सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्मला हत्या–बलात्कार प्रकरणः तत्कालिन एसपी बिष्टसहित १८ प्रहरीमाथि कारबाही

बिहीबार, ०५ पुस २०७५, १९ : ५०
बिहीबार, ०५ पुस २०७५

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा लापरबाही गरेको आरोपमा १८ जना प्रहरीमाथि कारबाही हुने भएको छ । निर्मला प्रकरणको अनुसन्धानमा व्यापक लापरबाही गरेको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट (हाल बर्खास्त) सहित १८ जना प्रहरीमाथि कारबाही हुने भएको हो । 

कारबाहीको सिफारिसमा पर्नेहरुमा एकजना एसपी, दुईजना डीएसपी, तीनजना इन्सपेक्टर, चारजना सई, तीनजना हबल्दार र पाँचजना जवान रहेका नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले रातोपाटीलाई जानकारी दिए । 

गत भदौ ३१ गते एआईजी धिरु बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले १८ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरेको प्रवक्ता सुवेदीले बताए ।  उनले भने, 'बस्न्यात नेतृत्वको समितिले निर्मला प्रकरणको अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै हाल बर्खास्त जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १८ जनामाथि कारबाहीको सिफारिस गरेको हो ।' 

कारबाहीको सिफारिस गरिएकाहरुमा एसपी विष्ट, जिप्रका कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठ्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी अंगुर जिसी, इन्सपेक्टरहरुमा वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख जगदीश भट्ट, एकिन्द्र खड्का र गणेश सापकोटा रहेका छन् । 

यसैगरी समितिले सई रामसिंह धामीसहित चारजनाको नाम सिफारिस गरेको छ, भने तीनजना हवल्दार र पाँचजना जवान रहेका छन् । प्रवक्ता सुवेदीका अनुसार पन्तको शव भेटिएको घटनास्थल सुरक्षित गर्नमा र प्रमाण संकलनमै उनीहरुको ठूलो कमजोरी रहेका मुख्य कारण हो । 

हत्या प्रकरणमा निर्मला हराएकै दिन प्रहरीले घटनाको गाम्भीर्य नबुझेको, साउन ११ गते निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेट्दासमेत प्रहरी त्यति गम्भीर नदेखिएको जस्ता कारण देखाउँदै समितिले उनीहरुलाई कारबाहीको लागि सिफारिस गरेको प्रवक्ता सुवेदीको भनाई छ । 

एसपी बिष्टसहितले झुटा प्रमाण पेश गर्ने प्रयास गरेको, चेन अफ कस्टडी प्रयोग नगरेको, मृतकसँग भएको भनिएको अम्बा बरामद नगरिएको, हत्यामा संलग्न रहेको भन्दै स्थानीय दिलिपसिंह विष्टलाई जर्बजस्ती आरोप लगाइएको कारण पनि रहेको एसएसपी सुवेदीले जानकारी दिए । उनीहरुमाथि कानुन शाखाले विभागीय कारबाही गर्ने उनले बताए । 

निर्मला गत साउन १० गते साथी रोशनी बमकहाँ होमवर्क गर्न गएपछि हराएकी थिइन् । उनको शव साउन ११ गते उखुबारीमा फेला परेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप