आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छात्रवृत्तिको रकम नपाउँदा चिकित्सकहरु आक्रोशित

२ सय चिकित्सकले पाउँने ६० करोड बराबरको छात्रवृत्ति रकम अझै पाएनन्
मङ्गलबार, २४ पुस २०७५, १३ : १४
मङ्गलबार, २४ पुस २०७५

काठमाडौँ । डाक्टर सुमित पाण्डे त्रि.वि. शिक्षण अस्पताल कार्यरत छन् । सोही अस्पतालमा सरकारी छात्रवृत्ति कोटाबाट पनि उनले आफ्नो अध्ययनलाई अगाडि बढाएका छन् । तर समयमा सरकारले रकम नपठाउँदा त्यसरी अध्ययन गर्दै आएका चिकित्सकहरु भने निकै मारमा परेका छन् । 

रातोपाटीसँगको कुराकानीमा डा पाण्डेले यो वर्षको जेठदेखि छात्रवृत्तिवापत पाउनु पर्ने रकम नपाएको गुनासो पोखे । 

आठौँ तहका चिकित्सकलाई सरकारले छात्रवृत्तिअन्तर्गत मासिक ३३ हजार ७ सय र अन्य खर्च गरेर ३ वर्षको लागि प्रतिव्यक्ति २२ लाख दिनुपर्ने व्यवस्था छ । तर यो वर्षको उनीहरुले छात्रवृत्तिको सो रकम पाउन सकेका छैनन् ।

आवासीय चिकित्सक संघका अध्यक्ष समेत रहेका डा. पाण्डे एक उदाहरण मात्रै हुन् । अहिलेसम्म रकम नआउँदा देशभरका आवासीय चिकित्सकहरु निकै मारमा परेका छन् । खासगरी, त्रि.वि शिक्षण अस्पताल महाराजगंज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान अस्पताल र बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालका आवासीय चिकित्सकहरुले छात्रवृत्तिवापत पाउनुपर्ने रकम पाउन सकेका छैनन् । 

स्मरण रहोस्, सरकारले यो वर्ष एमडी/एमएस,डिएम र एमसिएच अध्ययनरत चिकित्सकहरुको लागि छात्रवृत्ति दिने व्यवस्था डाक्टर केसीको अनशनको एउटा उपलब्धि हो । डा. केसीसँग भएको सम्झौताको मर्मअनुरुप वि.स २०७३ सालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  छात्रवृत्तिको सुरुवात गरेको थियो । सोहीअनुसार स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिबाट एमडी/एमएस,डिएम र एमसिएच अध्ययनरत चिकित्सकलाई सरकारले छात्रवृत्ति प्रदान गर्दै आएको हो । 

६० करोड रकम विनियोजन 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र प्रसाद श्रेष्ठले भने सोही प्रयोजनका लागि ६० करोड बजेट विनियोजन गरिएको बताए ।

अचम्म लाग्दो कुरा त के छ भने देशभरका ४ वटा प्रतिष्ठानमा कति आवासीय चिकित्सक छन् भन्ने यकीन तथ्याङ्कसहित भन्न सक्ने अवस्थामा सरकार छैन । अनुमानका आधारमा झण्डै २ सयभन्दा धेरै आवासीय चिकित्सकहरुको छात्रवृत्ति विनियोजन भइसकेको प्रवक्ता श्रेष्ठले बताए ।  

यस्तै प्रतिष्ठानबाट माग नै ढिला आएको हुँदा पनि रकम पठाउन ढिला भएको मन्त्रालयले जनाएको छ । धरानको बि.पि कोइराला प्रतिष्ठानका आवासीय चिकित्सकको तालिका बल्ल आएको मन्त्रालयका डा. विकास देवकोटाले बताए । 

उनले रातोपाटीसँग कुरा गर्दै भने अहिलेसम्म टिचिङ अस्पतालका आवासीय चिकित्सकको लागि १२ करोड बजेट पठाइसकेको छ भने ७ करोड थप माग गरिएको छ । यस्तै न्याम्स (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल) र पाटन अस्पतालको आवासीय चिकित्सकहरुको लागि पनि छात्रवृत्तिको रकम पठाउने तयारीमा रहेको बताए ।

प्रतिष्ठानबाट माग आउँदा मन्त्रालयमा भए बजेट पठाउने नत्र अर्थ मन्त्रालयमा काजगपत्र पठाउनु पर्ने भएको हुँदा ढिला भएको डा. देवकोटाले बताए ।  

आवासीय चिकित्सक आन्दोलनमा जाने !

२०७३ सालमा ७ महिना पनि छात्रवृत्तिको रकम पठाइएको थियो । यस्तै २०७४ मा ९ महिना पछि, ०७५ मा अहिले पुष अन्तिम हँुदासम्म रकम पाउन नसकेका छैनन् । आवासीय चिकित्सकहरुले सरकारी अस्पतालमा २४ घण्टानै सेवा प्रदान गर्दै आइरहेका छन् । आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर पाण्डेका अनुसार मन्त्रालयमा पटक/पटक जानकारी गराउँदा पनि छात्रवृत्तिको रकम आउने तयारीमा रहेको भन्दै टारेको पनि धेरै भइसक्यो, अबको केही दिनमा सरकारले छात्रवृत्तिवापतको रकम उपलब्ध नगराए आफूहरु आन्दोलनमा जाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप