सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस शीर्ष नेताहरुकै ठहर : ‘गुट र भागबण्डा’ ले पार्टी विभाजनको संघारमा

आइतबार, १५ साउन २०७४, १५ : ००
आइतबार, १५ साउन २०७४

काठमाडौँ – नेपाली काँग्रेसमा पार्टीको १३ औं महाधिबेशन भएयता चारवटा गुट सक्रिय छन् । काँग्रेसका चारवटै गुटले पार्टीका विभिन्न गतिविधि पनि खुलेआम सञ्चालन गरिरहेका छन् । तर, यदाकदा गुटको राजनीतिले सिंगो पार्टीलाई घाटा पुगेको भन्दै नेताहरुले कार्यकर्तालाई गुटमा नलाग्न निर्देशन दिनभने छाडेका छैनन् । 


काँग्रेसमा अहिले सबैभन्दा शक्तिशाली गुट भनेको सभापति शेबहादुर देउवाको हो । अहिले त देउवा प्रधानमन्त्री र सभापति दुवै भएकाले पनि उनको सामथ्र्य अरु गुटको भन्दा बलियो हुनु स्वभाविक भएको काँग्रेसकै कतिपय नेताहरु स्वीकार्छन् । दोस्रोमा रहेको छ रामचन्द्र पौडेल समूहको गुट । जसलाई यसअघि संस्थापन भनिएपनि विगत १५ महिनाबाट पार्टी सभापतिमा देउवा निर्वाचित भएपछि यो समूह संस्थपानबाट रामचन्द्र पौडेल समूहमा चित्रित भएको छ । देउवा समूहले यो समूहलाई ‘विद्रोही समूह’ समेत भन्न थालेको छ । त्यस्तै खुमबहादुर खड्का र कृष्ण प्रसाद सिटौलाको समूह पनि काँग्रेसमा राम्रै हिस्सा राख्ने गुटमा पर्छ । 


खुलेआम यति धेरै गुट फस्टाएको काँग्रेसमा कतिपय काँग्रेसकै नेताहरुले भने गुटको विरोध गरिरहेका छन् । तर, उनीहरुको विरोधले काँग्रेसमा मौलाएको गुटगत राजनीति घट्ला या बढ्ला ? कसैले जवाफ दिन सक्ने स्थिति छैन । सरकार गठनमा काँग्रेसमा देखिएको गुटगत विवादपछि पार्टीकै जिम्मेवार नेता एवम् महामन्त्री समेत रहेका डा. शशांक कोइरालाले काँग्रेसभित्रको गुटगत राजनीतिको विरोधमात्र गरेनन् सिंगो पार्टी नै संकटमा परेको भन्दै जोगाउने जिम्मेवारी समग्र काँग्रेसजनको भएको बताए । 


उनले केही दिनअघि आफ्नै निवासमा काँग्रेस निकट पत्रकारहरुलाई बोलाएर गुटबन्दी अन्त्य अनिवार्य भएकोले त्यसतर्फ सचेत रहन आग्रह समेत गरे । 


‘काँग्रेसमा जे भइरहेको छ, ठिक काम भइरहेको छैन । गुट र भागबण्डाको राजनीतिले पार्टीलाई मात्र नभई प्रजातन्त्र नै सिद्धिएला जस्तो छ सोच्ने बेला भइसक्यो ।’ 


त्यसो त महामन्त्री कोइरालाले उनले गुट र भागवण्डाको राजनीति  काँग्रेसमा मात्र नभई प्रमुख दल एमाले र माओवादी केन्द्रमा समेत फस्टाएकोमा चिन्ता व्यक्त गरे । गुटगत राजनीतिकै कारण काँग्रेस केन्द्रीय समितिले महाधिबेसन भएको लामो समयसम्म पूर्णता नपाएकोमा पनि कोइरालाले असन्तुष्टि जनाए । 


काँग्रेसकै अर्का नेता चन्द्र भण्डारीले गुट र भागबण्डाका कारण गुटगत राजनीतिले सिंगो काँग्रेस विभजनको संघारमा पुगेको भन्दै पार्टी भित्र अर्को पार्टी बन्ने अवस्था आइसकेको बताए । काँग्रेस भित्र बौद्धिक नेता समेत भनेर चिनिने नेता भण्डारीले भने ‘यो विकृत रुप हो । यो प्रवृतिको लिडरसीपमा आँखा लगाउनुपर्छ । गुटमा लागेर पदमा पुग्ने चलनको अन्त्य हुन जरुरी छ । ’ 


नेता भण्डारीका अनुसार नेपालका सबैजसो पार्टीहरुमा नेतृत्व विवेकशील नभएका कारण यो अवस्था आएको हो । उनले नेताहरुले पार्टीलाई पाँचौ नम्बरमा पुर्याएको भन्दै थपे ‘पहिलो आफू, दोस्रो पैसा, तेस्रो परिवार, चौथो गुट र पाँचौ पार्टी बन्न पुग्यो । अर्थात् पार्टीलाई पाँच नम्बरमा राखियो जुन आत्मघाती गोल जस्तै हो । ’ 


नेपाली काँग्रेसको विधान अनुसार मनोनित र निर्वाचितसहित ८५ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नुपर्ने भएपनि हाल काँग्रेसको ७६ सदस्यीय केन्द्रीय कार्यसमिति मात्रै रहेको छ ।


महाधिवेशन सकिएको १५ महिना बित्न लाग्दा समेत सभापति देउवाले केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन् जुन विषयले काँग्रेसभित्रै थप असन्तुष्टि पैदा गरेको छ । केन्द्रीय सदस्यमध्ये पदाधिकारीसहित ६५ जनालाई मात्रै भोटिङ राइट रहेको छ । काँग्रेसमा कुनै पनि विषयमा मतदान गर्नुपर्ने अवस्था आए तिनै ६५ जनाको हातमा अधिकार हुनेछ । 


यतिसम्म कि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले पछिल्लो मन्त्रिपरिषद विस्तारको एक दिनअघि मात्रै पौडेल समूहलाई केन्द्रीय समितिमा भोटिङमा नजाने भएमात्र पदाधिकारी चयन गर्छु भनेर भनेको एक नेताले बताए । यसैबाट पनि नेताहरु आफ्नै पार्टीका नेतासँग कति सशंकित छन् भन्ने प्रष्ट भएको विश्लेषकहरुले बताउन थालेका छन् ।


देउवा, पौडेल, खड्का र सिटौला गुटमा सवै आ–आफै बलियो भन्न पछि पर्दैनन् तर बास्तविकता त्यो भन्दा अलि फरक रहेको छ । ६५ जनाको भोटिङ राइट भएका काँग्रेस केन्द्रीय सदस्यमध्ये रामचन्द्र समूहसँग २८ जना रहेकोमा उक्त पक्षले ३८ जना आफूसँग रहेको बताउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप