालमा म बीपीकी श्रीमती सुशीला कोइरालासँग काठमाडौँमा शिवपुरी बाबालाई भेट्न गएको थिएँ । सुशीलाका अनुसार प्रधानमन्त्री भएको बेला बीपी शिवपुरी बाबालाई भेट्न जानुहुन्थ्यो । 

   सेतो, लामो दाह्री पालेका, अग्ला, प्रत्येक पटक सास फेर्दा लामो स्वरमा  ‘ॐ’ शब्द उच्चारण गर्ने, आकर्षक व्यक्तित्वका धनी ती बाबा भारतमा ब्रिटिस उपनिवेशविरुद्ध सन् १८५७ को विद्रोहपछि सांसारिक मोह त्यागेर शिवपुरीमा आई बसेका भारतका राजकुमार हुन् भन्ने सुनिन्थ्यो । राजा महेन्द्र पनि नियमित रूपमा भेट्न जाने भएकाले शिवपुरी बाबालाई सैनिक क्याम्पभित्र जङ्गलमा कुटी बनाएर बस्ने सुविधा थियो । अहिले बाबा जीवित हुनुहुन्न, उहाँको समाधि त्यहीँ छ । 

 बीपीले प्युठानमा नाङ्गा बाबालाई भेट्ने निधो गरेपछि राजाका निजी सचिव ईश्वरीमान मन्त्री गिरीका स्वकीय सचिव सुशील कोइरलासँगै जाने भए । मैले पनि जाने इच्छा बताएँ, बीपीलाई बडाहाकिमले डोरविक्रमलाई साथमा लिएर बीपी नाङ्गाा बाबातिर लाग्नुभयो । क्याम्पबाट करिब दुई घण्टा घोडामा उक्लिएपछि बाबा बस्ने कुटी पुगियो । घना जङ्गलको बीचमा परालको छानो भएको एउटा सानो कुटी चकम्न थियो, कसैको उपस्थिति थिएन । निकैबेर यताउता हेरेर हामीले समय बितायौँ तैपनि कुटीको ढोका खुलेन  । सङ्कोचमा परेका बडाहाकिम यताउता दौडिए तर त्यहाँ कोही थिएन । कुटीको ढोका पनि भित्रबाटै बन्द भएको थियो । निकै बेरको प्रतीक्षा खेर गएपछि हामी फर्किन लागेको थियौँ । बीपी घोडा चढ्नु मात्रै भएको थियो, कुटीको ढोकाबाट रवाफिलो आवाज आयो– प्रधानमन्त्री ! 

  अचानक प्रभावशाली स्वरमा प्रधानमन्त्रीलाई बोलाएको सुनेर आश्चर्य मान्दै पछाडि फर्केर हेर्दा कुटीको ढोका खोलिसकेको थियो । हामी घोडाबाट ओर्लिएर कुटीतिर लायौँ । सानो अँध्यारो कोठा, पूर्वी ढोका दक्षिणपट्टिको सानो झ्यालबाट आएको मधुरो प्रकाशमा अग्लो कद, कालो वर्ण, सेतो लामो कपाल र दाह्रीजुँगा भएका बाबा सर्वाङ्ग नाङ्गै थिए । हात जोडेर एक्कैछिन उभिएपछि हामी सबैलाई बाहिर पठाइयो । बाबा र बीपीलाई त्यहीँ छाडेर हामी निस्कियौँ । करिब १५ मिनेटपछि बाहिर आउँदा बीपीमा खासै उत्साह देखिएन । आध्यात्मिक खुराकको खोजी गर्ने बीपीलाई नाङ्गा बाबाले खासै  प्रभाव पार्न सकेनन् भन्ने लाग्यो मलाई ।  

कुटीबाट फर्किंदा ठाडो ओरालो  भएकाले हामी पैदल ओर्लिदै थियौँ । केही बेरपछि सुस्ताउन एउटा चौतारामा बस्यौँ । पहाडको उकालो–ओरालोमा म त्यति  अभ्यस्त थिइनँ, त्यसैले चाँडै थाक्थेँ । बीपीको हिँडाइ तेज हुन्थ्यो तर मेरै कारण उहाँ पनि बीचबीचमा सुस्ताउन रोकिनुहुन्थ्यो । त्यही क्रममा एउटा घटना भयो । 

हामी चौतारामा बसेर सुस्ताइरहेका थियौँ । मैले नजिकैको बारीमा काम गरिरहेका अधबैंसे किसानलाई बोलाएँ । फाटेको भोटो, मैलिएको कछाड र निकै पुरानो भएर खुइलिएको कालो टोपी लगाएका, आफैमा साँघुरिएर बसेका ती किसान नै वास्तवमा तत्कालीन नेपालका सजीव चित्र थिए । मैले तिनलाई सोधेँ– ‘तपाईंलाई थाहा छ, अहिले नेपालमा प्रधानमन्त्री को छ ? 

मेरो प्रश्न सुनेर बीपीले रुचिपूर्वक किसानलाई हेर्नुभयो तर जवाफले हामी सबैलाई स्तब्ध बनायो । ती किसानले भने– ‘खै बाबु, जुद्धशमशेर महाराजले गद्दी छाडे भन्थे । फेरि राजा देश छाडेर गए पनि भन्थे । काँग्रेसीहरू राजा भए भन्ने पनि कताकता सुनेको थिएँ । केके भयो, चाल पाइनँ ।’

मैले फेरि सोधेँ– ‘चुनावमा कसलाई भोट दिनुभयो ?’ किसानको निर्दोष जवाफ थियो– ‘सबैले रूखमा दिने भने, मैले पनि त्यसैमा हालेँ । अरू केही थाहा छैन ।’ जवाफ सुनेर बीपी सङ्कोचमा पर्नुभयो । बीपीलाई जनताको चेतनाको अवस्था बताउने मेरो कोसिसको परिणाम निस्कियो । बाटोभरि बीपीले केही बोल्नुभएन । 

सवारी दाङबाट नेपालगञ्ज पुग्ने क्रममा दुईवटा त्यस्ता घटना भए, जसले राजाको आत्मसम्मानमा आघात पार्यो । पुस २७ गते दाङको तेग्रापाट हरिबगिया क्याम्पमा सवारी भित्रिँदा झमक्क साँझ परिसकेको थियो । म सधैँ जस्तो आफ्नो पालमा गएर धुलो र पसिनाले मैलिएको लुगा फेरेर खाना खान मेसमा पुगो तर त्यहाँ खानाको नामोनिसान थिएन । म छक्क परेर आफ्नै पालमा फर्किएर पल्टिएँ ।

शरीर थाकेको थियो तर भोकले निद्रा पर्न सकेन । रात छिप्पिँदै जाँदा म भोकले रन्थनिँदै निदाएको मात्र थिएँ । अचानक राजाका एडीसी जनरल नरशमशेर मेरो पालभित्र पस्नुभयो । उहाँको पछाडि एउटा सिपाही हातमा सेतो रुमालले छोपेको किस्ती बोकेर उभिएको थियो । मैले केही सोध्न नपाउँदै जनरलले रवाफिलो स्वरमा भन्नुभयो– ‘ल खानुस्, सरकारबाट पठाइबक्सेको ।’ सिपाहीले मेरा अगाडि एउटा स्टिलको प्लेट र तीनवटा कचौरा राखिदियो । भोकले रन्थनिएको बेला अचानक मासको दाल, गुन्द्रुक, मस्यौरा, भटमासको झोल, चराको मासु र भात देखेर म छक्क परेँ । 

बिस्तारै रहस्य खुल्यो– सवारी क्याम्पमा रासनको व्यवस्था गर्न स्थानीय प्रशासन असफल भएपछि स्वयम् राजाले पनि भोकै सुत्नुपर्ने अवस्था बनेछ । उज्यालो नभई रासनको व्यवस्था गर्न नसकिने कुरा बडाहाकिम मोहनबहादुर सिंहले सुनाएछन् । जनरल नरले राजाको भ्रमण चलाउने आफ्नो विशेष अनुभव जस्तोसुकै अवस्थाका लागि तयार रहने तालिका र मीठो खाना पकाउने कलामा पारङ्गतता एकै पटक प्रभावशाली ढङ्गमा प्रदर्शन गर्नुभएछ । 

 सवारीका अघिअघि हतियार भिरेर घोडामा हिँड्दा पनि उहाँ आफ्नो झोला खोल्नुभएछ । सवारीका अघिअघि हतियार भिरेर घोडामा हिँड्दा पनि उहाँ आफ्नो काँधमा एउटा ठूलो झोला बोक्नुहुन्थ्यो । सवारी क्याम्पमा  राजा भाकै पर्ने अवस्था आएपछि उहाँले आफ्नो झोला खोल्नुभएछ । त्यसमा चामल, मासको दाल, राजालाई मन पर्ने गुन्दु्रक, मस्यौरा र भटमास राखिएको रहेछ । सिकारीलाई जङ्गल पठाएपछि चरा आइहाल्यो आफैले पकाएको डिनर पेस गरेर जनरल उभिएपछि राजा महेन्द्रबाट सोधिएछ– अरूले खाए ? 
रासनको व्यवस्था गर्न स्थानीय प्रशासन असफल भएको र आफूले यस्तै अवस्थाका लागि स्टक बोक्ने गरेको कुरा जानकारी गराएपछि राजाबाट सोधनी भएछ– “अनि रमेशले खायो ?” जनरलले जवाफ दिनुभएछ– “मन्त्रीहरू त भोकै छन्, रमेशले कहाँबाट पाउने ?” त्यो सुनेर राजा आफैले खाना दुई भाग लगाएर जनरल नरशमशेरलाई आज्ञा भएछ– “रमेश बच्चै छ, त्यसलाई भोकै नराख । तिमी आफै गएर खुवाऊ !”
   आफ्ना लागि पस्किएको खाना एउटा सामान्य नागरिकलाई खुवाउन एडीसी जनरललाई पठाउने राजा सम्झँदा मेरो मन अहिले पनि भावुक हुन्छ । अवकाश जीवन बिताइरहेका जनरल नर जहिले भेट भए पनि सो घटना सम्झँदै भन्नुहुन्थ्यो– “मैले जीवनमा तपाईंबाहेक कसैकहाँ पनि खाना लिएर गएको छैन ।”
 

  दुई दिनपछि बर्दियाको लौकी क्याम्पमा फेरि त्यस्तै घटना दोहोरियो । बाटो लामो भएकाले क्याम्प पुग्दा रात परिसकेको थियो तर क्याम्पमा राजा र मन्त्रीहरूका लागि मात्र पाल गाडिएका थिए । आफ्नो पाल नदेखिपछि म मन्त्रीहरूको पालमा गएँ । बल्ल पो थाहा भयो, सवारीसाथ गएकाहरूका लागि स्थानीय प्रशासनले एक छाकको रासन मात्रै व्यवस्था गरेकाले बेलुकाको खाना खाएर मन्त्रीहरूबाहेक अरू सबैले तत्काल नयाँ क्याम्पका लागि प्रस्थान गर्नुपर्ने भएछ । त्यस दिन बेलुकाको खाना खाएर कमान्डर इन चिफ (२०३७ देखि मात्रै नेपाली सेनाका प्रमुखलाई चिफ अफ आर्मी स्टाफ भन्न थालियो) तोरणशमशेरको पल्टनसँगै मादल ठोक्तै जङ्गलको लामो बाटो हिँडेका थियौं । पानी परेकाले हिलाम्मे चिप्लो बाटोमा रातभरि हिँडेको, बाघ गर्जिएको सुनेको रेमाञ्चकारी अनुभवको सम्झना अहिले पनि ताजै छ । 
    हरिबगिया र लौकी क्याम्पका ती घटनालाई गम्भीरतासँग लिनुको सट्टा सरकारले पाँच महिनापछि नै नेपालगन्जका बडाहाकिम मोहनबहादुर सिंहलाई नेपाल–चीन संयुक्त सीमा कमिसनको सदस्यको थप अभिभारा दिएर दरबारको संवेदनशीलतामा अझै घोच्ने काम गर्यो ।

                 ००
पुस ३० गते बर्दिया जिल्लाको शमशेरगन्ज क्याम्पस सवारी भित्रियो । भोलिपल्ट माघे सङ्क्रान्तिको भोजमा राजाद्वारा मसित सवारीको अनुभव सोधनी भयो । पहिलो पटकको औपचारिक कुरामै थाहा भयो– थोरै बोल्ने, धेरै सुन्ने बानी रहेछ राजाको । शमशेरगन्जबाट बर्दिया सिकार क्याम्पमा पुगेपछि हात्तीबाट हामफाल्दा सवारी मन्त्री डा. गिरीको खुट्टो मर्कियो हात्ती बसेपछि मात्रै सवारी ओर्लिने गरिन्थ्यो तर डा. गिरी उभिइरहेको हात्तीबाट किन हामफाल्नुभयो, मैले बुझ्न सकिनँ । त्यसपछि उहाँ सिकारमा जान छाड्नुभयो । सिकारबाट फर्कंदा राजा स्वयम् उहाँको पालमा जाने र निकै बेर दुई जना मात्रै बस्ने क्रम सुरु भयो ।
     यसैबीच रानी र अधिराजकुमार हिमालय पनि काठमाडौंबाट नेपालगन्ज पुग्नुभयो । माघ १६ गते बाँके–बर्दियाका जनताले विशेष समारोहको आयोजना गरेर राजारानीको अभिन्दन गरे । प्रत्युत्तरमा राजाबाट ‘देशको सार्वभौमिकता, राष्ट्रियता र अन्य देश तथा जनहित कार्यहरूकोे संरक्षणका लागि जेसुकै गर्न पनि पछि नहट्ने’ चेतावनी दिँदै राष्ट्रिय राजनीति ऐतिहासिक कोल्टो फेर्न तत्पर भएको सङ्केत सार्वजनिक भयो । त्यो भाषणको ‘प्रचार–प्रसार’मा सरकारले तत्काल रोक लगायो । नेपालको इतिहासमा राजाबाट जनतासामु दिइएको भाषण प्रचारप्रसारमा सरकारले रोक लगाएको त्यो एउटै घटना हो । राजाको भाषण मन्त्री डा. गिरीले लेख्नुभएको चर्चा थियो सवारी क्याम्पमै । 

    यसरी २०१७ पुस १ गतेको बीजारोपण भइसकेको रहेछ । सम्भावित खाका राजाकै मुखबाट सार्वजनिक भयो । त्यसबारे राजनीतिक वृत्तमा कुरा चल्यो, सम्भावनाबारे अड्कल पनि हुन थाल्यो तर खुलेर कसैको प्रतिक्रिया आएन ।

१७ सालमा विदेशी भूमिका
राजाको सोचले विस्तारै निकास पाउँदै गयो । नेपालको राजनीतिक इतिहास परिवर्तनको सँघारमा उभिएको थियो । पात्रहरूको छनोट भइरहेको रहेछ । महाभारतमा द्रोणाचार्यले रचना गरेको चक्रव्यूहमा नेपालको राजनीति प्रवेश गराउन नियतिले तारतम्य मिलाउँदै थियो ! द्रोणाचार्यको चक्रव्यूहभित्र पस्न र सुरक्षित बाहिर निस्कन जान्ने श्रीकृष्ण र अर्जुन मात्र थिए भने अथिमन्युभित्र पस्न मात्र जान्ने ।

सालमा यो चक्रव्यूहभित्र प्रेवेश गरेको नेपालको राजनीति बाहिर निकाल्ने श्रीकृष्ण वा अर्जुन आधा शताब्दीपछि पनि देखापरेका छैनन् यो अवधिमा राजतन्त्रलगायत थुपै्र अभिमन्युहरूको अन्त भइसकेको छ तर राष्ट्रिय राजनीति अझै पनि चक्रव्यूहभित्रै छ । इतिहासले श्रीकृष्ण वा अर्जुनको प्रतीक्षा गरिरहेको हो कि थप अभिमन्युहरूको अन्त्यलाई– कसैलाई थाहा छैन । आशापूर्ण प्रतीक्षा र पीडादायी परिणामको अन्त्यहीन शृङ्खला भने लम्बिँदै गएको छ । 
 

  आज पाँच दशकभन्दा बढी बितिसक्ता पनि नेपालको राजनीतिमा एउटा तातो प्रश्न अनुत्तरित नै छ– के २०१७ पुस १ गतेको शाही कदम पछाडि विदेशीको भूमिका थियो ? 
    परराष्ट्र मामिला सञ्चालनमा बीपी रोमान्टिसिज्मबाट प्रभावित हुनुभयो । तत्काल पर्न सक्ने नकारात्मक असरलाई समेत उपेक्षा गरी उहाँले विश्व समुदायमा नेपालको स्वतन्त्र व्यक्तित्व प्रस्तुतिको क्रम अगाडि बढाउनुभयो । यसबाट आफ्नो निर्णय आफै लिने नेपालको हैसियत त विश्वमा स्थापित भयो तर तत्कालीन नेपालको राजनीतिमा निर्णयक प्रभाव पार्ने भारत भने उहाँसँग रुष्ट भयो ।
   

 यसको एउटा उदाहरण हो– इजरायल र पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापित गर्ने निर्णय । दुवै छिमेकीले मान्यता नदिएको इजरायलसँग २०१७ वैशाख १८ गते दौत्य सम्बन्ध कायम गर्ने निर्णय गरेर छिमेकीभन्दा पृथक् निर्णय गर्न सक्ने नेपालको हैसियत बीपीले प्रदर्शित गर्नुभयो । त्यसभन्दा पाँच हप्ताअगाडि पाकिस्तानसँग दौत्य सम्बन्ध कायम गरेर भारत र विश्वलाई नेपालको बलियो इच्छाशक्ति देखाउनुभएको थियो । यी निर्णयहरू आज पाँच दशकपछि सैद्धान्तिक रूपमा स्वाभाविक वा सामान्य लागे पनि तत्कालीन नेपालमा साँच्चै साहसिला र जोखिमपूर्ण कदम थिए । यसबाट बीपीप्रति सुरु भएको भारतीय अप्रसन्नता अविश्वासमा रूपान्तर भयो । त्यसको असर कति गाढा रहेछ भने बीपी सैनिक जेलमा बन्दी भएको बेला पनि भारतले आफ्नो मनको चिसोपन हटाएन ।

वास्तवमा बीपीप्रति भारत कहिल्यै मित्रवत् भएन । २००८ सालमा नेपालको पहिलो नागरिक प्रधानमन्त्री बीपी कोइरालालाई बन्न नदिएको मात्र होइन, नेपाली काँग्रेसमा विभाजन ल्याउनमा पनि भारतकै भूमिका रह्यो । गिरिजाप्रसाद कोइरालाको भनाइ अनुसार नेहरूलाई भेटेपछि मातृका र बीपीबीच सधैँ झगडा हुने गथ्र्यो । २०१६ चैत १२ गते बिहान प्रधानमन्त्री निवास, त्रिपुरेश्वरमा बीपी र म चिया पिउँदै कुरा गरिरहेका थियौँ । अचानक निर्माण तथा यातायात मन्त्री गणेशमान सिंह कोठामा प्रवेश गर्नुभयो । उहाँको प्रवेश जति अप्रत्याशित थियो, अभिवादनको तरिका त्यत्तिकै नाटकीय । उहाँ गम्भीर मुद्रामा सरासर आएर बीपीसामु उभिनुभयो अनि अस्वाभाविक पारामा झुकेर राणाकालीन दरबारिया ढाँचामा स्वस्ति (निहुरिएर दुई हात थापी अभिवादन गर्ने शैली) गरेर केही पनि नबोली ठिङ्ग उभिनुभयो । म छक्क परेँ । बीपीले हाँस्तै सोध्नुभयो– “ए गणेशमानजी ! यो के हो ?” तर गणेशमान चुपचाप उभिरहनुभयो ।
 

  बीपीको अनौठो बानी थियो– सधैँ हात अथवा रुमालले ओठ पुछिरहने, लगत्तै जिभ्रो चलाएर ओठ रसिलो बनाउने । आफ्नो घनिष्ट सहयोगी मन्त्रीको त्यो अप्रत्याशित ढाँचाको अभिवादनको रहस्य बुझन नसकेर बीपीले ओठ पुछ्नुभयो । जिभ्रो चलाएर ओठ भिजाउनुभयो अनि फेरि सोध्नुभयो– “यो के गरेको ?” बल्ल गणेशमानले सामान्य मुद्रामा उभिएर रहस्य खोल्नुभयो । 
   

कुरा के रहेछ भने राजा महेन्द्रको प्रत्यक्ष शासनमा २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध कायम गर्ने घोषणाको निकै प्रशंसा भएको थियो । त्यतिन्जेलसम्म बेलायत, संयुक्त राज्य अमेरिका र भारतसँग मात्रै दौत्य सम्बन्ध कायम गरेको नेपालले अमेरिका र बेलायत तथा अधिकांश पश्चिमा मुलुकहरूले मान्यता नदिएको, विश्वका ज्यादै थोरै देशहरूले मात्रै दौत्य सम्बन्ध जोडेको चीनसँग मित्रता कायम गर्नु स्वभावतः विशेष महत्त्वको घटना हो ।

तर गणेशमानको दृष्टिमा यो भौगोलिक आवश्यकताले लिनै पर्ने स्वाभाविक निर्णय थियो । यसैले उहाँले २०१२ भदौ १० गते काठमाडौंको जय नेपाल चित्रघरमा आयोजित प्रवचन कार्यक्रममा (त्यसताका काठमाडौंमा प्रवचनका लागि उपयुक्त सभागृह नभएकाले बिहान बन्द रहने सिनेमा हलहरू प्रयोग गर्ने चलन थियो) बोल्दै पाकिस्तानसँग दौत्य सम्बन्ध कायम गर्ने चुनौती दिनुभएको थियो । उहाँको प्रतीज्ञा थियो– “यस्तो साहस देखाउन सक्नेलाई म स्वस्ति गर्नेछु ।” गणेशमानको यो चुनौतीले भारतको संवेदनशीलता र त्यसलाई उपेक्षा गर्ने प्रयासमा जोडिएको जोखिम सङ्केत गरिरहेको थियो ।

त्यसपछि गठन भएका दुईवटा एक दलीय र एउटा चार दलको संयुक्त सरकारले गणेशमान सिंहको त्यो चुनौती स्वीकार गर्ने साहस देखाउन सकेनन् । अन्त्यमा जब सो चुनौती स्वीकार भयो, त्यस बेला स्वयम् गणेशमान मन्त्री र उहाँका नेता बीपी प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । त्यही पृष्ठभूमिमा आफ्नो बचन पालन गर्न गणेशमान ‘साहसिला’ प्रधानमन्त्रीलाई राणाकालीन दरबारिया ढाँचाको स्वस्ति गर्दै हुनुहुन्थ्यो ।
                   
                    ००

नेपाल संसदीय शासन व्यवस्थामा प्रवेश गरेपछि राजा महेन्द्रको पहिलो विदेश भ्रमण जापान र संयुक्त अमेरिकामा भयो । सो भ्रमणमा राजाको पहिलो मुकाम कलकत्ता र त्यसपछि बैङ्कक थियो । बैङ्कक विमानस्थलमा राजालाई थाई नरेश स्वयम्बाट स्वागत भएको थियो । 

    थाई नरेशको नाम आउनासाथ लुम्बिनी भ्रमण गर्ने उहाँको चाहना पूरा गर्न नसकिएको कुरा अहिले पनि मेरो मनमा बिझाइरहन्छ । विशेष किसिमको परम्परा बसाल्दै राजगद्दी आरोहणपछि थाई नरेशबाट जीवनभरि विदेश भ्रमण भएन । यो परम्परा तोडेर भए पनि लुम्बिनीको तीर्थयात्रा गर्न नेपाल आउने उहाँको इच्छा रहेछ । सन् १९६९ सेप्टेम्बरमा म संयुक्त राष्ट्रसङ्घको २३औं अधिवेशनमा भाग लिन न्युयोर्क गएको थिएँ । त्यही अधिवेशनमा नेपाल पहिलो पटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सदस्यमा निर्वाचित भएको हो । लामो समयदेखि सैनिक शासन रहेको थाइल्यान्डमा पाँच वर्ष पहिले मात्र तेस्रो सैनिक विद्रोह भएको थियो । सैनिक शासकहरू र नरेश भूमिबल अतुल्यतेजबीचको सम्बन्ध राम्रो थिएन । एक दिन राष्ट्रसङ्घका लागि थाई राजदूतले महासभा हलको पूर्वतिरको लबीमा मलाई भेट्नुभयो र थाई नरेशको सन्देश सोझै राजामा पुर्यादिन अनुरोध गर्नुभयो ।

सन्देश लुम्बिनीको तीर्थयात्रा गर्ने नरेशको इच्छासँग सम्बन्धित थियो । तर नेपालबाट निमन्त्रणा पठाउँदा ‘नरेशको चाहना रहेको कुरा थाई सरकारलाई थाहा नदिइयोस्’ भन्ने आग्रह भएकाले सन्देश गोप्य राखिएको थियो । सायद सैनिक शासकहरू नरेशको इच्छाका बाधक थिए । लन्डनमा हृदयरोगको उपचार गराइरहेका राजासमक्ष मैले प्रमुख स्वकीय सचिव मधुसूदनराज राजभण्डारीमार्फत सो सन्देश पुर्याएँ । केही सातापछि राष्ट्रसङ्घको काम सकेर  म नेपाल फर्किएँ । पछि थाहा भयो– परराष्ट्र मामिला हेर्ने दरबार र सिंहदरबाका हाकिमहरूबीचको ईष्र्या र हानाथापले थाई नरेशलाई निम्ता पठाउँदा उहाँबाट व्यक्त चाहानालाई पनि उल्लेख गरिएछ । त्यसबाट थाई नरेश र सत्तासीन सेनाबीचको सम्बन्धमा के असर पर्यो, थाहा पाइनँ तर थाई नरेशको इच्छा पूरा भएन । 
                        ००

२०१७ वैशाख ६ गते टोकियो विमानस्थलमा राजाको स्वागत जापानका सम्राट् हिरोहितोे स्वयम्ले गर्नुभएको थियो । भोलिपल्ट औपचारिक भेटका लागि राजालाई दरबार पुर्याउने अभिभारा सम्राट्का भाइले ग्रहण गर्नुभयो । दुवै असामान्य सम्मान र विशेष सद्भावका सूचक थिए । जापान भ्रमणपछि वैशाख १४ गते सुरु भएको संयुक्त राज्य अमेरिकाको १८ दिन लामो राजकीय भ्रमण वास्तवमै ऐतिहासिक रह्यो । राष्ट्रपति आइजन हावरद्वारा स्वागत गरिएको सो भ्रमणमा अमेरिकी कङ्ग्रेसका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राजा महेन्द्र अहिलेसम्मकै एक्लो नेपाली नेता हुनुभयो । दक्षिण एसियाका नेताहरूमध्ये उहाँभन्दा अगाडि भारतका प्रथम प्रधानमन्त्री नेहरूलाई मात्र यो सम्मान दिइएको थियो ।

    जापान र अमेरिकाको सफल भ्रमणबाट राजाको आत्मविश्वास निकै बढ्यो । अमेरिकाबाट पोर्चुगल हुँदै असार ४ गते राजा प्यारिस पुग्नुभयो । ६ महिनापछि कोल्टे फेर्ने नेपालको राजनीतिमा राजाको पाँच दिनको प्यारिस बसाइ विशेष महत्त्वको रह्यो । फ्रान्सको आत्मसम्मान पुनस्र्थापना गर्ने राष्ट्रपति चाल्र्स देगल २०औं शताब्दीका महान् फ्रेन्च नेताका रूपमा सफलता र लोकप्रियताको शिखरमा हुनुहुन्थ्यो ।

विश्वमा उहाँको धाक जमिसकेको थियो भने फ्रान्समा त प्रतिस्पर्धी नै थिएन । त्यो पृष्ठभूमिमा राजा महेन्द्र र राष्ट्रपति देगलको भेट भयो । राजाका विश्वास प्राप्त राजदूत ऋषिकेश शाहले मलाई बताएअनुसार दुई राष्ट्राध्यक्षहरूबीचको पहिलो भेट औपचारिक भए पनि निकटता कायम गर्न सफल भयो ।

परिणामस्वरूप कार्यक्रम नभए पनि भोलिपल्ट दुवैबीच फेरि लामो भेटवार्ता भयो । अनेकौँ उथलपुथल भोगेर स्वयम् सिङ्गो इतिहास बनेका देगल कुशल राजनीतिक खेलाडी मात्र होइन, फ्रान्सलाई विश्वको महत्त्वपूर्ण शक्ति बनाउन राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यहाँ पुर्याउने रणनीतिकार पनि हुनुहुन्थ्यो । देगलले राजा महेन्द्रलाई ‘राष्ट्र निर्माणमा साहसिलो र निर्णायक भूमिका लिन’ प्रोत्साहित गर्नुभयो । ‘देश बनाउने हो भने आफैले नेतृत्व सम्हाल्नुपर्छ’ भन्ने उहाँको सल्लाह थियो ।

देगलको सल्लाहले कति प्रभाव पार्यो भने वासिङ्टनमा बसेका राजदूत ऋषिकेश शाहलाई अपर्झट प्यारिस बोलाएर राजा महेन्द्रबाट आफूले ‘नयाँ राजनीतिक व्यवस्था सुरु गर्ने विचार गरेको’ बताउँदै ‘त्यसमा तिमीले महत्त्वपूर्ण जिम्मेवारी लिनुपर्छ’ भन्ने आग्रह पनि भयो । ऋषिकेशले पछि मलाई भनेअनुसार सवारीसाथ रहनुभएका उपप्रधानमन्त्री सुवर्णशमशेरलाई त्यसको जानकारी उहाँले दिनुभएको थियो । 

      त्यसको तीन महिनापछि राजाबाट संयुक्त अधिराज्य ब्रिटेनको राजकीय भ्रमण सम्पन्न भयो, सवारी मन्त्री सुवर्णशमशेर नै हुनुहुन्थ्यो । ब्रिटेनबाट फर्किएको ३७औं दिन पुस १ गतेभन्दा दुई दिनअघि सुवर्णशमशेर कलकत्ता गइसक्नुभएको हुनाले प्रधानमन्त्री बीपी र मन्त्रीहरूसँग गिरफ्तार हुनबाट बच्नुभयो । तत्कालीन शासकीय व्यवस्थामा प्रधानमन्त्री र मन्त्रीले देशबाहिर जान राजाको अनुमति लिनुपथ्र्यो । यसैले सुवर्णशमशेरको कलकत्ता गमनलाई राजासँगको समझदारीसँग जोडेर हेरिएको थियो । 
                       ००

२०१७ मङ्सिर २३ गते भारतका प्रधान सेनापति जनरल के.एस. थिमैया नेपालको दस दिने भ्रमणमा आउनुभयो । काठमाडौँ आएकै दिन उहाँले बीपीलाई प्रधानमन्त्रीका रूपमा भेट्नुभयो तर भ्रमण सकेर दिल्ली फर्कंदा बीपी सिंहदरबार सैनिक क्लबमा बन्दी भइसक्नुभएको थियो । थिमैयालाई महत्त्वाकाङ्क्षी जनरलका रूपमा हेरिन्थ्यो । पाकिस्तानमा सेना प्रमुख अयुब खाँले सैनिक शासन सुरु गरेको हुनाले भारतमा पनि त्यस्तै हुने हो कि भन्ने आशङ्का पश्चिमा अखबारहरू व्यक्त गरिरहन्थे । राजा र थिमैयाबीच के कुरा भयो, चर्चामा आएन । तर राजालाई भेटेर उहाँ सिकार खेल्न चितवन गएको भोलिपल्टै नेपालको राजनीतिले कोल्टे फेर्यो ।

     अर्को तथ्य के हो भने त्यस बेलाका भारतीय राजदूत भगवान् सहाय दरबारका निकट थिए । पुस १ लगत्तै उनलाई दिल्लीको पहिलो लेफ्टिनेन्ट गभर्नर (त्यस बेलासम्म दिल्लीले राज्यको दर्जा पाइसकेको थिएन) मा पदोन्नति गरियो । सन् १९६२ मा चीन–भारत युद्ध हुँदा राजासँग भेट्न प्रधानमन्त्रीका विशेष दूत भएर दुई रातका लागि सहाय शीतल निवासमा सरकारी पाहुना भएर बसेका थिए । नेपालमा सहायको सेवालाई पुरस्कृत गरिनु र कठिन अवस्थामा विशेष दूत बनाएर पठाइनुले पनि २०१७ पुस १ गतेको घटना नेहरूलाई पूर्वजानकारी रहेको जनाउँछ । परराष्ट्र मन्त्रीको हैसियतले नयाँ दिल्ली जाँदा ऋषिकेश शाहलार्ई नेहरूले रिसाएर “मैले त बीपीलाई हटाउन मात्रै भनेको  थिएँ, संसद् विघटन गर्न हैन” भनेकाले पनि पुस १ को घटनापछाडि भारतको भूमिका रहेको तथ्य पुष्टि गर्छ । 
बीपी गिरफ्तार, संसद् विघटन
   

 २०१७ पुस १ गते बाक्लो कुहिरोले ढाकेको काठमाडौँ बिहानदेखि नै जाडोमा कठ्याङ्ग्रिएको थियो । म दैनिक ‘जनता’को सम्पादक, नरदेवी नेटपाचोस्थित कार्यालयमा अपराह्न समाचार लेख्तै थिएँ । अचानक प्रधानमन्त्री र मन्त्रीहरू गिरफ्तार भएको हल्ला आयो । काठमाडौंमा अपरेटरलाई नम्बर बताए मात्रै सम्पर्क गर्न सकिने टेलिफोन, त्यो पनि थोरै सङ्ख्यामा भर्खरै वितरण भएको थियो । मैले टेलिफोन उठाएँ तर त्यो पनि मृत अवस्थामा रहेछ । गोपालदास श्रेष्ठ आइपुग्नुभयो, उहाँले पनि यस्तै हल्ला सुन्नुभएछ । रेडियो नेपालको प्रसारण दिउँसो हुँदैनथ्यो, यथार्थ थाहा पाउन सकिएन । यसैबीच जेठा राजनीतिज्ञ महेन्द्रविक्रम शाह आइपुग्नुभयो ।

उहाँ २००५ साउन १ कलकत्तामा स्थापित नेपाल प्रजातन्त्र काँग्रेसका प्रथम सभापति हुनुहुन्थ्यो । नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेस मिलेर २००६ चैत २७ गते नेपाली काँग्रेस जन्मिएको हो । गोपालदास श्रेष्ठ नेपालमा नभएको बेला कमनरको सम्पादकीय उहाँ नै लेख्नुहुन्थ्यो । उहाँले पनि बीपी गिरफ्तार भएको हल्ला सुन्नुभएछ । यस्तो अन्योलमा अखबार प्रकाशित गर्ने कि नगर्ने भन्ने हामीबीच भएको छलफल भयो । परिस्थितिका सम्बन्धमा हामी स्पष्ट थिएनौँ । भर्खरै बर्माको सैनिक विद्रोहमा जनरल ने विनले प्रधानमन्त्री उनको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हत्याएको कुरा हाम्रो मनमा ताजै थियो । त्यसैले यो सैनिक विद्रोह नै हो भन्ने अनुमान गरेर त्यो दिन अखबार प्रकाशित नगर्ने ठहर भयो । 
 

   करिब दुई बजेतिर महेन्द्रविक्रम शाह र म पैदलै नयाँ सडकतिर लाग्यौैं । नरदेवीबाट इन्द्रचोक हुँदै नयाँ सडक जाने बाटो चकमन्न थियो । तीन बजे शाही घोषणा हुने कुरा सुनेपछि हामी रेडियो पसल खोज्दै अगाडि बढ्यौं तर सबै पसल बन्द थिए । नयाँ सडकबाट खिचापोखरी जाने मोडैमा अमेरिकन लाइब्रेरी थियो ।

त्यहाँका नेपाली कामदारहरूले हामीलाई सिनेमा देखाइने सानो हलमा लगे । त्यहाँ अरू नेपालीहरू पनि जम्मा भएका रहेछन् । केही बेरपछि नै रेडियो नेपालको विशेष कार्यक्रममा राजा महेन्द्रबाट घोषणा भयो । संसद् विघटन भयो, संविधानका अधिकांश दफाहरू निलम्बन भए, सङ्कटकाल लागू भयो । लाइब्रेरीबाट बाहिर निस्कँदा काठमाडौं मूच्र्छित देखिन्थ्यो । हालको रत्नपार्क अगाडि सर्वोच्च अदालत भवन र उपत्यका प्रहरी कार्यालय थिए । त्यहाँ प्रहरीहरूको चहलपहल थियो । महेन्द्रविक्रम शाह सानो गौचरमा सगोलको पुरानो घरमा बस्नुहुन्थ्यो । उहाँसँग केही बेर बसेर म आफ्नो घर नक्साल फर्किएँ । 

सिंहदरबारभित्र हाल गृह मन्त्रालय अगाडि रहेको सानो रातो घरमा सेनाको क्लब थियो । त्यसैमा बीपी कोइरालालाई नजरबन्द गरियो । उहाँसँग केही कनिष्ठ मन्त्रीहरू मात्रै राखिएका थिए । गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराईलगायत सबै मन्त्रीहरू हाल राष्ट्रिय अनुसन्धान विभागको कार्यालय रहेको बरफबागमा थुनिएका थिए । गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, त्रिपुरवर सिंह, श्रीभद्र शर्मा, रुद्र गिरी र राजाका पूर्वनिजी सचिव लोकदर्शन वज्राचार्यलगायत करिब १०० जनालाई पुलचोकस्थित श्रीमहलमा थुनिएको थियो । 
                 

(रमेशनाथ पाण्डेको पुस्तक कुटनीति र राजनीतिको अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेशनाथ पाण्डे
रमेशनाथ पाण्डे
लेखकबाट थप