बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

इसाईको संरक्षण, ‘इसाईकरण’लाई दुरुत्साहन

शुक्रबार, ०६ पुस २०७५, १२ : ३८
शुक्रबार, ०६ पुस २०७५

इसाई धर्ममा आस्था राख्ने परिवारमा जन्मी, हुर्की, सोही धर्ममा आस्था राख्ने राज्यको म एउटा सचेत नागरिकले संविधानतः धर्मनिरपेक्ष आफ्नै राष्ट्रमा पनि आफ्नो आस्थाकै कारण भर्खरै मात्र प्रहरी प्रसाशनमा स्पष्टीकरण दिनुपर्यो । तर काठमाडौँको एउटा तारे होटलमा भर्खरै मात्र दक्षिण कोरियाको एउटा धनाढ्य युनिफिकेसन चर्चले युनिभर्सल पिस फाउन्डेसन नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत अघोषित रूपमा नेपालमा इसाईकरण (धर्मान्तरण) का लागि आयोजना गर्यो । ‘एसिया प्यासिफिक समिट’ नाम दिइएको सो कार्यक्रममा सरकारले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेको थियो । प्रधानमन्त्रीले सो संस्थाले प्रदान गरेको ‘लिडरसिप एन्ड गभरन्यान्स अवार्ड’ एक लाख डलरसहित थापेका थिए । उनले पवित्र–जल तथा आशीर्वाद ग्रहण गरेका थिए । उक्त संस्थाको अगाडि सरकार नतमस्तक भएको कुराले निकै हङ्गामा मच्चिायो ।

हामीले गर्ने चियोचर्चो चियापसल, सडक र केही सञ्चार माध्यमहरूमा सीमित भयो । संस्थाले नेपालमा इसाईकरणको खेती गर्ने उसको अभीष्ट र इसाईत्वपनलाई दुरुत्साहन गर्ने उद्देश्य प्राप्त गर्यो ।

यहाँ गम्भीर रूपमा सोच्नुपर्ने कुरा के हो भने इसाईकरण (धर्मान्तरण) भनेको कुनै पनि मानिसलाई लोभ, लालच वा प्रलोभन देखाई कृत्रिम रूपमा नामधारी इसाई बनाएर, उसलाई आफू अनुकूल प्रयोग गर्न सकिने साधन तयार गर्नु हो । तर इसाईत्वपन चाहिँ येसु मसिहको शिक्षालाई असली तरिकाले धारण ग्रहण गरेर उहाँकै चेला बन्ने बनिने कुरा हो । 

इसाईकरण पापपूर्ण अभिप्रायले अभिप्रेरित भई कुनै पनि व्यक्ति, समाज र राष्ट्रले आफ्नो कुत्सित स्वार्थपूर्तिका लागि मानव समाजमा जालसाँझ गर्नलाई प्रयोग गर्ने एउटा गतिलो सुन्दर हतियार हो भन्ने कुरा विगतका इतिहासहरूले स्पष्ट बनाउँछ । इसाईत्वपन चाहिँ स्वार्थरहित अभिप्रायले अभिप्रेरित भई शिष्टचार, सदाचार, भाइचारा, समानता, मानवता, आदर्श, आज्ञाकारिता र अनुशासनको जगमा निर्माण हुने एउटा ईश्वरीय गुण हो ।  तर विडम्बना ! नेपाल सरकारले नेपालमा इसाईकरणको खुबै पक्षपोषण गरी, प्रोत्साहन र इसाईत्वपन धारण ग्रहण गरेका नेपाली इसाई जनसमुदायहरूलाई भने हदैसम्म उपेक्षा र उपहास गरी दुरुत्साहन गरेको कुरा उसको व्यवहारले स्पष्ट पार्छ । 

नेपालमा इसाईकरण गरेको भएको दोष भने, उही इसाईत्वपन ग्रहण गरेका अपहेलित र उपेक्षित नेपाली इसाई जनसमुदायमाथि खन्याउँछ ।

अनि नेपालमा इसाईकरण गरेको भएको दोष भने, उही इसाईत्वपन ग्रहण गरेका अपहेलित र उपेक्षित नेपाली इसाई जनसमुदायमाथि खन्याउँछ । किनकि युनिफिकेसन चर्चले युनिभर्सल पिस फाउन्डेसन नामक संस्थाको आडमा सम्पन्न गरेको ‘एसिया प्यासिफिक समिट’ मा सामेल हुनु भन्दा पहिले उक्त युनिफिकेसन चर्च के हो ? यसले के काम गर्छ ? इसाई धर्मको एउटा मतलाई प्रतिनिधित्व गर्ने चर्चले नै कार्यक्रम आयोजना गरेको हुनाले नेपाली इसाई जगतको धारणा चाहिँ यसप्रति के कस्तो छ ? यो कार्यक्रम नेपालमा गर्नु उचित छ या छैन ? इसाई भएकै नाताले यस कार्यक्रममा नेपाली इसाईहरूको सहभागिता, समर्थन र ऐक्याबद्धता छ कि छैन ? यसले देशको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, नैतिक, कूटनीतिक तथा मनोवैज्ञानिक रूपमा पर्ने असर तथा प्रभावहरू के कस्ता हुन सक्छन् ? भन्ने यावत् प्रश्नहरूको बारेमा नेपाली इसाईहरूको बीचमा छलफल तथा परामर्श गर्नुपर्छ कि पर्दैन ? 

हो, सरकारले युनिफिकेसन चर्चले युनिभर्सल पिस फाउन्डेसन नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा इसाईकरण (धर्मान्तरण) को लागि आयोजित ‘एसिया प्यासिफिक समिट’ सम्पन्न गर्नुअघि नेपालमा इसाईत्वपन धारण गरेका नेपाली इसाईहरूसँग कुनै सल्लाह वा परामर्श नै गरेन÷चाहेन । नेपालमा इसाई धर्म मान्ने समुदायले युनिफिकेसन चर्चले जस्तो विभिन्न बाहानमा नेताहरूलाई विदेश भ्रमण गराउने, एनजीओहरू खोलेर करोडौँ अनुदान दिने क्षमता, सक्ने हैसियत र नैतिकता छैन । त्यसैले उसले नेपाली इसाई समुदायलाई कम आँकलन गर्यो । उसले सिङ्गो नेपाली इसाई समुदायको चित्त दुखायो । दुईचार जना नक्कली इसाई भनाउँदाहरूले दिएको रकममा नेपाल र नेपालीको स्वभिमान बेच्ने काम गर्यो । यस कार्यले विश्वमै एउटा आईएनजीओको अगाडि लम्पसार पर्ने सरकारको रूपमा परिचित गरायो । 

नेपाली इसाई समुदायको महान चाड खि«स्टमसमा एक दिन बिदा दिन समेत सरकार आनाकानी गर्छ । उक्त संस्थाले  इसाईकरण (धर्मान्तरण) को लागि आयोजना गरेको कार्यक्रमका लागि राजधानीमा जोरबिजोर प्रणाली नै लागू गर्यो । 

उक्त कार्यक्रम दक्षिण अस्ट्रेलियली मुलुक फिजीमा आयोजना गर्न लागिएको थियो । फिजीमा इसाईत्वपन धारण गरेका इसाईहरूसँग परामर्श गरेपछि त्यहाँको सरकारले आफ्नो राष्ट्र र जनताहरूको भावना विपरीत हुने ठहर गरेको थियो । यही प्रतिबन्ध लगाएको  कार्यक्रमलाई  नेपालमा सरकारले भव्यतका साथ सम्पन्न गराइदियो । 

संवेदनशील भूराजनीतिमा बाँचेको अडेको नेपालमा पश्चिमा शक्तिकेन्द्र राष्ट्रहरूले नेपालमा आन्तरिक अस्थिरता पैदागरी, अस्थिरताको जगमा उभिएर विश्वमा नवशक्तिको रूपमा उदियमान चीन र भारतलाई नजिकबाट नियालेर ठेगान लगाउने उनीहरूको आंशिक रणनीति सफल बनाइ दिएको छ । 

छिमेकी मुलुक चीन र भारतले दीर्घकालीन सुरक्षा र महत्त्वकाङ्क्षको मामिलामा उनीहरु कति संवेदनशील छन् भन्ने कुरा नजिकबाट छाम्ने मौका मिलेको छ । नेपालमा इसाईकरणका गोटीहरू बढेर जानु मुलुक र क्षेत्रीय सुरक्षा  सन्तुलनको लागि खतराको घण्टी हो । 

संविधानले जे जसरी परिभाषित गरे पनि यसको सही अर्थ धर्म वा ईश्वरबाट अलग रहेर स्वतन्त्र प्रकारले कसैको डरविना बाँच्नु भन्ने हो । कसैले ईश्वरको डरै मान्दैन वा ऊ नास्तिक हो भने उसले इसाईत्वपन धारण गर्न सक्दैन । 

नेपालको संविधान जारी गर्ने समयमा एक्कासि धर्मनिरपेक्षताको कुरा आउनु र धर्मनिरपेक्षता शब्दलाई विश्वव्यापी रूपमा बुझिएको वा जानिएको भन्दा फरक गरी प्रस्तुत गरिएको छ । संविधानमा ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनिएको छ । अर्थ लगाउनुमा पनि तिनै पश्चिमा शक्तिकेन्द्र राष्ट्रहरूको विश्वमा नव शक्तिको रुपमा उदियमान चीन र भारतलाई सीमानाबाटै नियाल्ने रणनीतिक चाल हुनसक्छ । 

धेरैले संविधानमा ‘धर्मनिरपेक्षता’ शब्द नेपाली इसाईहरूको धाक, धम्की, रवाफ, प्रभाव वा प्रलोभनमा उल्लेख गरिएको हो भन्ने सामान्य बुझाइ छ । तर यथार्थमा धर्मनिरपेक्षता शब्द नेपालमा इसाईकरणको मलजल, बजारीकरण, धाक, धम्की, रवाफ, प्रभाव वा प्रलोभनकर्ताबाट आएको हो । इसाईत्वपन धारण गरेका सच्चा नेपाली इसाईहरूले धर्मनिरपेक्षतालाई अँगाल्न सक्दैनन् । यो उनीहरूको माग थिएन र होइन । उनीहरूको माग भनेको धार्मिक स्वतन्त्रता सहितको समानता हो । संविधानमा धर्मनिरपेक्ष वा सापेक्ष केही पनि उल्लेख नगरी, राज्यले विना भेदभाव सम्मान र समान व्यवहार गरोस् भन्ने मात्र हो ।

संविधानले जे जसरी परिभाषित गरे पनि यसको सही अर्थ धर्म वा ईश्वरबाट अलग रहेर स्वतन्त्र प्रकारले कसैको डरविना बाँच्नु भन्ने हो । कसैले ईश्वरको डरै मान्दैन वा ऊ नास्तिक हो भने उसले इसाईत्वपन धारण गर्न सक्दैन । 

कुनै पनि स्वार्थविना ईश्वरसँग असल सम्बन्ध स्थापित गरी, मोक्ष प्राप्तिको मात्र आशा, आस्थामा स्थिर विश्वास कायम राख्नु हो । यसको प्रत्यक्ष रूपमा सरकार, शासन, प्रशासन र राजनीतिसँग सम्बन्ध हुनु हुँदैन । तर इसाईकरणकर्ताहरू भने आफ्नो स्वार्थका लागि हर समय सरकार, शासन, प्रशासन र राजनीतिसँग प्रत्यक्ष जोडिएर उनीहरूलाई दबाब, प्रभाव र प्रलोभनमा पार्न लालायित हुन्छन् । ‘एसिया प्यासिफिक समिट’ त्यसैको एउटा नमुना हो । 

यो समिटमा नेपाल सरकारले हदैसम्मको अपरिपक्व, अदूरदर्शी व्यवहार प्रदर्शन गर्यो । पश्चिमा शक्तिकेन्द्र राष्ट्रहरूको कुत्सित राजनीतिक स्थार्व पूर्तिका लागि परिचालित भयो र नेपालमा इसाईकरणको खेती गर्नेहरूको सारथी बनेर अनेक थरीका दबाब, प्रभाव र प्रलोभनबाट प्रभावित भई इसाईकरणलाई प्रोत्साहन गर्यो । यसले नेपाली इसाई समुदायको उपेक्षा, उपहास र अवहेलना र दुरुत्साहन गर्यो । उसले छिमेकी राष्ट्रहरूको समेत चिन्ता, चासो र महत्वकांक्षलाई ख्याल गरेन । सरकार सुझबुझपूर्ण र दुरदर्शी तरिकाले राष्ट्रहितलाई ध्यानमा राखेर उच्च कोटिको कूटनीतिक चाल चल्नबाट चुकेको छ । अबका दिनहरूमा सरकार सच्चिनु आवश्यक छ । अन्यथा नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको खेल मैदानका रूपमा परिणत हुन सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उरास लोहोरुङ राई
उरास लोहोरुङ राई

[email protected] 
 

लेखकबाट थप