आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जहाँ शव ल्याइन्छ अनि डा. सामरिकाको खोजी हुन्छ

बुधबार, ०४ पुस २०७५, १० : ५४
बुधबार, ०४ पुस २०७५

नेपालमा दुर्घटनामा परेर मृत्यु भएकाहरूको सनाखत विभिन्न किसिमबाट हुँदै आएको छ । तीमध्ये दाँतबाट गरिने सनाखत प्रभावकारी भएको विशेषज्ञहरूको दावी छ । दुर्घटनामा शरीर चिन्ने अवस्थामा नभएका शवको पहिचान गर्ने यो तरिका सहज उत्तम हुने उनीहरूको भनाइ छ । 

मृतकको फिङ्गरप्रिन्ट, डीएनए परीक्षण र दाँत गरी ३ तरिकाबाट सनाखत हुने गरेको छ । तर दाँतबाट गरिने सनाखत छिटो, सजिलो र सस्तोसमेत हुने भएकाले यो प्रक्रिया प्राथमिकतामा परेको बताइन्छ । 

यसरी सुरु भयो दाँतबाट गर्ने सनाखत 

सन् २०१२ बाट नेपालमा दाँतबाट गरिने सनाखत सुरु भएको हो । हाल नेपालमा फिङगरप्रिन्ट, डीएनए र दाँत गरी ३ माध्ययमबाट सनाखत गरिन्छ । त्रिवि शिक्षण अस्पतालमा विगत ६ वर्षदेखि दाँतबाट सनाखात गर्नेको सङ्ख्या बढ्दै गएको पाइएको छ । यसको नेतृत्व डाक्टर सामारिका दाहालले गर्दै आएकी छन् । डा. दाहाल सन् २०१२ मा भारतको मणिपाल कलेजबाट अध्ययन सकेर नेपाल फर्कनु र सीता एयरको विमान दुर्घटना एकै समयमा भयो । त्यसबेला विमान १९ जनाको मृत्यु भएको थियो । 

‘डढेर कालो भएको शरीर चिन्नै नसकिने अवस्थामा थिए । शवबाट महिला र पुरुष छुट्याउन सक्ने अवस्था नै थिएन । शरीरको पूरै भाग जलेको थियो । तर दाँत जस्ताको त्यस्तै थियो । त्यसबेला मैले दाँतबाट मृतकमध्ये १६ जनाको शनाखत गरेँ, जहाँ ८ जना ब्रिटिस नागरिक पनि थिए’ । सुरुमा दाँतबाट सनाखत गरेको स्मरण गर्दै डा. दाहालले बताइन् । उनका अनुसार त्यसपछि नेपालमा दाँतबाट गरिने सनाखतलाई प्राथमकिता दिइएको हो । डा. दाहाल नेपालको एक मात्र फरेन्सी डेन्टोलोजिस्ट अर्थात दाँतबाट सनाखत गर्ने चिकित्सक हुन् । 

यसरी हुन्छ दाँतबाट सनाखत

सबै मान्छेको दाँत लगभग उस्तै हुनेभए पनि दाँतको बनावट र दाँत बस्ने तरिका भने फरक हुनेभएकाले त्यहीे अनुसार सनाखत गर्न सकिने डा. सामरिका बताउँछिन् । बनावटमा कसैको दाँत अगाडि, कसैको पछाडि, बाङ्गो टिङ्गो र कसैको कुकुरको जस्तै हुनेहुँदा सनाखत गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । प्रष्ट दाँत देखिने अवस्थामा फोटोबाट सनाखत गर्न सकिने डा. दाहाल बताउँछिन् । उनका अनुसार विक्रम संवत् २०७४ फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाज दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखतको सबै आधार मेटिएको थियो । सो समयमा तत्काल सनाखत गरेर आफन्तलाई शव बुझाउनुपर्ने तनाव थियो । 

डाक्टर सामरिका भन्छिन्, ‘मृतकका आफन्तहरूलाई हाँसेको फोटो छ भने लिएर आउनुभन्यौँ । कसैको हरेक दाँतमा ग्याप थियो भने कसैको दाँतमा खाल्टो थियो । कुनैको दाँतमाथि थियो भने कसैको मिलेको थियो । तर  मिलेको दाँतको सुन्दरीकरण गरिएको अर्थात मिलाइएको थियो । तर पनि त्यसमा सफल भइयो ।’ 

दाँतबाट गरिने सनाखतलाई अन्तर्राष्ट्रिय स्तरमा पनि शतप्रतिशत वैज्ञानिक मानिएको छ, जसले गर्दा डीएनए, फिङ्गर प्रिन्टकै रूपमा दाँतबाट गरिने सनाखतलाई वर्गीकरण गरिएको छ । 

यूकेबाट फरेन्सीको डन्टलोजीमा डिग्री गरेपछि डा. सामरिकालाई दाँतबाट गरिने सनाखतमा झनै सहज भयो । डा. सामरिका त्रिवि अस्पतालको दाँत विभागमा कार्यरत छिन् । त्यही भएर फरेन्सी विभागमा जब कङ्काल ल्याइन्छ अनि सामरिकाको खोजी हुने गरेको अस्पताल स्रोतले जनाएको छ । 

अहिलेसम्म सन् २०१२ यता भएका हरेक विमान दुर्घटनामा चिन्न नसक्ने अवस्थाका शवको दाँतबाट सनाखत गरिँदै आएको छ । ‘

दुर्घटनामा परेको व्यक्ति सनाखत गर्ने कुनै पनि आधार भएन भने उसको दाँतका बारेमा परिवारसँग जानकारी लिएर पनि पत्ता लगाउन सकिने डा. सामरिका बताउँछिन् । 

दुर्घटनामा बाहेक अन्य कारणले हराएका, मरेका व्यक्तिहरूको भने दाँतसँगै अन्य कपडा ब्याग, जुत्तालगायत धेरै विषयमा जानकारी लिएर मात्रै सनाखत गर्ने गरिन्छ । यसरी दाँतबाट गरिने सनाखतभन्दा डीएनए टेसटबाट गरिने सनाखत धेरै झन्झटिलो हुने गर्छ । 

सनाखत गर्ने तरिका 

दाँतबाट गरिने सनाखतमा मिरर र टर्चलगायतका सामान प्रयोग गरिन्छ । फरेन्सी विभागमा शव ल्याएपछि फिङ्गरप्रिन्ट र डीएनए पठाइन्छ अनि दाँतबाट पनि सनाखत सुरु गरिन्छ । दाँतबाट सनाखत गर्दा मिलेको खण्डमा अन्य सनाखत गरिँदैन । सँगै फिङ्गर प्रिन्टको रिपोर्ट आएको खण्डमा त्यो रिर्पाेटलाई पनि तुलना गरिन्छ । अहिलेसम्म दुर्घटनामा निधन भएकाहरूको दाँत, फिङ्गरप्रिन्ट, कपडा र सामानबाट सनाखत गरिएको डा. दाहालको भनाइ छ । 

दाँतबाट नसकेको खण्डमा अन्तिम अवस्थामा मात्रै डीएनए परीक्षण गरिन्छ । विमान दुर्घटनामा पाइलट र विमानमा सवार सबै व्यक्तिको छिटो रिर्पाेट माग गरिएको हुन्छ र आफन्तले पनि आफ्नो निधन भएको व्यक्तिको छिट्टै दाहासंस्कार गर्न खोज्छन् । पीडाकोे समयमा डीएनए निकै झन्झटिलो हुनेहुँदा दाँतबाट गरिने सनाखत नै धेरैले रुचाउने र प्रभावकारी हुने भएकाले यसको माग बढ्दै गएको डा. दाहाल बताउँछिन् ।

उसो त सनाखत गर्दा गलत व्यक्ति पर्नगए देशकै बेइज्जत हुनेहँुदा दाँतको सनाखत गर्दा निकै ध्यान दिनुपर्ने हुन्छ । अहिलेसम्म दाँतबाट गरिएको सनाखतमा गलत व्यक्ति नपरेको र कुनै पनि शव फर्काउनुपर्ने अवस्था नआएको डा. सामरिकाको दाबी छ । डा. सामरिकाले दक्षिण एसियामा दाँतबाट गरिने सनाखतको बारेमा विभिन्न तालिमसमेत लिन र दिन जानेसमेत गरेकी छन् । उनको अनुपस्थितिमा अन्य ५ जना चिकित्सकहरूलाई उनले तालिम दिएर समक्ष बनाएकी छिन् ।

बलात्कारी पनि पत्ता लाग्छ 

दाँतबाट गरिने सनाखत छिटो र सस्तो हुने भएकाले दाँतको रेकर्ड राख्न आवश्यक हुने डा. सामरिकाको भनाइ छ । त्यसका लागि सबै नागरिकले दाँतको रेकर्ड राख्नुपर्ने नियम सरकारले नै बनाए सहज हुने उनको सुझाव छ । उनले जनशक्ति अभाव भएका बेला आफू गर्भवती अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्न आएको सुनाइन् । 

दाँतबाट गरिने सनाखत त्रिवि शिक्षण अस्पतालमा मात्रै हुने गरेको छ । कुनै घटना र बलात्कारको केसमा पीडितको शरीरमा टोकिएको छ भने पनि दाँतबाट व्यक्ति पहिचान गर्न सहज हुने उनको भनाइ छ । नेपालमा बलात्कारको घट्ना बढ्दै गइरहेका बेला दोषी पहिचान नभएको अवस्थामा पीडितको शरीरमा टाकिएको भए त्यहाँबाट पनि दोषी पत्ता लगाउँन सकिने सामरिकाको भनाइ छ । ‘जिल्ला जिल्लामा दाँतबाट सनाखत गर्ने स्वास्थ्यकर्मीको टिम बनाउन सके टिचिङ अस्पताल नै धाउनुपर्ने अवस्था अन्त्य हुन्छ’ उनको सुझाव छ । 

झन्झटिलो डीएनए 

सामान्यतया डीएनए रिपोर्ट आउन एक महिनासम्म पेन्डिङमा राख्नुपर्ने हुन्छ । एक जनाको मात्रै डीएनए गर्न नमिल्ने हुँदा एक लट सक्नका लागि लामो समय लाग्छ । दाँतबाट गरिने सनाखत भने सबै रिपोर्ट फाइल भएको खण्डमा एक घण्टामा नै दिन सकिन्छ । टर्च र ऐनाको सहायताबाट गरिने दाँतको सनाखत डीएनएभन्दा धेरै सजिलो भएकाले यसको प्रयोग बढी हुने गरेको छ । दाँतबाट गरिने सनाखतलाई व्यवस्थित बनाए अन्तर्राष्ट्रियस्तरमा पनि नेपालको राम्रो मूल्याङकन हुने डा. दाहालको भनाइ छ ।

दाँतको सनाखतमा नेपाल एसियाकै दोस्रो 

सन् २०१२ देखि अहिलेसम्म नेपालमा ५० भन्दा धेरैको दाँतबाट सनाखत गरिएको छ । भूकम्प ,हिमपहिरो,प्लेन दुर्घटना लगायतमा परेका ५० भन्दा बढिकोे दाँतबाट सनाखत गरिएको हो । 

दाँतबाट गरिने सनाखतमा एसियामै नेपाल श्रीलंकापछिको दोस्रो देशमा पर्ने डाक्टर सामरिका बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप