आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वाइडबडी घोटाला प्रकरण छानबिन गर्न काँग्रेसको माग, यस्ता छन् देशप्यापी विरोध प्रदर्शनका ६ कारण

बुधबार, १६ माघ २०७५, १५ : ३५
बुधबार, १६ माघ २०७५

काठमाडौं–नेपाली काँग्रेसले वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाबारे गम्भीर ढंगले छानवीन गर्न माग गरेको छ । माघ २१ को देशव्यापी विरोध प्रदर्शन मार्फत यसका लागि थप दबाब श्रृजना गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

शर्माले देश आफैले निर्माण गर्नु उपयुक्त हुने र सक्ने वुढीगण्डकी जलविद्युत आयोजना विना प्रतिश्पर्धा विदेशी कम्पनीलाई दिइएकोबारे पनि आपत्ति जनाए । 

निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्ती, ३३ किलो सुन काण्ड, प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा भएको भनिएको अनियमितताको बारे पनि गम्भीर ढंगले छानबिन हुनुपर्नेमा शर्माले जोड दिए । 

संघीयता कार्यान्वयनका बाँकी कार्यभार पुरा गर्न भइरहेको ढिलाईले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न खडा भएको ठहर गर्दै काँग्रेसले कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा जोरहेको आरोप लगाएको छ । 

काँग्रेसले माघ २१ गतेको देशव्यापी प्रदर्शन गर्नुको विभिन्न ६ कारण समेत दिएको छ । 

जसमा गोविन्द केसीको मुद्दा, संवैधानिक परिषदमा गरिएको नियुक्ति, देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध, महंगी, भ्रष्टाचार एवं अनेकौं सरकारले गरेका विभिन्न निर्णयहरु रहेका छन् । 

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार साथीहरु आज माघ १६ गते सहिद दिवस, प्रथम सहिद लखन थापा एवं शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द लगायत पछिल्लो कालखण्डसम्मका समस्त ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धा प्रकट गर्दै, यो पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत   गर्दछु ।

माघ २१ गते नेपाली कांग्रेसले राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको यहाँहरुलाई विदित नै छ । जिल्लाहरुमा यस सम्बन्धी आवश्यक तयारी प्रारम्भ भइसकेको छ । विरोध प्रदर्शन आयोजना गरिनुका कारण र मुद्धाहरु बारे म थप प्रष्ट्याउन चाहन्छु ।

माघ १३ गते बसेको बैठकले विरोध प्रदर्शन गर्ने निर्णय संगै मुद्धाहरु बारे निम्न निर्णय गरेको थियो ।

(१) संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द के.सी.को अनसनप्रति संवेदनहीन व्यवहार ।

(२) स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।

(सरकारले आफ्नो गल्ती सच्याएको भन्ने विवरण संचार माध्यममा आएका छन्, यस बारेमा पार्टीलाई औपचारिक जानकारी प्राप्त भएको छैन । दर्जनौं गल्तीहरु गरिसकेको सरकार तिनलाई सच्याएर अघि बढोस् भन्ने हाम्रो दबाब जारी रहनेछ ।)

(३) प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना । 

(४) देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र । 

(५) महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।

(६) जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू । 

केन्द्रीय समितिको बैठकले विरोध प्रदर्शनको मुद्धामा “भ्रष्टाचार” लाई विधिवत माइन्युट गरेर सार्वजनीक समेत गरिसकेको तथ्य बारे यहाँहरु जानकार हुनुहुन्छ । केन्द्रीय समितिबाट निर्णय भई हामीले उठाउँदै आएका भ्रष्टाचारका सबै मुद्धाहरु त्यसभित्र समाविष्ट छन् र रहनेछन् ।

- वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानवीन गर्न हामीले संसदमा र सार्वजनीक रुपमा पनि आवाज उठाउदै आएका छौं । माघ २१ को विरोध प्रदर्शन मार्फत यसका लागि थप दबाब श्रृजना गरिने छ ।

- नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको वुढी गण्डकी बहुउदेश्यीय परियोजना विना प्रतिश्पर्धा विदेशी कम्पनीलाई सुम्पीनुका पछिल्तीर, के रहस्य लुकेको छ । माघ २१ को प्रदर्शनमा यो विषय पनि सम्मिलित रहनेछ ।

- आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्तीको विषय माघ २१ को प्रदर्शनमा गरिनेछ ।

-३३ किलो सुन काण्डमा “ठुला माछा” हरु सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ति ठुला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन ? माघ २१ को प्रदर्शनमा यो विषय पनि उठ्नेछ ।

प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक वजार मुल्य भन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कार्वाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा सो विषय जोडिने छ ।

संघीयता कार्यान्वयनका बाँकी कार्यभार पुरा गर्न भइरहेको ढिलाईले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न खडा गर्नु पर्ने भएको छ । कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा जो देखिएको छ विरोधमा प्रदर्शनमा यो मुद्धा समेटिने छ । संघीयताको सम्वद्र्धन र रक्षाका लागि आम नागरिकलाई हामी प्रदर्शन मार्फत अपील गर्नेछौं । 

माघ १६, २०७५

विश्वप्रकाश शर्मा

प्रवक्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप