आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक सेवा इकाई शाखा बजेटविहीन : ६ महिनादेखि उधारोमा चल्दै केन्द्रका १५ सरकारी अस्पताल

बुधबार, १८ पुस २०७५, ०९ : ५९
बुधबार, १८ पुस २०७५

काठमाडौँ । नयाँ आर्थिक वर्षको आधा समय बितिसक्दा पनि केन्द्रका १५ वटा सरकारी अस्पतालका सामाजिक सेवा इकाई शाखामा बजेट पुगेको छैन । सङ्घीयतापछि स्वास्थ्यमा नयाँ नीति लागू भएकाले ती शाखामा बजेट नगएको हो ।

आर्थिक वर्ष ०७५/०७६ सुरु भएको पुसमा ६ महिना लाग्यो । तर सामाजिक सेवा इकाई शाखामा बजेट नआउँदा सेवा नै प्रभावित हुन लागेको सम्बन्धित अस्पतालले जनाएका छन् ।
बजेट नहँुदा अस्पतालले बिरामीलाई उधारोमा सेवा दिनुपरेको तथा साउनदेखि सो शाखामा कार्यरत कर्मचारीले तलबसमेत नपाएको बताएका छन् ।

बजेट नहुँदा राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक इकाई शाखाको हरेक काम उधारोमा चलेको छ । ट्रमा सेन्टरको यो शाखाबाट साउनदेखि पुस १५ सम्म १० प्रतिशत निःशुल्क बेड, कर्मचारी र १२ वटा लक्षित समूह गरी ४ हजार ८ सय २३ जनाले सेवा लिएका छन् । सो सेवा लिएको उपचार खर्च पुस १५ सम्म ४६ लाख ५ सय भएको शाखा प्रमुख अर्जुनप्रसाद भेट्वालले बताए । उनका अनुसार यो सबै उपचार खर्च उधारोमा चलेको छ ।

ट्रमा सेन्टरको सामाजिक सेवा इकाई शाखाबाट उपचार गराएका बिरामी र आफन्तलाई वीरमा उधारो खाना खुवाइएको छ भने औषधि पनि उधारोमा लिने गरेको शाखा प्रमुख अर्जुन भेटवालले बताए । ‘अहिले ट्रमाको इकाई शाखाका ७ जना कर्मचारीले ७ महिनादेखि तलब पाएका छैनन् । सरकारले यस वर्ष ट्रमा सेन्टरको इकाई शाखालाई ३० लाख बजेट विनियोजन गरिसकेको छ । तर बजेट नआउँदा ४६ लाख ऋण लागिसकेको छ’, उनले गुनासो गरे ।

यता वीर अस्पतालमा पनि हालत त्यस्तै छ । वीर अस्पतालको सामाजिक सेवा इकाई शाखामा मङ्सिरसम्म ४ हजार ४ सय २० जनाले सेवा लिएका छन् । बिरामीको उपचार, खाना, यातायात गरेर मङ्सिरसम्म ३५ लाख ६१ हजार २६ रुपियाँ खर्च भइसकेको छ । यो सबै खर्च बजेट आएपछि तिर्ने शर्तमा अस्पतालको आन्तरिक स्रोतबाट उपलब्ध गरेको अस्पतालले जनाएको छ । यो शाखामा सरकारले पठाउने बजेट २६ लाख छ तर अहिलेसम्म साढे ३५ लाख उपचार खर्च भइसकेको देखिन्छ ।

वीरका सामाजिक इकाई शाखा प्रमुख टीकाराम पनेरुका अनुसार लामो समयसम्म बजेट रोकिएको यो पहिलो पटक हो । उनी भन्छन्, ‘आधा वर्ष नै सकिन लाग्दासम्म बजेट नआउँदा वीरका सामाजिक इकाई शाखाका १० जना कर्मचारीले तलब भत्ता पाएका छैनन् ।’  

बालबालिकाको एक मात्र अस्पताल कान्ति बाल अस्पतालमा पनि समस्या उस्तै छ । कान्तिको सामाजिक इकाइ शाखाबाट सेवा लिनेलाई अन्य अस्पतालले जसरी नै पछि बजेट आएपछि पैसा दिने भन्दै अस्पतालको फार्मेसीबाट औषधि लिइएको छ । यस्तै बिरामी र बिरामीको आफन्तलाई खाना खुवाउने काम एक सोसियल एक्सन भोलेन्टियर संस्थाले गरेको छ ।  

कान्तिबाल अस्पतालका सामाजिक सेवा इकाई शाखा प्रमुख रमेश नर्सिङ केसीका अनुसार पुस १५ सम्ममा ३ सय ९२ जना बालबालिकाले सेवा लिएका छन् । सेवा इकाई शाखामा ५१ लाख बजेट विनियोजन गरिएको छ तर उक्त बजेट अझैसम्म पुग्न सकेको छैन । अहिलेसम्म ४ जना कर्मचारी रहेको कान्तिको सामाजिक सेवा इकाई शाखामा १ जना कर्मचारी थप गर्ने गरी बजेट आउने बताइएको छ । 

सामाजिक सेवा इकाई शाखाले  गरिब, ज्येष्ठ नागरिक, हिंसामा परेका महिला, अपाङ्ग, बेवारिसे, प्राकृतिक विपदमा परेका नागरिक, कैदीबन्दीलगायत १२ प्रकारका बिरामीको उपचारमा सहयोग गर्दै आएको छ । यो कायक्रमअन्तर्गत अति विपन्नलाई निःशुल्क उपचार सेवा दिइन्छ भने अन्य नागरिकको आर्थिक अवस्थाअनुसार ५० देखि ४० प्रतिशत सहयोग गर्ने गरिएको छ ।

सरकारको भनाइ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका सीताराम प्रसाईंका अनुसार सङ्घीयतापछि नयाँ नियम समयमै तर्जुमा नगर्दा बजेट जान ढिला भएको हो । प्रसाईंले ३७ वटा सामाजिक सेवा इकाई शाखामध्ये २२ वटा प्रदेश र स्थानीयतहका अस्पतालहरूमा आ.व.को सुरुमै बजेट गइसकेको छ । केन्द्रका १५ वटा अस्पतालमा पनि अबको केही दिनमा बजेट जाने बताए । १५ वटा अस्पतालको सामाजिक सेवा इकाई शाखामा २ करोड ६५ लाख बजेट विनियोजन भइसकेको प्रसाईंले बताए ।

‘सामाजिक इकाई सेवा जस्तो महत्त्वपूर्ण शाखामा बजेट जान ढिलाइ भइरहेको अवश्य हो तर सेवा दिने काम रोकिएको छैन । अस्पतालको आन्तरिक स्रोतबाट सेवा दिने काम भइरहेको छ, सङ्घीयतासँगै नयाँ सिस्टम बसाल्ने क्रममा केही ढिला भएको हो, स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमा सबै कागजपत्र पठाइसकेको छ । अब केही दिनमै बजेट जानेछ’, रातोपाटीसँग प्रसाईंले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप