प्रदेश ५ मा प्रति महिना १० जना पुरुषद्वारा सम्वन्धविच्छेदको मुद्दा
बुटवल । भदौ १ गतेबाट मुलुकीसंहिता लागु भएदेखि एक अदालतको तथ्याङ्कले प्रदेश ५ का जिल्लाहरुमा मासिक सरदर १० जना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको पाइएको छ ।
गुल्मी जिल्लाको तथ्याङ्कबाट यस्तो आंकलन गरिएको हो । मुलुकीसंहिता लागु भएको ५ महिनामा त्यस अदालतमा ४९ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दिएका छन् । त्यस अदालतका श्रेस्तेदार कृष्णशरण लामिछानेका अनुसार पछिल्लो पाँच महिनाको अन्तरालमा १ सय ७ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका छन् ।
जसमध्ये महिला ७० जना र पुरुष ४९ रहेको उनले जानकारी दिए । सबैभन्दा बढी भदौ महिनामा ३३ जनाले सम्बन्ध विच्छेदको मुद्दा दिएका छन् । जसमध्ये १२ जना महिला र २१ जना पुरुषले श्रीमतीसँग सम्वन्धविच्छेद गरी पाउँ भनि मुद्दा दिएका छन् ।
सम्बन्ध विच्छेदको कारण बढी मात्रमा वैदेशिक रोजगारबाट सिर्जित असमझदारी पाइएको छ । मुलुकीसंहिताले सहज वातावरण बनाइदिएका कारण पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा दिने क्रम बढेको श्रेस्तेदार लामिछानेको भनाई छ ।
सोही अदालतमा श्रीमानसँग सम्बन्धविच्छेद मागेका दुई महिलाले पछि श्रीमान्सँगै बस्ने गरी मेलमिलाप गरेर पुनः घरजाम गरेको त्यस अदालतका मेलमिलापकर्ता गणेश विश्वकर्माले बताए ।