सिरहामा पनि पप्पुले ठग्यो, पुल निर्माणको माग गर्दै १० दिनदेखि रिले अनसन
जनकपुर– सिरहा जिल्लाको सीमा क्षेत्र पूर्व–पश्चिम हुलाकी राजमार्गमा पर्ने नदीमा पुल निर्माणको माग राख्दै स्थानीयवासीले १० दिनदेखि रिले अनसन जारी राखेका छन् । कमला र बलान नदीमा निर्माणाधीन पुललाई पूर्णता दिन दबाब दिने उद्देश्यले अनसन थालेको हुलाकी सडक संघर्ष समितिले जनाएको छ ।
अनसनमा स्थानीयवासीको सहभागिता बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनसनकारीको माग सम्बोधनका लागि पत्र पठाएको छ ।
समितिका संयोजक रामरिझन यादवको नेतृत्वमा सिरहास्थित महाविर चोकमा पुस १७ गतेदेखि अनसन सुरु भएको हो । सप्तरी र सिरहाको सीमामा पर्ने बलान नदी तथा सिरहा र धनुषाको सीमानामा रहेको कमला नदीमा पुल नहुँदा वर्षौदेखि स्थानीयवासीहरु सास्ती भोग्दै आएका छन् ।
सिरहा र धनुषा जोड्ने कमला नदीको पुल साढे ७ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र छ । पुल नहुँदा वर्षायाममा सिरहाका बासिन्दाले भारतको जयनगर हुँदै जनकपुर पुग्नुपर्ने बाध्यता झेल्नुपरेको छ । त्यस्तै सिरहा र सप्तरी जोड्ने बलान पुल पनि अलपत्र अवस्थामा छ । सो पुल निर्माणको ठेक्का पनि पप्पु कन्स्ट्रक्सनले नै पाएकोे छ । ठेकेदार कम्पनीले निर्माणाधीन पुलमा केही पिलर गाडेर काम अलपत्र अवस्थामा छाडेका छन् ।
हुलाकी सडक संघर्ष समितिले यी दुवै पुलको निर्माण ६ महिनामै सम्पन्न गर्न दवाव दिँदै आएको छ । संघर्ष समितिका संयोजक रामरिझन यादवले ६ महिनाभित्र दुवै पुल निर्माण भइसक्नुपर्ने बताए । उनले ६ महिनाभित्र काम पूरा हुने आश्वासन नपाएसम्म अनसन जारी रहने समितिका संयोजक यादवले बताए ।
साढे ३ वर्षभित्र काम सम्पन्न गर्ने गरी पप्पु, लुम्बिनी जेभीले पुल निर्माण सम्झौता गरेको थियो । पुल निर्माणका लागि ३० मंसिर ०७१ मा निर्माण सक्ने गरी पप्पुले ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो । पुलको फाउन्डेसनदेखि बिम स्ल्याबसम्मका लागि २८ करोड १५ लाख रुपैयाँमा ठेक्का लिएको पप्पु कन्ट्रस्कसनले ७ वर्ष ७ महिनासम्ममा पिलरको बिम स्ल्याबसम्मको मात्र काम गरी अरु अलपत्र छाडेको छ ।
४ सय ६३ मिटर लम्बाइ, ७ दशमलव २० मिटर चौडाइको पुलको १३ वटा पिलरको फाउन्डेसनदेखि सब स्ट्रक्चरसम्मको निर्माण सकेर बिम स्ल्याबको काम भएपछि अलपत्र अवस्थामा ठेक्का कम्पनीले छाडेका छन् । ठेक्का लिएको साढे सात वर्ष बितिसक्दा पनि पुल निर्माणको काम ३५ प्रतिशत मात्र पूरा गरेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले दिएको जानकारीअनुसार विभिन्न पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा पप्पु कन्स्ट्रक्सन र लुम्बिनी जेभीलाई २०७५ मंसिर ३० गते सम्मका लागि अन्तिम समय दिएको थियो ।
हुलाकी सडक संघर्ष समितिले वितेको भदौँ ३१ गते देखि असोज ७ गतेसम्म सप्तरीको राजविराजदेखि जनकपुर सम्मको ९० किलोमिटर पैदलयात्रा गरेको थियो । पैदल यात्रा सम्पन्नसँगै समितिले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई हुलाकी सडक र पुल निर्माणको मागसहित ज्ञापनपत्र बुझाएको थियो ।
समितिका संयोजक यादवले आफूहरूले आगामी ६ महिनाभित्र पुल निर्माण सम्पन्न नगरे ठेक्का अर्कोलाई दिनुपर्ने माग रहेको बताए । उनले ठेकेदार कम्पनीको आलटाल विरुद्ध सिघ्र पुल निर्माणका लागि अनशन बसेको बताए ।
समितिले लिखित प्रतिबद्धता नआएसम्म अनशन जारी राख्ने उनले बताए । यता, सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादव अनशनप्रति ऐक्यवद्धता जनाउँदै अनशनमा बस्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पोद्दारसहित प्रतिनिधिहरूले पनि नगर प्रमुख यादवलाई समर्थन जनाएका छन् ।